इँटाभट्टामा जिउँदै जलाएर हत्या गरिएका पिन्टुका बुवाको न्यायपरिषद्मा प्रश्न– नमारेको भए मेरो छोरा खोइ ?

  • असार ४, २०८२ | ३८१ पटक पढिएको | सीमा संदेश
alt

आफूले बनाउन लगाएको बम विस्फोट हुँदा मारिएकालाई मात्रै होइन, घाइते भएकाहरूलाई पनि जिउँदै इँटाभट्टामा जलाएको अभियोग लागेका कांग्रेस पूर्वसांसद अफताब आलमलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले सफाइ दियो । जघन्य अपराधको यो मुद्दामा दुनियाँ झस्काउने गरी आएको उच्च अदालतको फैसलाले बेचैन भएका ८४ वर्षीय श्रीनारायण सिंह न्यायको ढोका ढकढक्याउँदै न्यायपरिषद्मा पुगेका छन् । जिउँदै जलाइएका त्रिलोकप्रताप सिंह (पिन्टु)का बुवा श्रीनारायणले सोमबार न्यायपरिषद्मा उजुरी दिएका हुन् । 

आलमलाई सफाइ दिने उच्च अदालतको फैसला त्रुटिपूर्ण रहेको श्रीनारायणको दाबी छ । जिल्ला अदालत रौतहटले घटना प्रमाणित गर्दै आलमसहित पाँच अभियुक्तलाई जन्मकैद फैसला गरेको थियो । तर, उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले १४ जेठमा अफताब आलमसहित महताब आलम, शेष सेराज र बद्री सहनीलाई सफाइ दिएको थियो । सोही फैसलाविरुद्ध श्रीनारायणले परिषद्मा उजुरी दिएका हुन् । उनले प्रश्न गरेका छन्– नमारेको भए मेरो छोरा र अरू युवाहरू कहाँ छन् ?

‘विस्फोटमा परेर नमरेको भए मेरो छोरा कहाँ छ त ? ओसी अख्तरसहित अन्य युवाको पनि अदालतले नै ठेगाना बताइदिनुपर्‍यो । रुक्साना खातुनको हत्या किन गरियो ? यसको पनि कारण खुलाइदिनुपर्‍यो,’ उनले भनेका छन्, ‘जिल्ला अदालत रौतहटले घटना प्रमाणित गर्दै आलमसहित पाँच अभियुक्तलाई जन्मकैदको फैसला गरेको थियो । तर, उच्चले उक्त फैसलालाई उल्ट्याउँदै घटनामा संलग्न सबैलाई सफाइ दियो । यो सरासर गलत भयो । न्यायाधीश बिक्री भए, फैसला त्रुटिपूर्ण छ । मैले न्यायका लागि न्यायपरिषद्मा उजुरी दिएको छु ।’

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २७ चैत ०६४ मा आलमले भारतबाट समेत मान्छे बोलाएर बम बनाउन लगाएका थिए । बम बनाउने क्रममै विस्फोट भएर मानवीय क्षति भएको थियो । यही घटनामा २६ असोज ०७६ मा पक्राउ परेका आलमलाई जिल्ला अदालत रौतहटले २९ कात्तिक ०७६ मा पुर्पक्षका लागि जेल चलान गरेका थियो । रौतहटस्थित कारागारमा राख्दा असुरक्षा हुने देखिएपछि उनलाई ललितपुरको नक्खु कारागारमा राखिएको थियो ।  त्यसलगत्तै उनी ‘जमानतमा छुटी कारागारबाहिरै बसेरमा मुद्दाको पुर्पक्ष गरिपाऊँ’ भन्दै उच्च अदालत जनकपुरको वीरगन्ज इजलास पुगेका थिए । अदालतले त्यसवेला आलमको निवेदनलाई अदालतले ठाडै अस्वीकार गरेको थियो । जसका लागि अदालतले २७ चैत ०६४ मा विस्फोट भएको, मृतक र घाइतेलाई ट्याक्टरमा राखेर राजा इँटाभट्टा पुर्‍याएको, सबैलाई इँटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको तथ्यलाई आधार मानेको थियो । तर, सोही अदालतले १४ जेठमा भने २७ चैत ०६४ मा विस्फोटको कुनै घटना नै नभएको भन्दै आलमसहित पाँचैजनालाई सफाइ दिने फैसला गरेको थियो । 

पिन्टुका बुवा श्रीनारायण एउटै अदालतको पनि दोहोरो चरित्र देखेर यति वेला चित खाएका छन् । उनले भने, ‘६ वर्षअघि सोही अदालतले २७ चैत ०६४ मा बम विस्फोट भएको मान्यो । घटनामा पिन्टु र ओसी अख्तरसहित अन्य युवालाई जिउँदै जलाएको तथ्यलाई सही ठहर्‍यायो । आलमसहितका पाँच प्रतिवादीलाई जमानतमा रिहा गर्न अस्वीकार गर्‍यो । तर, अहिले आएर त्यही अदालतले उक्त समयमा विस्फोट नै नभएको ठहर गर्‍यो । एउटै अदालतबाट हुने कार्यसम्पादनमा यस्तो दोहोरो चरित्र कसरी हुन सक्छ ? म छक्क परेको छु ।’

पिन्टु २० चैत ०६४ मा महताब आलमसँगै रौतहट राजपुरस्थित फरहदवा पुगेका थिए । महताब उनलाई घरमै लिन आएका थिए । छोरालाई फिर्ता लिन श्रीनारायण आफैँ  फरहदवा पुगेका थिए । त्यसवेला आलमका सहयोगीले पिन्टु चुवान सकेपछि फिर्ता हुने भन्दै उनलाई घर पठाएका थिए । तर, पिन्टुसहितका युवा फरहवास्थित शेख इद्रिसको गाईगोठमा भएको बम विस्फोटमा परे । घाइते उनीसहित २० भन्दा धेरै युवालाई इँटाभट्टामा जिउँदै जलाएर नष्ट गरिएको प्रत्यक्षदर्शीलगायतले प्रहरीलाई बयान दिएका थिए ।

विस्फोटपछि आलमविरुद्ध जाहेरी दिनेमध्येकी एक थिइन्, रौतहट सरुअठा– ९ की रुक्साना खातुन । उनी मृतक ओसीकी आमा हुन् । मुद्दा फिर्ता लिन उनलाई आलमका मान्छेलाई अनेक प्रलोभन र धम्की दिएका थिए । ०६७ मंसिरमा उनलाई घरमै गोली हानियो । त्यसवेला बालबाल बचिन् ।  तर, ९ माघ ०६७ को गोली प्रहारमा उनी बच्न सकिनन् । उनको कन्चटमा दुई राउन्ड गोली हानियो । घटनास्थलमा नै मृत्यु भयो । त्यति वेला रुक्सानाकै हालत गराइदिने भन्दै आफूलाई पनि धम्की आएको श्रीनारायण बताउँछन् ।

जिल्लाको फैसलापछि केही वर्ष वातावरण शान्त बनेको थियो । अहिले उच्चको फैसलापछि आतंकित बनेको छ । रौतहट सरुअठा–४ स्थित श्रीनारायणको निवासमा दैनिक अपरिचित मान्छेको चियोचर्चो चल्छ । कहिले त मध्यरातमा जोडले ढोका ढकढक्याउने गरेको उनले बताए । यस विषयमा उनले जिल्ला प्रहरी कार्यालय रौतहटमा सूचना दिएका छन् । प्रत्येक राति प्रहरीले गस्ती पनि गरिरहेको छ । तर, उनले सुरक्षा महसुस गर्न सकेका छैनन् ।

उनले भने, ‘पहिला रुक्सानाको हत्या भयो । अहिले मेरो पनि त्यही हविगत हुने स्थिति बनेको छ । दैनिक घरआसपास अपरिचित मान्छे आउँछन् । सूचना संकलन गर्छन् । कतै खबर गरिरहेका होलान् । मध्यरातमा पनि ढोका ढकढक्याउँछन् । प्रहरीमा सूचना गरेपछि राति गस्ती त आउँछ, तर म शान्त छैन । कुन वेला के होला कुनै ठेगान छैन ।’

न्यायको लडाइँमा १७ वर्षदेखि अनवरत लागेका श्रीनारायणले यसबिचमा ४ बिघा जमिन बेचिसके । छोराको शोकले श्रीमती गुमाए । तर, उनको हातबाट न्याय झन्–झन् टाढा हुँदै गएको छ । रुक्सानाको मृत्युपछि ओसीकी श्रीमती अमना खातुनले बयान फेरेकी छिन् । ओसीका ससुरा समसुल मियाँले पनि बकपत्र बदलेका छन् । घटनाका अन्य साक्षीको हालत पनि त्यस्तै छ । ८४ वर्षीय श्रीनारायण यति वेला त्यो जघन्य अपराधविरुद्धको लडाइँमा एक्लो सिपाही बनेका छन् ।

उनले भने, ‘यो मुद्दामा लड्ने म एक्लो हुँ । सबैले बयान फेरे । समसुलले त बयान फेर्न ५ लाख रुपैयाँ लियो रे । अफर त मलाई पनि एक करोडकै आएको हो । मैले त्यतिवेलै ‘मेरा छोरा बिक्री हुने खसिबोका होइन’ भन्दै हप्काएर पठाएको हो । अहिले न्यायपरिषद्मा पनि उजुरी दिएको छु । अब सर्वोच्च अदालतले न्याय देला/नदेला आफ्नो ठाउँमा छ । तर, घटनामा संलग्नलाई भगवानको अदालतले सजाय दिन्छ । सुनेँ– आलमलाई ब्रेन ह्यामरेज भयो रे । एसपी लक्ष्मण न्यौपानेको त हत्या नै भयो ।’

पूर्वन्यायाधीश समाजले भन्यो– न्यायलाई विकृत पार्ने न्यायाधीशउपर कडा कारबाही हुनुपर्छ

समाजका अध्यक्ष टोपबहादुर सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ... न्यायालय स्वतन्त्र र सक्षम छ भन्ने देखिनका लागि न्यायाधीशहरूको कार्यसम्पादन प्रक्रिया, पद्धति, आचरणको स्वच्छता र न्यायलाई विकृत पार्ने न्यायाधीशउपर गरिने कडा कारबाहीमा पारदर्शिता हुनैपर्दछ । 

न्यायाधीशको समग्र आचरणको स्वच्छता, न्यायिक शुद्धता, सक्षमता र जनआस्था आर्जन गर्न सक्ने छविले मात्र न्यायालय र न्यायाधीशको गरिमा जोगाउन सक्दछ भन्ने कटु सत्यलाई हरेक तहका न्यायाधीशले आत्मसात् गर्नुपर्दछ । नयाँ पत्रिका

भारतको श्रीनगर प्रहरी चौकीमा विस्फोट : सातको मृत्य

जम्मू कश्मीरको श्रीनगरस्थित नौगाम बाइपास प्रहरी चौकीमा ...

बिहार विधान सभा निर्वाचन : सत्तारूढ गठबन्धन एनडिएल

भारतको बिहार राज्यको विधान सभाका लागि भएको चुनावमा भारत ...

बिदामा आएका सहायक हवल्दारले लिए वडाध्यक्षको ज्यान

धनुषामा बिदामा घर आएका प्रहरीका एकजना सहायक हवल्दारले श ...

कार्तिक २९ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८२ साल कार्तिक २९ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब