‘मधेसका नाममा ठग्नेहरु जनताबाट तिरस्कृत भए, जातीय-क्षेत्रीय दल आवश्यक छैन’

  • मंसिर ९, २०७९ | ७३० पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । निर्वाचनको मत परिणामले देखाएको प्रारम्भिक रुझानसँगै यसमाथि विभिन्न कोणबाट बहस र विश्लेषण हुन थालेका छन् । राष्ट्रिय राजनीतिमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले तरंग ल्याइरहँदा मधेसमा चाहिँ सीके राउतको चर्चा छ ।

के काठमाडौंलगायतका विभिन्न शहरमा रास्वपाको पक्षमा देखिएको लहर र मधेसमा सीके राउतको जनमत पार्टीप्रति आकर्षण उस्तै हो ? अहिलेको चुनावी परिणामले मधेसको राजनीतिलाई कता धकेल्ला ? अनि राष्ट्रिय राजनीति अब कुन दिशातर्फ जाला ?

मधेस मामलाका विज्ञ तथा पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजलाई हामीले यिनै प्रश्नहरु सोध्यौं । प्रस्तुत छ, उनीसँग भएको सवालजवाफः

– मधेसमा जनमत पार्टी र उन्मुक्ति पार्टीको उदयले के संकेत गर्छ ? के मधेसका परम्परागत पार्टीहरु कमजोर भएका हुन् ?

मधेसको नाममा खुलेका ती दलहरु मधेसमुखी नरहेको कारण जनतामा अलोकप्रिय हुँदै गएका थिए । केन्द्रमा आएर विचारको कुरा गर्ने र मधेसमा जातिवादी कुरा गर्ने कारणले मधेसमै कमजोर हुँदै गएका थिए तिनीहरु । सधैं पहिचानको र अधिकारको कुरा गरिरहने, ठूला दलको विरोध गरिरहने, तर जुन दलको विरोध गर्‍यो विजयी भएपछि सबै मत तिनै दललाई बुझाएर पालैपालो सरकारमा जाने । अनि मधेसले केही नपाउने ।

२०६२/६३ बाट मधेसले एउटा राम्रो बाटो पाएन । एउटा बूढानिलकण्ठजस्तो विद्यालय पाएन । एउटा धरानको जस्तो अस्पताल पाएन । समग्रमा मधेसले केही पाएन । अनि जनतामा एक खालको परिवर्तन चाहिन्छ भन्ने थियो । त्यसको प्रकट रुप नै अहिलेको नतिजा हो । मधेसमा पनि त्यही भयो । काठमाडौंमा पनि त्यही भयो । केन्द्रीय नेताहरुले मधेसको भावना नै बुझेनन् ।

राष्ट्रिय दलले रोल्पादेखि रौतहट, जनकपुरदेखि जुम्लाको मुद्दा बोकिदिनुपर्छ । ती दलको संरचनामा देश देखिनुपर्छ । आफूलाई राष्ट्रिय पार्टी भन्ने, राष्ट्रिय सोच नराख्ने अनि राष्ट्रिय मुद्दा पनि नबोक्ने कसरी हुन्छ ?

– मधेसभन्दा बाहिर घण्टीको लहर र मधेसमा जनमत पार्टीको लहर एउटै प्रवृत्ति हो ?

मधेसमा चाहिँँ एउटै प्रवृत्तिभन्दा पनि अलिकति फरक के देखियो भने कमिटमेन्ट गरेर पूरा नगरेका कारण असन्तुष्टि देखियो । यो चुनावमा पुराना दलका नेताहरुले जितिहाले पनि एकदमै झिनो मतान्तरले जित्छन् । महन्थ ठाकुरले जितिहालेमा एकदमै झिनो मतान्तर हुनेछ । राजेन्द्र महतोको पनि अवस्था उस्तै छ । त्यस्तो परिस्थिति निर्माण भइरहेको छ । मधेसी जनताले मधेसका नेताबाटै पटकपटक ठगी भएको अनुभूति गरे । ठूला दलले हामीलाई ठग्यो भनेर मधेस केन्द्रित दल खुले । तर, तिनै दलले ठग्न थालेपछि हामी आफ्नै नेताबाट ठगियौं भनेर यस्तो परिणाम आएको हो ।

विगतमा कृषिमन्त्री मात्रै मधेस केन्द्रित दलबाट आठजना भएका रहेछन् । स्वास्थ्यमन्त्री तीनजना भएका छन् । सञ्चारमन्त्री चारजना भएका छन् । मधेसी मूलकै मान्छे मन्त्री हुने, तर मधेसी जनताले केही नपाउने भएपछि यिनीहरु हुनु र नहुनुमा केही फरक देखिएन । जनता सचेत हुँदै गए । पटकपटक यिनीहरुबाट जनता ठगिएकाले परिवर्तन खोजेको हो ।

– सीके राउतको संसद प्रवेश करिब निश्चित देखिएको छ । यसलाई कस्तो रुपमा लिनुहुन्छ ? यो जोखिमको कुरा हो या खुशीको कुरा हो ?

म चाहिँ के भन्छु भने यस्ता बौद्धिकहरु, सीके राउत होऊन् वा स्वर्णिम वाग्ले होऊन्, बौद्धिक सम्पत्ति कुनै जात वा समुदायका लागि होइन, देशका लागि हुनुपर्छ । यी देशका सम्पत्ति हुन् । असन्तुष्टि व्यवस्थासँग होला । तर, देशसँग त होइन होला नि ! माटोले केही बिगारिदिएको छैन नि त !

– सीके राउत त विखण्डनको नारा बोकेर हिँडेका हुन् नि कुनै समय ?

अब पहिला के थियो भन्नुभन्दा पनि संविधान मानेर आइसकेपछि उनीसँग दुर्भावना राख्नु जरुरी छैन । उसको बौद्धिकता देशको हितमा प्रयोग हुनुपर्छ । उपेन्द्र यादव जस्तो पनि आउनुपर्छ । उनी पनि एक हदसम्म बौद्धिक नै हुन् । तर, उनको शैली चाहिँ राम्रो नभएका कारणले जनताबाट तिरस्कृत भए । जनता ठग्नु राजनीति होइन नि त ! जातीय राजनीति जुन थियो, त्यसले उहाँलाई कमजोर बनाइदियो । चारजना मन्त्री बनाइदिनु छ भने चारैजना यादव पठाउने । राष्ट्रियसभामा कसैलाई पठाउनु छ भने यादवै खोजेर पठाउने । अनि राजदूत पठाउनुपर्‍यो भने यादव नै खोज्ने । जातीय राजनीतिले उनी कमजोर भए । त्यही परिणति हो ।

हाम्रो जस्तो देशमा जातीय र क्षेत्रीय दल राम्रो होइन । त्यस्ता दलले नागरिकलाई दलसँग जोड्छन् । तर, देशसँग जोड्दैनन् । उनीहरुले उन्मादको राजनीति गर्छन् । सरकार बलियो बनाइदिन्छन् । तर, राज्य कमजोर हुन्छ । राज्यप्रतिको आशा घटाउँछ ।

– सीके राउत र उपेन्द्र यादवको बीचमा जुन विशाल मतान्तर छ, यो अपेक्षित थियो ?

अपेक्षित नै थियो । गत एक वर्षमा अहिलेको गठबन्धनमा गइसकेपछि मन्त्रीको चयन र प्रदेश २ मा भएका भ्रष्टाचारमाथि उपेन्द्रजीको मौनताले गर्दा स्वाभाविक रुपमा उनलाई असर गर्छ भन्ने मधेसलाई राम्रोसँग बुझेकाले अनुमान लगाइसकेका थिए । प्रदेश २ सरकारमा भ्रष्टाचारका ठूल्ठूला कुराहरु आए । तर, उनले पार्टीबाट कसैलाई कारबाही गरेनन् । कसैलाई मन्त्रीबाट हटाएनन् । त्यो नगर्दा उनी भ्रष्टाचारको निरन्तरतामा पो रमाउँदा रहेछन् भन्ने पर्‍यो । उनको जातिवाद, धार्मिक उन्माद र भ्रष्टाचारमाथिको मौनता हारको प्रधान कारण हुन् ।

– चुनावपछि मधेसको सबैभन्दा ठूलो शक्ति को हुनसक्छ ?

राष्ट्रिय संरचना भएको तर राष्ट्रिय चिन्तन नभएका दलहरुकै असक्षमताको कारणले जातीय र क्षेत्रीय दल जन्मन्छन् । ठूला दलहरुले नै मधेसको मुद्दा बोकिदिनुपर्छ । मधेस अलग देश होइन नि ! राष्ट्रिय दलले रोल्पादेखि रौतहट, जनकपुरदेखि जुम्लाको मुद्दा बोकिदिनुपर्छ । ती दलको संरचनामा देश देखिनुपर्छ । आफूलाई राष्ट्रिय पार्टी भन्ने, राष्ट्रिय सोच नराख्ने अनि राष्ट्रिय मुद्दा पनि नबोक्ने कसरी हुन्छ ?

हाम्रो जस्तो देशमा जातीय र क्षेत्रीय दल राम्रो होइन । त्यस्ता दलले नागरिकलाई दलसँग जोड्छन् । तर, देशसँग जोड्दैनन् । उनीहरुले उन्मादको राजनीति गर्छन् । सरकार बलियो बनाइदिन्छन् । तर, राज्य कमजोर हुन्छ । राज्यप्रतिको आशा घटाउँछ । त्यसकारण देशभक्तिको सवालमा जातीय, क्षत्रीय, धार्मिक, वर्गीय दलहरु हितकर होइन ।

– यो चुनावको परिणामले मधेसमा जुन खालको क्षेत्रीय राजनीति थियो, त्यसमा ब्रेक लाग्ने र राष्ट्रिय राजनीतिक दल नै हाबी हुने परिस्थिति देख्नुभएको छ ?

निर्वाचनको परिणामपछि ठूलो पक्ष असन्तुष्ट हुन्छ । खानका लागि नै जन्मिएर राजनीतिमा लागेका मान्छेहरुको असन्तुष्टिले निर्वाचनको परिणामलाई आन्दोलनतर्फ धकेल्छ । देशमा निर्वाचनको परिणामपछि विधिवत अशान्तिको प्रारम्भ हुन्छ ।

खानका लागि नै जन्मिएर राजनीतिमा लागेका मान्छेहरुको असन्तुष्टिले निर्वाचनको परिणामलाई आन्दोलनतर्फ धकेल्छ । देशमा निर्वाचनको परिणामपछि विधिवत अशान्तिको प्रारम्भ हुन्छ ।

– त्यो अशान्ति कसले निम्त्याउँछ ?

जो हार्छ, उसले आफूलाई गठबन्धनले धोका दिएको भन्छ । तालमेलमा बसेको मान्छे हार्‍यो भने तालमेलले धोका दिएको भन्छ । अनि निर्वाचनको परिणाम ठीक छैन, मान्दिनँ भन्छ । आयोग गठन गर भन्छ ।

जातीय, क्षेत्रीय विषय उठाइदिन्छ । क्रान्तिका विषय उठाइदिन्छ । परिवर्तन यस्तो भयो भन्छ । संघीयता धरापमा गयो भन्छ । संविधान जोगाउन आन्दोलनमा जानुपर्छ भन्छ । किनभने निर्वाचनको परिणाम नस्वीकारेर आन्दोलनमा जाने ठूलो जमात छ । यो परिणामपछि उनीहरु एक ढिक्का हुन्छन् । त्यसपछि न यो गठबन्धन सुरक्षित रहन्छ, न तालमेल सुरक्षित रहन्छ । देउवाजीको नेतृत्व पनि तलमाथि पर्छ, ओली नेतृत्वको तालमेल पनि तलमाथि पर्छ । कमल थापा हारेपछि उसले धोका दियो भन्न थाल्छ । यस्ता तालमेलमा असन्तुष्टिलाई उत्तेजनाको अवस्थामा लगेर आन्दोलनको वातावरण बनाउँछन् यिनीहरुले ।

– अबको संसदमा जुन खालको समीकरण देखिएको छ, परम्परागत शक्ति छँदैछन् । मधेसबाट नयाँ फोर्सको प्रवेश पनि भयो । अर्कोतिर रवि लामिछानेको उपस्थिति । राप्रपा पनि बलियो शक्तिको रुपमा आउँदैछ । यो संसदको समीकरण हेर्दा यसले देशलाई कता लैजाने अवस्था देख्नुहुन्छ ?

ठूला पार्टीहरु मिल्छन् । कांग्रेस र एमाले मिलिदिन्छन् । मिलेर फेरि यो विषयवस्तुलाई अगाडि लैजान्छन् । मेरो बुझाइ के हो भने सुरुमा देउवाको नेतृत्वमा सरकार बन्न संसदको तथ्यांकले दिँदैन । सत्तारुढ गठबन्धनको बहुमत आउँदैन । पछि केपी ओलीको नेतृत्वमा सरकार बन्न दिइँदैन ।

– कसले दिँदैन ओलीको सरकार बन्न ?

विभिन्न खालका शक्तिहरु सक्रिय छन् । अहिले दिइँदैन भन्नेमात्र बुझ्नुस । त्यसैले कि त दुईवटा मिल्नुपर्छ । नभए तेस्रो धार जन्मिन्छ । तेस्रो धार भनेको कि राष्ट्रपति सक्रिय गर्ने, कि त नागरिक सरकार बनाउने ।

निर्वाचनको परिणाम नस्वीकारेर आन्दोलनमा जाने ठूलो जमात छ । यो परिणामपछि उनीहरु एक ढिक्का हुन्छन् । त्यसपछि न यो गठबन्धन सुरक्षित रहन्छ, न तालमेल सुरक्षित रहन्छ । देउवाजीको नेतृत्व पनि तलमाथि पर्छ, ओली नेतृत्वको तालमेल पनि तलमाथि पर्छ ।

– समग्रमा मधेसको शक्ति केन्द्रीय राजनीतिमा कमजोर भयो ?

मधेसको शक्ति होइन, मधेसी नेताको संख्या कमजोर भयो । यो मुद्दा यति माथि उठिसक्यो कि ठूला पार्टीहरुले यसलाई नबुझिकन धरै छैन । जो उत्तेजनाको राजनीतिमा रमाइरहेका थिए, उनीहरुको संख्या कम भयो ।

– गणितीय हिसाबमा कति संख्यामा आउलान् मधेसी दलहरुका सांसद ?

म यो अहिले भन्न सक्दिनँ । किनभने जनता यति सचेत छन्, उनीहरु निर्वाचनको अवधिसम्म यसरी मौन थिए कि जित्छु भनेर ढुक्क भएकाहरुलाई पनि धूलो चटाइदिए । जनताको चेतनाको स्तर हेर्दा कति संख्या होला, को जित्ला वा नजित्ला अनुमानै लगाउन सकिन्न । लोसपा राष्ट्रिय पार्टी बन्दैन । जसपा मुस्किलले बन्ला । त्यो अवस्था हुनसक्छ ।

– पहिले जस्तो सरकार निर्माणमा मधेसी पार्टीको बार्गेनिङ पावर रहँदैन ?

वास्तवमा यो चाहिएकै होइन । सरकार निर्माणका लागि मधेसी पार्टी, जनजाति पार्टी, दलित पार्टी किन चाहियो ? गणतन्त्र त सबैका लागि हो नि ! जातीय पार्टीको औचित्य किन ? एकातिर गणतन्त्रको कुरा गर्ने, अर्कोतिर जातीय पार्टीको कुरा गर्न मिलेन । जातीय पार्टी भइराख्नु भनेको ठूला पार्टीको विचलन र असक्षमता हो भनेर मान्दा हुन्छ । उनीहरुले मुद्दा बोक्न, नेता व्यवस्थापन गर्न संरचनागत विभेदलाई न्यूनीकरण गर्न नसक्दा जातीय र क्षेत्रीय पार्टी जन्मिने हो । यो समग्रमा देश हितमा हुँदैन । जुनसुकै क्षेत्रको किन नहोस् । जातीय र क्षेत्रीय दलले देशभक्तिको पक्षलाई बलियो बनाउँदैन । यिनीहरुले सरकार बलियो बनाउलान्, राज्य कमजोर बनाउँछन् । नेपाल प्रेसबाट

नेसपा नयाँशक्तिले सीके, रवि, रेशम र बालेनसँग मिलेर

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाज ...

हिन्दुको नाममा नाबालिकालाई ओसारपसार

हिन्दु बनेर काठमाण्डुकी एक नाबालिकालाई ललाई फकाई भारतको ...

प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो

 नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी जवान प ...

असार ६ गते शुक्रबार ,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८२ साल आषाढ ६ गते । शुक्रबार । ईश्वी सन् २०२५ ज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब