विज्ञान र प्रविधिको आधुनिक युगमा भूतप्रेत, धामीझाँक्री, तान्त्रिक सिद्धिमा विश्वास गर्ने जमात एकदमै न्यून छ । तर, धनुषा र सिरहा जोड्ने कमला नदीमा लाग्ने भूत मेलामा देखिने भिडले हाम्रो समाज अझै पनि भूतप्रेत, धामीझाँक्रीजस्ता अन्धविश्वासमा अलमलिएको भान हुन्छ । चिसो मौसममा काम्दै धामीझाँक्रीको आदेशमा कमलाको धार (पानी) मा डबुल्की लगाउनेहरूको आत्मविश्वास देख्दा लाग्छ– यो धर्मसंस्कृतिप्रतिको आस्था हो या साँच्चै नै अन्धविश्वासको हो ? हुन त कमला नदीको पवित्रता र महात्माबारे विभिन्न धार्मिक पुस्तकहरूमा धेरै चर्चा र वर्णन गरिएको पाइन्छ ।
कार्तिक शुक्ल पूर्णिमामा धार्मिक र ऐतिहासिक नदी कमलामा नुहाएपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वास छ । त्यसैगरी, ‘भूतप्रेत’ बाट पिरोलिएकाहरूले काम्दै कमलामा स्नान गरेपछि शरीरबाट ‘भूतप्रेत’ उत्रिने र स्वस्थ हुने मान्यता छ । त्यसैले कार्तिक शुक्ल पूर्णिमामा यहाँ हजारौँ संख्यामा श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गर्छ ।
कार्तिक शुक्ल पूर्णिमाको दिन बिहान २ बजेदेखि नै श्रद्धालुभक्तजनहरू चिसो मौसमको प्रवाह नै नगरी कमला नदीमा गएर स्नान गर्छन् । कतिपय भने कार्तिक शुक्ल पूर्णिमाको अघिल्लै दिन कमला नदीमा पुगेर रातभर जाग्राम बस्ने र भोलिपल्ट बिहान स्नान गरेर तान्त्रिक विद्या सिद्ध भएको, शरीरबाट भूतप्रेत पिशाच हटेर स्वस्थ बनेको विश्वासका साथ घर फर्कन्छन् ।

भूत मेलामा धनुषासहित सिरहा, सप्तरी, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभङ्गा, समस्तीपुर, जयनगरलगायत स्थानबाट ठूलो संख्यामा सर्वसाधारण आउँछन् । कतिपयले चाहिँ धामीझाँक्री बन्ने विश्वासले देउता पुकार्दै काम्दै कमलामा स्नान गर्छन् । यसो गर्नाले कमलेश्वरी देवीले तान्त्रिक विद्याको वरदान दिने तथा धामी विद्यामा पक्का हुने जनविश्वास रहिआएको छ । पहेँलो धोतीमा पुरुष र पहेँलो सारी लगाएका सिकारु धामीझाँक्रीहरूले माटो फाडोमा आगो अर्घ लिई देवीदेवतालाई चर्को स्वरमा बोलाउने गर्छन् ।
सिकारु धामीझाँक्रीहरू, भुत लागेका भनिएकाहरूले पानीमा डुबुल्की लगाइरहँदा तान्त्रिक विद्यामा सिद्ध भएका भनिएका धामी र उनीहरूका सहयोगीहरूले झाल, ढोल, मादल बजाइरहेका हुन्छन् । कमलाको उत्तरबाहिनी, कमला ब्यारेज, पुल, सिक्रौन, चतरी, बेलहा, बटेर्वा, बसबिट्टा र सीमावर्ती भारत जयनगरको कमला ब्यारेजमा स्नान गर्न गाउँगाउँबाट धामीझाँक्रीसँगै आएका हजारौँ भक्तजनहरूको भिड लाग्छ ।
हातमा धुपौरो, बेत वा बाँसको लट्ठी समातेर काम्दै पूजासहित कमला नदीमा स्नान गरे शरीरमा प्रवेश गरेको ‘भूतप्रेत’ उत्रिने र कुलदेवतासमेत खुसी भई परिवारमा आपत्विपत् नआउने धामीझाँक्रीहरूको दाबी छ । भूतप्रेत वा कुनै आत्माले शरीरमा बास गरेपछि त्यसले मानवलाई दु:ख दिने र त्यसलाई हटाउनका लागि यस्ता मेलाहरू नेपाल र भारतका विभिन्न स्थानमा लाग्दै आएका छन् । मेला एक प्रकारले बिरामीका लागि उपचार गर्ने केन्द्र पनि बनेको छ । सर्वसाधारण मानिसहरू विश्वास गरेर त्यहाँसम्म पुगेका हुन्छन् । अनि धामीझाँक्रीले तान्त्रिक विद्याले रोगीलाई निको बनाउने विश्वास गरिँदै आएको छ ।
कतिपय बिरामीहरू घरबाट निस्कँदा भूत खेल्दै, लड्दै, भिड्दै मेलासम्म पुगेका हुन्छन् । तर, जब धामीले मन्त्र जपेर ती बिरामीको शरीरबाट भूत भगाउँछन्, अनि उनी निको भएर घर फर्कन्छन् । यस्तै दृश्य यस मेलामा देख्न पाइन्छ । यस्तो दृश्यले महिला, पुरुष, केटाकेटीहरू सबैलाई मेलाप्रति झन् विश्वास बढ्छ । तर, कतिपयले भने यसलाई अन्धविश्वास नै भन्छन् ।
कार्तिक शुक्ल पूर्णिमाका दिन कमला नदीमा गरिने कमला स्नानलाई नै भूत मेला भन्ने चलन छ । हिन्दु धर्ममा आत्मशुद्धि अर्थात् पवित्र हुनका लागि कात्तिकमा कमला तथा गंगा स्नान गर्ने चलन छ । गंगा स्नान वा कमला स्नान गरेपछि पवित्र हुने जनविश्वास छ । त्यहाँ भूतप्रेत लागेका वा नयाँ सिकारु धामीझाँक्री मात्र होइन, स्नान गर्नकै लागि पनि हजारौँ संख्यामा भक्तजनहरू पुग्छन् ।
महोत्तरी बल्वाका एक धामीका अनुसार कसैलाई भूत लागेको छ भने त्यसलाई शरीरबाट हटाउनका लागि सत्य वचन बोलाउनका लागि गंगा स्नान र कमला स्नान गराइन्छ । यस दिन कमला नदीको पाँच किलोमिटरसम्म दुवैपट्टिका नदीका किनारमा धामीझाँक्रीले देवता खेलिरहेका हुन्छन् । आफ्नो शरीरमा बास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायी बासका लागि र नयाँ धामीझाँक्रीहरूले पनि शुद्धिका लागि कमला नदीमा स्नान गर्ने गर्छन् ।
मिथिला समाजमा आश्विन अमावास्यको रात तन्त्रसिद्धिका लागि सर्वोत्तम मानिन्छ । यस रात सिकारु धामी र बोक्सीहरू आ–आफ्ना गुरुसँग मन्त्र सिक्छन्, काली पूजा अर्थात् तन्त्रमन्त्र सिद्धि गर्छन् । स्नानपछि भक्तजनहरू प्रसादका रूपमा कमला नदीको बालुवा, ढुंगा, फूल जे पाइन्छ, त्यही लिएर प्रसन्न हुँदै घर फर्कन्छन् ।
वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलले कमला नदीमा स्नान गर्ने परम्परा मिथिलाको पुरानो परम्परा रहेको बताए । सीतायण महाकाव्यमा कमलालाई पवित्र नदीको रूपमा वर्णन गरिएको उल्लेख गर्दै उनले भने, ‘कमला नदीमा स्नान गर्दा तान्त्रिक विद्या सिद्ध हुने कुरा हिन्दु धर्मको कुनै पनि पुस्तकमा उल्लेख त छैन । तर जानकी मन्दिरमा पहिला महन्थ सुरकिशोर दासले नयाँ जनकपुर खोजेपछि मात्रै कमला नदीमा स्नान गर्ने परम्परा सुरु भएको हो ।’
धामीझाँक्री तथा बोक्साबोक्सीजस्ता प्रथा मिथिला समाजमा अझै कायम रहेको डा. विमलले भने, 'भूत मेला मात्रै होइन, अझै पनि हाम्रो समाजमा जादुटुना, बोक्सी र धामीझाँक्रीहरूप्रतिको अन्धविश्वास छँदैछ । त्यसैले हाम्रो समाजमा रहेका धामीझाँक्रीहरूले दिग्भ्रमित पारेर सर्वसाधारणहरूलाई कमला नदीसम्म पुर्याउन सफल भइरहेका छन् ।’
भूत मेला धामीझाँक्रीका लागि आयआर्जनको माध्यम
भूत मेलाको दिन धामीझाँक्रीहरूले राम्रो आम्दानी गर्ने गरेका छन् । जसको घरमा देवीदेवता तथा भूतप्रेतको समस्या हुन्छ, उनीहरूले धामीलाई रकम दिएर कमला नदीसम्म लग्छन् । त्यसबापत धामीहरूले उनीहरूबाट मोटो रकम असुल गर्ने गरेका छन् । एउटा धामीले धोती, कुर्ता, गम्छा लिनुका साथै २ हजारदेखि ५ हजार रुपैयाँसम्म लिने गरेको पाइन्छ । रकम नदिएसम्म धामीहरू कमला स्नान गराउन जाँदैनन् । एक स्थानीय बासिन्दाका अनुसार पछिल्लो समय भूत मेला पनि व्यापारिक मेलाजस्तै बनेको छ, जहाँ रोग निको पार्न र धामी बन्न धामीझाँक्रीलाई मोटो रकम दिनुपर्छ ।
एक स्थानीयका अनुसार एक दशकअघिसम्म धामीलाई धोती, कुर्ता, गम्छा मात्र दिए पुग्थ्यो तर अहिले धामीहरूले पनि बार्गेनिङ गरेर पैसा असुल्छन् स्नान गराउनका लागि । दुईदिने यस मेलामा त्यस क्षेत्रको व्यापार व्यवसायमा पनि वृद्धि हुन्छ । स्थानीयका अनुसार कमला नदीको किनारमा वा त्यसको वरिपरि दूध, च्युरा, पानी, चियालगायतको बिक्री उच्च हुने गर्छ ।
भूत मेलाका लागि सार्वजनिक बिदा
कमला नदीमा लाग्ने कार्तिक पूर्णिमा स्नान तथा देव मेलालाई मध्यनजर गर्दै धनुषाका सात वटा स्थानीय तहले मङलबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । गणेशमान चारनाथ नगरपालिका, सबैला नगरपालिका, सहिदनगर नगरपालिका, कमला नगरपालिका, विदेह नगरपालिका, जनकनन्दनी गाउँपालिका र बटेश्वर गाउँपालिकाले मङ्सिर ८ गते एक दिनका लागि सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
त्यसैगरी सिरहाका सिरहा नगरपालिका, कल्याणपुर नगरपालिका र कर्जन्हा नगरपालिकाले एक दिनका लागि सार्वजनिक विदा दिइएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved