एमाले र जसपा प्रतिगमन पक्षधर हुन्: चित्रलेखा यादव ‘जसपाले एक–दुईवटा सिटका लागि आठ लाख नेपालीलाई नागरिकताविहीन बनाउने काम गर्‍यो’

  • कार्तिक १२, २०७९ | ८३४ पटक पढिएको | सीमा संदेश
alt

नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादव सत्ता गठबन्धनको तर्फबाट सिरहा–२ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी छन् । उनका प्रतिस्पर्धीका रूपमा जसपा–एमाले गठबन्धनबाट जसपाका नेता राजकिशोर यादव उम्मेदवार छन् ।

कांग्रेस नेतृ यादव अहिले पाँच दलीय गठबन्धन मुलुकको आवश्यकता भएको बताउँछिन् । उनी संविधान विपरीत प्रतिनिधिसभा विघटन गर्ने एमालेलाई पछिल्लो समय जसपाले साथ दिएको भन्दै यी दुवै दल देशमा राजनीतिक स्थिरता र संविधान रक्षाका दृष्टिले बाधक बनेको टिप्पणी गर्छिन् ।

आसन्न निर्वाचन, गठबन्धनको औचित्य लगायतका समसामयिक विषयमा केन्द्रित रहेर कांग्रेस नेतृ चित्रलेखा यादवसँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

तपाईं सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएको छ, यो चुनावमा सत्ता गठबन्धनको एजेण्डा के हो ?

गठबन्धनको वृहत् उद्देश्य छ । यो गठबन्धनको गठन नै संविधान रक्षाका लागि भएको हो । संघीयता, लोकतन्त्र, गणतन्त्रको रक्षाका लागि यो गठबन्धन गठन भएको हो । जब यो देशमा संविधानलाई उल्लङ्घन गर्दै संसद् विघटन गर्ने काम भयो, त्यसको विरुद्ध गठबन्धन बनेको थियो । लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई संस्थागत गर्दै जनताको अधिकार सुनिश्चित गर्नका लागि यो गठबन्धन बनेको हो । राष्ट्रलाई समृद्ध बनाउने मुख्य एजेण्डाका साथ हामी चुनावमा होमिएका छौँ ।

राष्ट्रलाई समृद्ध बनाउन विकास चाहिन्छ, विकासका योजना कस्तो छ ?

–मैले यो क्षेत्रका लागि शिक्षा, स्वास्थ्य र यातायातको क्षेत्रमा थुप्रै काम गरेको छु । शिक्षा मन्त्री भएको बेला यो क्षेत्रका अधिकांश स्कुलमा बजेट दिएको छु । स्वास्थ्य चौकीहरू निर्माण गराएको छु । विभिन्न ठाउँमा सडक तथा पुल निर्माणसमेत गरेको छु । म मन्त्री भएको बेलामात्र होइन, मन्त्री नहुँदा पनि यो क्षेत्रका जनताका लागि सदैव काम गर्न तयार हुन्थेँ । विकास निर्माण कार्यमा सहयोग पुर्‍याउँथेँ । तराई मधेसमा शिक्षा र स्वास्थ्यमा निकै समस्या छ । शिक्षा र स्वास्थ्य सुधार भयो भने सबैतिरको विकासको ढोका खुल्छ । त्यसैले मेरो प्राथमिकतामा शिक्षा र स्वास्थ्यलाई नै सुधार गर्न केन्द्रित छ ।

यस क्षेत्रमा तपाईंको आफ्नै पहिचान छ, तैपनि चुनाव लड्नका लागि गठबन्धनको आवश्यकता तपाईंलाई किन पर्‍यो ?

–पहिलो कुरा त यो गठबन्धन निर्माण किन भयो भनेर बुझ्नु पर्‍यो । जब यो देशमा सार्वभौम संसद्लाई बिना कारण विघटन गरियो, त्यो बेलामा विघटित संसद्लाई पुनर्स्थापना गर्न तथा राजनीतिक स्थायित्वकाका निम्ति यो गठबन्धन निर्माण भएको हो । जबसम्म देशमा स्थायित्व हुँदैन, तबसम्म यो देश समृद्ध हुन सक्दैन । समृद्ध देश निर्माणका लागि देशमा राजनीतिक स्थायित्व आवश्यक छ । त्यसैले यो गठबन्धनको उद्देश्य वृहत् छ ।

यो गठबन्धन क्षणिक प्रयोजनका लागि गठन भएको होइन । यो गठबन्धन देशका लागि आवश्यक छ । गठबन्धनभित्रको एउटा पार्टीको कार्यकर्ता भएको हुनाले गठबन्धनको निर्णयअनुसार साझा उम्मेदवार बनेको हुँ । सबै दलले सहमतिका आधारमा आ–आफ्नो तर्फबाट उम्मेदवारी दिलाउन सक्नु नै देशका निम्ति एउटा साझा सङ्कल्प हो । यो देश कोही एक्लैले निर्माण गर्न सक्दैन, त्यसमा सबैको साझा सहमति चाहिन्छ र, सोही सहमतिका आधारमा मैले पनि उम्मेदवारी दिएको हुँ ।

सत्ता गठबन्धनको सभा सम्मेलनमा सत्ता गठबन्धनका नेताहरूले अधिकांश समय एमाले–जसपा गठबन्धनको विरोध गरिरहेको पाइन्छ, सत्ता गठबन्धन एमाले–जसपा गठबन्धनबाट किन यति भयभीत देखिएको हो ?

–हामी भयभीत छैनौँ । तर देशमा प्रतिगमनका लागि जुन कदम चालिएको थियो, त्यसको बारेमा जनतालाई जानकारी गराउन आवश्यक छ । जनताले पनि थाहा पाउनु पर्‍यो कि एमालेले संसद् विघटन गरी कसरी जनताको अधिकार खोस्ने प्रयास गरेको थियो । एमाले सुरुदेखि नै जनतालाई अधिकारबाट वञ्चित गर्न कस्ता कस्ता गतिविधि गर्‍यो भन्ने कुराको जानकारी जनतालाई हुन आवश्यक छ । नत्र नेपाली जनताले पाँच वर्ष फेरि दुःख पाउन सक्छन् । जसपा पनि एमालेको मतियार बनेको छ । त्यो मतियार किन बन्यो भन्ने बारेमा पनि जनता जानकार हुनुपर्छ ।

आठ लाखभन्दा बढी नेपाली जनता नागरिकताबाट वञ्चित छन् । जनताले नागरिकता नपाउनुको मुख्य दोषी एमाले नै हो । कांग्रेस र माओवादी केन्द्रले पटकपटक प्रयास गरे पनि एमालेले कहिल्यै नागरिकता विधेयकलाई समर्थन जनाएन । नागरिकतालगायत मधेसी जनताले पाउने हरेक अधिकारको विरोधमा एमाले लागेको थियो र पछिल्लो समय त्यसमा साथ दिने काम जसपाले गरेको थियो । त्यसैले एमालेजस्तै जसपा पनि प्रतिगमनकारी पक्षधर हो । जसको बारेमा जनता पनि जानकार हुनुपर्छ । जसले दुईदुई पटक संसद् विघटन गर्‍यो, त्यही दल अहिले संसद्का लागि मत मागिरहेको छ । मत माग्ने अधिकार एमालेसँग छैन । जसपाले पनि एक दुईवटा सिटका लागि आठ लाखभन्दा बढी नेपालीलाई नागरिकता विहीन बनाउने काम गर्‍यो । नागरिकतासँग कुर्सी साट्ने काम जसपाले गरेको छ । त्यसैले यी कुराको जानकारी गराउने उपयुक्त समय यही नै हो । एमाले र जसपाबाट हामी भयभीत हुने कुनै कारण नै छैन ।

एउटा मञ्चमा त तपाईं र राजकिशोर यादवको बीचमा झण्डै हात हालाहाल नै भयो, यो अवस्था कसरी सिर्जना भयो ?

–त्यहाँ के के भयो भन्नेबारे सबै कुरा लाइभ नै थियो । सबैले थाहा पाइसकेको कुरा हो । राजकिशोरजीलाई प्रश्न एउटा गरिएको छ, जवाफ अर्को दिनुभयो । कुनै पार्टीको इतिहासको कुरा भनिरहेको छ भने तथ्यपरक भन्नु पर्‍यो । कुनै पार्टीको तथ्य बङ्ग्याएर जथाभाबी बोल्न छुट कसैलाई छैन । तथ्यको आधारमा कुनै पार्टीको बारेमा कमेन्ट गर्दा राम्रो हो । त्यही कुरा मैले उहाँलाई सम्झाउन खोजेको थिएँ ।

कांग्रेस पार्टी आफैमा एउटा ऐतिहासिक पार्टी हो । यसको आफ्नै इतिहास छ, आफ्नै दस्तावेज छ । त्यसको बारेमा जानकारी नै नलिइकन जथाभाबी बोल्नु हुँदैन । पहिला अध्ययन गर्नुपर्छ, अनिमात्र कसैको बारेमा टिप्पणी गर्नुपर्छ । उहाँले झुटो बोलिरहँदा मैले झुटो बोल्न पाइँदैन भनेँ । कुरा अलि चर्को भएको मात्र हो ।

 सिरहा–२ मा तपाईं र राजकिशोर यादवबीच नै मुख्य प्रतिस्पर्धा हो ?

–छैन, उहाँसँग मेरो कुनै प्रतिस्पर्धा छैन । जनताले नै भनिरहेका छन् कि चित्रलेखा यादवको तुलना कसैसँग गर्न सकिँदैन । चित्रलेखा यादवको जन्मभूमि र कर्मभूमि यहीँ हो । चित्रलेखा यादवले यहीँका जनतासँग आफ्नो दुःखसुख बाँडेको छ । कोही बाहिरबाट आएका छन् भने ऊसँग कसरी टक्कर हुन्छ ? टक्कर त बराबरसँग हुन्छ तर राजकिशोर र चित्रलेखा यादवको कुनै तुलना नै गर्न सकिँदैन भन्ने कुरा जनता स्वयंले भनिरहेका छन् ।

जनताले चित्रलेखा यादवलाई एक पटक जिताएर पठाउँदा उसले सडक संसद्को सभामुखजस्तो गरिमामय भूमिका निर्वाह गरेर इतिहास कायम गरेको उदाहरण जनताले नै दिइरहेका छन् । त्यसैले राजकिशोर वा कसैसँग चित्रलेखाको कुनै प्रतिस्पर्धा नै छैन भनेर यहाँका जनताले भनिरहेका छन् ।

तपाईं एक पटक प्रत्यक्ष र दुईपटक समानुपातिक सांसद बन्नुभयो तर सांसद बनेर गएपछि क्षेत्रमा कहिल्यै फर्केर आउनु भएन भन्ने आरोप पनि लागिरहेको छ नि ?

–यो आरोप प्रतिपक्षीहरूको होला । तर म जनताको साथमा कसरी छु, कहाँ छु, त्यो कुरा यहाँका जनतालाई मात्र थाहा छ । कोही व्यक्तिले आरोप लगाएर हुँदैन, त्यसको पुष्टि गर्नुपर्छ । जनताको मुखबाट, मतदाताको मुखबाट मैले कहिल्यै पनि यस्तो कुरा सुनेको छैन । यहाँको जनताको हरेक दुःखसुखमा म सदैव सँगै छु । जनतालाई कुनै समस्या पर्दा त्यसको समाधानका लागि पहल गरेको छु । विकास निर्माणमा मैले गर्नुपर्ने पहल सबै गरेको छु । त्यसैले यो आरोपमा कुनै दम छैन । रातोपाटी

नेसपा नयाँशक्तिले सीके, रवि, रेशम र बालेनसँग मिलेर

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाज ...

हिन्दुको नाममा नाबालिकालाई ओसारपसार

हिन्दु बनेर काठमाण्डुकी एक नाबालिकालाई ललाई फकाई भारतको ...

प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो

 नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी जवान प ...

असार ६ गते शुक्रबार ,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८२ साल आषाढ ६ गते । शुक्रबार । ईश्वी सन् २०२५ ज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब