नेपाल-भारतको साझेदारीमा बन्यो तीनतले विद्यालय भवन

  • जेठ ७, २०८३ | २४४ पटक पढिएको | सीमा संदेश
alt

नेपाल भारतको सहयोगमा सप्तरीको सुरुङ्गा–१ शिशुवारीस्थित जनता माध्यमिक विद्यालयको तीनतले भवन निर्माण भएको छ ।

नेपालस्थित भारतीय राजदूतावास र सप्तरीको सुरुंगा नगरपालिकाको साझेदारीमा सुरुंगा- १ शिशुवारीस्थित जनता मा.वि.को सुविधा सम्पन्न तीनतले भवनको उद्घाटन भारतीय महाबाणिज्यदूत देवी सहाय मीनाले गरेको छ । उनले भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत विद्यालय भवन निर्माण गरिएको बताए। ‘नेपाल सरकारले उच्च प्राथमिकतामा राखेका विद्यालय, क्याम्पस, अस्पताल, सडक, पुल, ढल निकास, तटबन्धजस्ता क्षेत्रमा नेपाल सरकारसँगै मिलेर नेपालीहरूको जीवन उत्थान र सर्वांगीण विकासका लागि काम गरिरहेको छ,’ उनले भने।

‘विद्यालय भवन निर्माणले विद्यार्थीहरूले सुविधा सम्पन्न र सुरक्षित वातावरणमा पढ्न पाउने वातावरण बनेको छ,’ उनले भने, ‘परियोजनाले स्थानीय जनताको जीवनस्तर उकास्न सरकारी प्रयासलाई थप सघाउन निरन्तर सहयोगलाई दर्शाउँछ।’

भारत सरकारको सहयोगमा नेपालस्थित भारतीय दूतावासमार्फत मधेश प्रदेशमा शिक्षा, स्वास्थ्य, सडक, तटबन्ध, सिँचाइ, विद्युतलगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न ८७ परियोजना सञ्चालन गरिएको उनले बताए। ‘त्यसमध्ये ५४ वटा त शिक्षासम्बन्धी छन्,’ उनले भने, ‘सातवटा स्वास्थ्य, आठवटा सडक र पुल, एउटा तटबन्धलगायत छन्।’ उनका अनुसार दूतावासमार्फत सञ्चालित परियोजनाअन्तर्गत सप्तरीका विभिन्न स्थानीय तहका लागि स्वीकृत नौमध्ये सातवटा सम्पन्न भइसकेको र दुईवटा सञ्चालन भइरहेको छ।

दूतावासमार्फत विभिन्न जिल्लामा उपहारस्वरूप उपलब्ध गराइएको दुई सय ३२ एम्बुलेन्स र ४० स्कुल बसमध्ये २६ एम्बुलेन्स र ४० बस सप्तरी जिल्लाका लागि दिइएको उनले बताए। जिल्लाका विभिन्न ठाउँका स्वास्थ्य संस्था र विद्यालयलाई उपलब्ध गराइएको एम्बुलेन्स र बसले स्वास्थ्य र शिक्षाजस्तो क्षेत्रका लागि महत्वपूर्ण पूर्वाधारको रूपमा काम गरेको उनले बताए । 

दूतावासको ८० र नगरपालिकाको २० प्रतिशत साझेदारीमा जिल्लाको पश्चिम उत्तरी कुनामा पर्ने सिमान्त गाउँ शिशुवारीस्थित जनता मा.वि. को तीनतले नयाँ भवन मूल्य अभिबृद्धि कर र पिएससहित तीन करोड १४ लाख नौ हजार ६४० रुपैयाँ लागतमा बनेको हो । सिराहाको लहान १९ स्थित सूर्यकुण्ड- गोपीकृष्ण जेभीले तोकिएकै समयमा भवन निर्माण सम्पन्न गरेको विद्यालयका प्रधानाध्यापक दिनेशकुमार यादवले जानकारी दिए । 

भवन उद्घाटनपछि कक्षा १ देखि १२ सम्मका ६२७ विद्यार्थीका लागि कक्षा कोठा, विद्यालयको कार्यालय व्यवस्थापन, बैठक कक्ष सञ्चालनका लागि सहज भएको उनले बताए। ‘एसइईपछिका कक्षा ११ र १२ अन्तर्गत स्थानीय विद्यार्थीका लािग लक्षित गरी व्यवस्थापन, शिक्षा संकायको नियमित कक्षा सञ्चालन हुँदै आएको छ,’ उनले भने, ‘चालू शैक्षिक सत्रदेखि कानुन संकाय सञ्चालन गर्ने तयारी गर्दछौँ।’

विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका सुरुंगा १ का वडाध्यक्ष छत्रबहादुर राउतका अनुसार स्थानीय समाजसेवी ध्रुवबहादुर राउतको पहल र सक्रियतामा वि.सं. २००८ सालमा स्थापना भएको उक्त विद्यालय नगर क्षेत्रमा रहेका सातवटा माविहरूमध्ये एसइई उत्तीर्ण दर र कक्षा १२ को नतिजा अब्ब्ल रहेको छ। ‘विद्यालयको भौतिक पूर्वाधारको विकास र शैक्षिक गुणस्तर कायम गर्दै चालू शैक्षिक सत्रदेखि १ देखि ५ कक्षासम्म अंग्रेजी माध्यममा पठनपाठन हुँदै छ,’ उनले भने, ‘त्यसमा वडा कार्यालयले पनि आवश्य सहयोग र समन्वय गरिरहेको छ।’  

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब