कुनै राजनीतिक शक्ति वैकल्पिक हुन् कि होइनन् भनेर ती दलले अँगाल्ने विचार, दृष्टिकोण, नीति, कार्यक्रम र कार्यशैलीमार्फत पुष्टि हुन्छ । संसारभरि नै वातावरणीय विनाश, न्युक्लियर पावर, प्रकृतिको असीमित दोहनको विरोध गर्दै पर्यावरणीय संरक्षण, अहिंसा र स्थानीय लोकतन्त्रको पक्षमा सन् १९६० को दशकदेखि युरोपका विभिन्न देशमा ग्रिन दल गठन भएका छन् । पर्यावरणीय रक्षा र सामाजिक न्यायसहितको लोकतन्त्र उनीहरूको स्पष्ट लक्ष्य रहेको देखिन्छ । त्यसैले त्यस्ता दललाई नयाँ दलका रूपमा स्वीकार गरिएको छ ।
२१ फागुनको निर्वाचनलाई केन्द्रमा राखेर नेपालमा थुप्रै नयाँ दल गठन भएका छन् । कतिपय पुराना दलबीच पनि गठन र पुनर्गठनको प्रक्रिया चलिरहेको छ । यसरी नयाँ दल गठन वा गठबन्धन निर्माणको केन्द्रीय सवाल निर्वाचनबाट राजनीतिक शक्ति र सत्ता आर्जन नै हो । नयाँ गठबन्धनसहित बलियो हुँदै गरेको रास्वपाको पछिल्ला सम्झौता, दस्ताबेज र नेतृत्वको अभिव्यक्तिलाई हेर्ने हो भने देशको संरचनागत रूपान्तरणप्रति कुनै ठोस अवधारणा देखिँदैन । जस्तै– संघीयतालाई बलियो र प्रभावकारी बनाउने विचार, दृष्टिकोण र योजना के हो ? कतै स्पष्टता छैन ।
देशको चरम आर्थिक संकटको अन्त्य, गरिबी निवारण, श्रमजीवी, मजदुर, किसान आदिको आर्थिक जीवनमा रूपान्तरणको कार्ययोजना पनि रास्वपासँग देखिँदैन । चिसोमा कठ्यांग्रिएर ज्यान गुमाउन बाध्य मधेशका गरिब हुन् वा भूमिहीन जनताको जीवनमा रूपान्तरण गर्ने कार्यक्रम के हुन्छन् भन्ने सवाल नयाँ दलहरूमा पनि स्पष्ट छैन । नयाँ वा पुराना सबैजसो दलको राजनीतिक महत्त्वाकांक्षा अहिले पनि शक्ति आर्जन र सत्ता प्राप्तिमै केन्द्रित छन् । उनीहरूले शक्ति आर्जन गरेपछि संकटपूर्ण सामाजिक–आर्थिक रूपान्तरण हुन्छ, देशको संरचनागत र व्यावहारिक समस्या हल हुन्छन् र सबैभन्दा सीमान्तीकरण र बहिष्करणमा पारिएका समुदायले मुक्ति पाउँछन् भन्ने आशा गरिहाल्ने परिस्थिति अझै बन्ने देखिँदैन । सर्वसाधारण नागरिकले आधारभूत अधिकारको सहजै अभ्यास गर्ने परिस्थिति बनाउन नसक्ने दल वैकल्पिक दल बन्न सक्दैनन् ।
राज्यको असफलता र राजनीतिक दलहरूको अकर्मण्यताका कारण जनतामा चरम निराशा र आक्रोश छ । यस्तो निराशाका कारण केवल तत्कालीन परिवेशमा देखिएका समस्या मात्रै होइनन् । सैद्धान्तिक रूपमा नवउदारवादी पुँजीवादले निम्त्याएको उपभोक्तावादी अर्थतन्त्र, बिचौलिया, दलाल र राजनीतिक–प्रशासनिक गिरोहको लुटतन्त्र, कुशासन जनताको आवेगका कारण हुन् । यस्ता समस्या हल गर्न नयाँ वैचारिक दृष्टिकोण, दीर्घकालीन सोच, नीति र कार्यक्रम राजनीतिक दलमा हुनुपर्छ । तर, रास्वपालगायतका नयाँ दलसँग यस्ता समस्या हल गर्ने कुनै ठोस वैचारिक दृष्टिकोण देखिँदैन ।
के नयाँ दल गठन हुनु वा नयाँ पात्र राजनीतिमा उदाउँदैमा वैकल्पिक राजनीति निर्माण हुन सक्छ त ? आजको समयको संकटलाई हल गर्ने स्पष्ट विचार, दृष्टिकोण, नीति र कार्यक्रम अनिवार्य छ । त्योबिना कुनै पनि दल वैकल्पिक हुन सक्दैनन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved