जाडोयाम शुरू भएसंगै दक्षिण एसियाको ठूलो क्षेत्रको रुपमा मानिने मुख्यतया पश्चिम पाकिस्तानदेखि बंगलादेशसम्मको इण्डो–गंगा भूभागलाई बाक्लो कुहिरोले ढाकेको छ ।
भारतीय उपमहाद्वीपीय क्षेत्रमा शीतलहर एक नियमित शृंखला हो । भारत अवस्थित १०३ वटा जल तथा मौसम मापन केन्द्रहरूको सन् १९६१ देखि २०१५ सम्मको अध्ययनले दक्षिण समथर भूभाग र उत्तर–पूर्वी भारतबाहेक अन्यत्र शीतलहर नियमित प्राकृतिक प्रक्रियाका रूपमा रहेको देखिन्छ ।
नेपालको तराई– मधेश क्षेत्र पनि शीतलहरबाट प्रभावित हुन्छ। यद्यपि, शीतलहर र यसको असरबारे पर्याप्त अध्ययन भएका छैनन् । सन् १९७१ देखि २००६ सम्म भएको एक अध्ययनले तराई क्षेत्रमा जाडोयाममा न्यूनतम तापक्रम बढ्दो क्रममा र अधिकतम तापक्रम घट् दो क्रममा रहेको देखाएको छ । त्यसैगरी सन् १९७५ देखि २०१० सम्मको अवधिलाई आधार मानी कोशी बेसिनमा भएको एक अध्ययनले दैनिक न्यूनतम र अधिकतम तापक्रम दुवै बढ्दो क्रममा रहेको देखाएको थियो ।
सोही अध्ययनले इण्डो–गंगा समथर क्षेत्रमा जाडो र प्रि–मनसुन सिजनको अधिकतम तापक्रम घट्दै गएको र हिउँदमा जाडो हुने दिनहरूको संख्या बढ्दै गएको देखाएको थियो । विगत साढे दुई दशकदेखि शीतलहर एक मुख्य स्वास्थ्य समस्याका रूपमा देखा परेको छ । तराईमा शीतलहरको शुरूवात सामान्यतया मंसिरबाट हुने देखिन्छ । मिथिला क्षेत्रका स्थानीयवासीहरूको अनुभवमा विगत वर्षहरूमा विवाह पञ्चमीको दिनबाट कुहिरोको प्रभाव शुरू हुन्थ्यो र माघ अन्त्यसम्म रहन्थ्यो ।
औसतमा प्रत्येक वर्ष ३० दिन शीतलहरको प्रभाव देखिन्छ । जनकपुरधामको जाडोयामको औसत अधिकतम तापक्रम २४.८०, न्यूनतम तापक्रम १० र औसत वार्षिक अधिकतम तापक्रम ३८.६० डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । अर्कोतर्फ सिमरामा जाडोयामको औसत अधिकतम तापक्रम २४.५१, न्यूनतम तापक्रम ९ र औसत वार्षिक अधिकतम तापक्रम ४०.२० डिग्री सेल्सियस थियो ।
तथ्यांकहरूले तराई–मधेशका क्षेत्रहरूमा जाडोयाममा औसत दैनिक अधिकतम तापक्रममा थोरै फरक देखाएको छ । उक्त अवधिमा न्यूनतम तापक्रम सबभन्दा बढी जनकपुरधाममा रेकर्ड हुँदा सबैभन्दा कम धनगढीमा मापन गरिएको थियो । तराई– मधेश क्षेत्रमा जनवरी, फेब्रुअरी र मार्चमा अत्यधिक चिसो हुन्छ ।
सन् १९७१ देखि २०१५ सम्मको ४५ वर्षको अध्ययनले तराई क्षेत्रमा वार्षिक रूपमा चिसो दिनको संख्या औसतमा सबभन्दा कम धनगढीमा १५.६ र सबभन्दा बढी नेपालगञ्जमा १७.९ दिन रहेको छ । औसत वार्षिक चिसो रातहरूको संख्या सबभन्दा कम जनकपुरमा १३ र सबभन्दा बढी भैरहवामा १७.६ दिन रेकर्ड भएको थियो ।
उक्त अध्ययनले ४५ वर्षको अवधिमा चिसो दिनहरूको संख्या नेपालगञ्जबाहेक तराई– मधेशका अन्य सबै क्षेत्रमा बढिरहेको देखाएको छ । विगतको तुलनामा सन् २००६ देखि २०१५ मा विराटनगर, जनकपुरधाम, नेपालगञ्ज र धनगढीमा शीतलहरका दिनमा वृद्धि भएको थियो । तराई क्षेत्रमा सबभन्दा बढी शीतलहरका दिन जनवरीमा भएको देखिन्छ ।
औसतमा १९.३, ६८.२ र १२.५ प्रतिशत शीतलहर क्रमशः डिसेम्बर, जनवरी र फेब्रुअरीमा रहने गरेको अध्ययनको निष्कर्ष छ । एक अध्ययनले वार्षिक औसतमा शीतलहरका दिन सबभन्दा कम धनगढीमा ११.३ र सबभन्दा बढी विराटनगरमा १६.१ दिन रहने देखाएको छ । तराई क्षेत्रमा शीतलहरको प्रभाव डिसेम्बरबाट शुरू भए पनि कुहिरो लाग्ने क्रम नोभेम्बरबाटै शुरू हुन्छ ।
कुहिरो लाग्ने र शीतलहर चल्ने दिनहरूको अध्ययन गर्दा विराटनगरमा ८० प्रतिशत दिनहरूमा एकैपटक शीतलहर र कुहिरो लाग्ने देखिन्छ । शीतलहर र कुहिरोबाट मानवबाहेक घरपालुवा जनावर, पञ्छी र कृषिजन्य बालीनालीमा बढी प्रभाव पर्छ । शीतलहर र कुहिरोबाट तराईमा मुख्यतः आलु र अन्य गोलभेँडा, भन्टा, खुर्सानीजस्ता तरकारी खेती प्रभावित हुन्छन्।
गहुँ खेतीसमेत कुहिरोबाट प्रभावित हुने स्थानीय कृषकहरूको अनुभव छ । एक अध्ययन अनुसार कुहिरोले आलुमा लाग्ने डडुवा रोगका लागि उपयुक्त वातावरण तयार गरिदिन्छ । स्थानीय कृषकहरूको अनुभवमा आलु रोप्ने समयका आधारमा पनि यो रोगको प्रकोप र असर फरक हुन्छ ।
अक्टोबरमा रोपिएका आलुमा नोभेम्बरमा रोपिएकाभन्दा डडुवा रोगको असर कम हुन्छ। डडुवाका कारण आलु उत्पादन ५० प्रतिशतले कम हुन्छ र कतिपय स्थानमा सम्पूर्ण खेती नै नष्ट भएका उदाहरण पनि छन् । केन्द्रीय तथ्यांक विभागको सन् २०१७ को सर्वेक्षणले तराई–मधेश क्षेत्रमा करिब २४ प्रतिशत घरहरू शीतलहरबाट प्रभावित हुने देखाएको छ ।
अत्यधिक चिसोका कारण कतिपय अवस्थामा स्कुल बन्द हुन्छन्। बाक्लो कुहिरोका कारण उत्पन्न न्यून दृश्यताले सडक र हवाई यातायात समेत प्रभावित हुन्छ। सडक यातायात प्रभावित हुँदा दुर्घटना वृद्धि हुन्छ । शीतलहर र कुहिरोको प्रभावबाट उत्पन्न रोगहरूबाट कृषिजन्य बालीनाली बचाउन कृषकहरूले रासायनिक औषधि प्रयोग गरेको देखिन्छ ।
आलुलाई डडुवाबाट बचाउन अक्टोबरमै बीउ रोप्ने अभ्यास बढ्दै गएको छ । भूमिगत सिँचाइका स्रोतहरू जस्तै इनार, ट्युबवेलबाट प्राप्त पानीमा तुलनात्मक रूपमा सतही पानीभन्दा तातोपना बढी हुन्छ । त्यसैले शीतलहर र कुहिरोको समयमा भूमिगत स्रोतको पानीको प्रयोगमा कृषकहरूले जोड दिने गरेका छ । राज्यको तर्फबाट शीतलहर र कुहिरोको समयमा मानव जीवन, कृषि र पशुपन्छीको संरक्षण गर्ने ठोस कार्यक्रम लागू गर्न नसकेको स्थानीयहरूको गुनासो रहेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved