शिक्षक–विद्यार्थी साक्षरता अभियानमा जुटे

  • जेठ २८, २०८३ | २२८ पटक पढिएको | सीमा संदेश
alt

लहान नगरपालिका वडाको हिसाबले नेपालकै सबैभन्दा ठुलो नगरपालिका भए पनि हालसम्म नौ वटा वडा साक्षर वडा घोषणा हुन सकेका छैनन्। साक्षर घोषणा हुन बाँकी रहेका वडाका निरक्षर नागरिकलाई साक्षर बनाउन माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीलाई अभियानमा परिचालन गरिएको छ। नगरपालिकामा २४ वटा वडा रहेका छन्। दलित तथा विपन्न समुदायको जनघनत्व बढी भएका वडाहरू साक्षर घोषणा हुन बाँकी रहेका छन्।

नगरपालिकाको कार्यालय रहेको वडा नं. १० स्थित श्री जनता माध्यमिक विद्यालय, बैरियाँ गुदीगाउँका ४० जना विद्यार्थी र दुई जना शिक्षकलाई विद्यालय क्षेत्रभित्रका दलित तथा विपन्न बस्तीमा साक्षरता अभियान सञ्चालन गर्न खटाइएको विद्यालयका प्रधानाध्यापक देवनलाल ठाकुरले बताउनुभयो।

पूर्ण साक्षरताका लागि निर्धारित १२ वटा सूचकमध्ये वर्ण तथा अक्षर चिन्न सक्ने, शून्यदेखि नौसम्मका अंक चिन्न सक्ने, शून्यदेखि एक सयसम्मका अंक लेख्न र पढ्न सक्ने, मोबाइल र क्याल्कुलेटर प्रयोग गर्न सक्ने, मूल्यसूची र बिल बुझ्न सक्ने, साइनबोर्ड, पोस्टर तथा ट्राफिक संकेत बुझ्न सक्ने, भित्तेपात्रो प्रयोग गर्न सक्ने, बैंक भौचर तथा चेक प्रयोग गर्न सक्ने र सामुदायिक सहभागितामा सक्रिय हुन सक्ने जस्ता सीप आवश्यक मानिएका छन्।

विद्यालय क्षेत्रभित्रका गाउँ–टोलमा शिक्षक तथा विद्यार्थीलाई साक्षरता अभियानमा परिचालन गर्दा सामाजिक शिक्षाको परियोजना कार्यसमेत हुने र विद्यार्थीहरूले आफ्नै घरका हजुरबुबा–हजुरआमालाई पनि साक्षर बनाउन सक्ने भएकाले वडा नं. १० बाट अभियान सुरु गरिएको लहान नगरपालिका शिक्षा शाखाका प्रमुख अमिरी यादवले बताउनुभयो।

साक्षरता अभियानमा सहभागी वडा नं. १० का ७० वर्षीय छोटेलाल पासवानले आफ्नै नाति–नातिनी विद्यालयको पोसाकमा अक्षर चिनाउन र नाम लेख्न सिकाउन आएको देखेर खुसी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “१५ वर्षको उमेरदेखि घर निर्माण तथा राजमिस्त्रीको काम गर्दै सिरहा सदरमुकामका धेरै कार्यालय निर्माण गरेँ। तर आफ्नै नाममा हस्ताक्षर गर्न नसक्ने पीडा थियो। अहिले आफ्नै नाति–नातिनीले सिकाउन आएका छन्। निरक्षर भएर मर्नु हुँदैन भन्ने मेरो चाहना अब पूरा हुने भयो।”

अभियानमा खटिएका कक्षा ९ की अन्तरा विसुन्के र कक्षा १० की नीलम पासवानका अनुसार ६०–७० वर्ष उमेर समूहका कतिपय हजुरबुबा–हजुरआमाले “अब यो उमेरमा के सिक्नुरु” भन्दै सुरुमा अस्वीकार गरे पनि सम्झाइबुझाइ गरेपछि नाम लेख्न सिक्न थालेका छन्।

साक्षरता अभियानमा खटिएका शिक्षक शिवकुमार गुप्ता र गौरीशंकर यादवले विद्यालय क्षेत्रभित्र पर्ने धनछवार, असनाहा र गुदीगाउँमा दलित समुदायका अधिकांश वृद्धवृद्धा अझै निरक्षर रहेको बताउनुभयो।

२०७८ सालको जनगणनाअनुसार लहान नगरपालिकाको साक्षरता दर ६९.१५ प्रतिशत रहेको छ। नगरपालिकाको कुल जनसंख्या एक लाख दुई हजार ३१ रहेको छ।

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सिरहाबाट जुवातास खेलिरहेको अवस्थामा एक भारतीयसहित

जुवातास खेलिरहेको अवस्थामा जिल्ला सदरमुकाम सिराहास्थित ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब