चुरे क्षेत्रमा पर्ने सिरहाको लहान नगरपालिका १५ ढोढना बानोस्थित झौवाई खोल्सी चुडिया डाँडा सामुदायिक वन क्षेत्रमा शनिबार विभिन्न प्रजातिका करिब एक हजार पाँच सय थान बिरुवा रोपिएको छ ।
राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर ‘एक नागरिक एक बिरुवा रोपण महाअभियान’ अन्तर्गत लहानस्थित डिभिजन वन कार्यालयको आयोजनामा शनिबार बिहान टिक, जमुना, गुलमोहर, अम्बा, महगनी प्रजातिका करिब एक हजार पाँच सय वटा बिरुवा रोपिएको डिभिजन प्रमुख शैलेन्द्रकुमार मिश्रले जानकारी दिए । बृक्षारोपणको थालनी गर्दै उनले बढ्दो वातावरणीय क्षति रोक्न, चुरेको संरक्षण र समुदायका लागि बोटबिरुवा आवयक भएकाले रोपिएको बिरुवाको संरक्षण गरी त्यसको लाभ लिन आग्रह गरे ।
सामुदायिक वन उपभोक्ता महासंघ सिरहाका अध्यक्ष चन्देश्वर साहले रोपिएको बिरुवाको संरक्षण र हेरचाह महत्वपूर्ण हुने भएकाले वन समूहको पहलमा आम उपभोक्ताले त्यसको जिम्मेबारी लिन आग्रह गरे । रोपिएको बिरुवालाई जोगाउन बर्खा नहुञ्जेल उपभोक्ताहरुको पालो मिलाएर पानी हाल्ने, तारबार गर्ने काम समेत थालिएको वन समूहका अध्यक्ष लगनलाल चौधरीले बताए । उनका अनुसार २७७.९८ हेक्टर क्षेत्रफल रहेको वन क्षेत्रको करिब १० हेक्टर खाली भागमध्ये तीन हेक्टर क्षेत्रमा बिरुवा रोपिएको हो ।
दिवसको सन्दर्भमा जिल्लाका छ वटा सव डिभिजन अन्तर्गत पर्ने सामुदायिक वन क्षेत्रमा शनिबार एकै पटक स्थानीय वन उपभोक्ताहरुसँग मिलेर विभिन्न प्रजातिका बिरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्ष २०८१/०८२ मा सव डिभिजन अन्तर्गत पर्ने ठाउँहरुमा आठ लाख ८५ हजार बिरुवा उत्पादन गरी रोप्नका लागि सामुदायिक वन समूह, निजी वन, कृषकहरुलाई वितरण गरिरहेको डिभिजनले जनाएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved