नामका लागि नङको ध्याउन्न

  • वैशाख २, २०८३ | १६४ पटक पढिएको | सीमा संदेश
alt

सामान्यतया मानिस सफासुग्घर रहनका लागि समय समयमा नङ काट्ने गर्छन् । बिहे गर्ने बेला भएको शिक्षित ठिटो तर हातमा रुखका बाङ्गाटिङ्गा हाँगाबिँगा झैँ नङ– कुन युवतीले पत्याउली र खै ? ! यद्यपि गिनिज बुकमा नाम लेखाउने ध्याउन्नमा उहाँले व्यक्तिगत इच्छा आकाङ्क्षा थाती राखेर १६ वर्षदेखि असहज दैनिकीको सामना गरिरहनुभएको छ । 

जनकपुरधाम उपमहानगरपालिका–१७, कनरपट्टीका ३३ वर्षीय दिनेशसिंह यादवलाई जति सक्दो चाँडो आफ्नो नङ सात फिटभन्दा लामो बनाएर गिनिज बुकमा रेकर्ड राख्ने ध्यान छ त्यसैले उहाँले आफ्नो देब्रे हातको नङ डेढ दशकदेखि काट्नुभएको छैन । अहिले उहाँको हातका नङ ४३ इन्च (सबै मिलाएर) सम्मका भइसकेका छन् ।

स्थानीय सरस्वती माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत यादवले सामाजिक सञ्जाल र इन्टरनेटको बढ्दो प्रभावका कारण केही भिन्न गरेर संसारमा नाम कमाउने उद्देश्यले नङ पाल्न सुरु गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “फेसबुक र इन्टरनेटमा देखिने विभिन्न व्यक्तिले अनौठा काम गरेर नाम कमाएको देखेपछि मलाई पनि त्यस्तै केही गर्न मन लाग्यो ।” सुरुका दिनमा नङ जोगाउन कठिन भए पनि स्याहार गर्न विशेष उपाय सिकेपछि भाँच्न रोकिएको उहाँले बताउनुभयो । “सुरुमा एउटा औँलामा मात्र नङ पाल्थेँ, स्याहार गर्न नजान्दा भाँचिन्थ्यो । नेल पोलिस र तेल लगाउन थालेपछि मजबुत बन्यो,” उहाँले भन्नुभयो । उहाँका अनुसार नङको सुरक्षाका लागि मासिक चार सय रुपियाँभन्दा बढी खर्च हुने गर्छ । सबैभन्दा लामो बिच औँलाको नङ नौ इन्चको छ भने अन्य सातदेखि आठ इन्चका छन् ।

नङ पाल्नु यादवका लागि चुनौतीपूर्ण पनि छ । विशेष गरी राति सुत्ने बेलामा, नुहाउँदा र व्यक्तिगत सरसफाइका क्रममा उहाँलाई समस्या हुने गरेको छ । यति लामो नङ भए पनि उहाँले आफ्नो घरायसी र खेतीपातीको काम सहज तरिकाले गर्नुहुन्छ । दुई बिघा खेतबारी भएका यादव एउटा मात्र हातको भरमा कोदालो चलाउनेदेखि कृषिजन्य सबै कार्य गर्नुहुन्छ । उहाँले भन्नुभयो, “मलाई कोदालो चलाउन खासै अप्ठ्यारो हुँदैन, हात चलाइरहन चिकित्सकले पनि सल्लाह दिनुभएको छ ।” 

यादवको यो अनौठो सोखले सात समुद्रपारिका नागरिकको पनि ध्यान खिचेको छ । विगत आठ/नौ वर्षदेखि एक अमेरिकी नागरिक डोनाल्ड नाम गरेकासँग उहाँको फेसबुकमार्फत सम्पर्क भएको थियो । ती अमेरिकी नागरिक उहाँलाई भेट्न पटक पटक नेपाल आउने गर्नुहुन्छ । 

यादवका अनुसार ती अमेरिकी मित्रले उहाँको नङ संरक्षणका लागि मासिक १० हजार रुपियाँ सहयोगसमेत पठाउने गर्नुहुन्छ । यद्यपि कोरोना महामारी र पछिल्लो विश्वव्यापी परिस्थितिका कारण विगत चार वर्षदेखि उहाँहरूबिच प्रत्यक्ष भेटघाट रोकिएको छ । उहाँले भन्नुभयो, “हामीबिच चाँडै भेटघाट हुने छ भनी कुराकानी भइरहेको छ ।”  व्यवस्थापनमा स्नातकसम्मको अध्ययन पूरा गर्नुभएका यादवको विवाह हुन बाँकी छ । परिवारमा आमाबुवाले घरजम गर्न दबाब दिने गरेको उहाँले बताउनुभयो । बुवा रामेश्वर यादव र आमा सुदनमादेवी यादवका माइला सन्तान उहाँका तीन दाजुभाइ र एक बहिनी हुनुहुन्छ । उहाँको जेठा दाइको विवाह भइसकेको छ तर उहाँलाई बिहेभन्दा आफ्नो यो मेहनतलाई विश्व रेकर्डमा दर्ता गराउने चाहना रहेको छ । उहाँले भन्नुभयो, “मेरो लक्ष्य गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने हो ।” 

गिनिज बुक अफ वल्र्ड रेकर्डमा अमेरिकन नागरिकको सात फिट लामो नङ भएको आफूले थाहा पाएको बताउँदै उहाँले त्यो रेकर्ड तोड्न आफूले मेहनत गरिरहेको बताउनुभयो । मधेशका  मानिस पनि यस्ता अनौठा काम गर्न सक्छन् भन्ने पनि देखाउन चाहेको यादव बताउनुहुन्छ ।   

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब