रौतहटमा दशगजा अतिक्रमण विवाद संयुक्त सर्वे टोलीले टुंग्यायो

  • असार २३, २०७७ | १,१८० पटक पढिएको | सीमा संदेश
alt

रौतहट । वर्षा सिजन सुरु भएसँगै रौतहटका सीमा क्षेत्रका बासिन्दा त्रासमा हुन्छन् । दशगजा क्षेत्रमै जोडेर भारतले निर्माण गरेको अग्लो बाँधका कारण नेपाली भूभाग वर्षेनि डुबानमा पर्ने गरेका कारण सीमावर्ती क्षेत्रका बासिन्दा वर्षाको समयमा त्रासमा रहने गरेका हुन् ।

पानीको प्राकृतिक बहावलाई रोक्ने गरी भारतले दशगजा छेउमै अग्लो बाँध बनाएर आफ्नो भूभाग र बस्तीलाई डुबानबाट जोगाउने गरेको छ । वर्षा अघि नै यसपटक उक्त बाँध मर्मतका क्रममा भारतले दशगजा क्षेत्र मिचेपछि नेपाली पक्षले आपत्ति जनाउँदै बाँध मर्मत रोक्न लगाएको थियो ।

हालै दुई देशबीचको संयुक्त सर्वे टोलीले ईशनाथ–१ बनजरहा गाउँनजिक जिपिएस प्रविधिबाट नाँपजाँच गर्दा भारतीय पक्षद्वारा करिव २ मिटर दशगजा क्षेत्र मिचेर बाँध बनाइएको प्रमाणित भएको छ ।

उक्त बाँध भत्काउन निर्देशन दिइसकेको र बाँध भत्काउन भारतीय पक्ष तयार रहेको स्थानीय प्रशासनले जनाएको छ ।

दुई दिन अघि नेपाल भारतको ज्वाइन्ट सर्वे टोलीले जिपिएस प्रविधिबाट नापजाँच गरेर ११ स्थानमा अस्थायी रुपमा जिआई फलामको पाइप गाडेर रेखांकन गरेको छ । यस क्रममा भारतले करीब २०० मिटर सीमा मिचेको प्रमाणित भएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।

भारतीय पक्षबाट अनुराग कुमार र नेपाली पक्षबाट उमेश कुमारसहितको प्राविधिक टोलीले जिपिएस प्रविधिबाट सीमा पहिचान गरेर सीमा क्षेत्रको ११ स्थानमा अस्थायी रुपमा पिलर गाडेको छ । 

यद्यपि ती पिलर गाडिएका क्षेत्र तत्काल खाली नगराए वर्षाको समयमा ती पाइप हराउन सक्ने, गोठालाहरुले उखेल्न सक्ने र फेरि सीमा विवाद सिर्जना हुन सक्ने स्थानीयबासी बताउँछन् ।

भारतले दशगजा मिचेर बाँध बनाएको पुष्टि भइसक्दा समेत स्थानीय प्रशासनले दशगजा क्षेत्रलाई खाली गराउन ढिलासुस्ती गर्नु आफैमा अनौँठो देखिन्छ ।

पिलर नम्वर ३४६/५ देखि ३४६/७ को विचमा ३ वटा अस्थायी पिलर र ३४६/६ देखि ३४६/७ सम्म ८ वटा अस्थायी रुपमा सांकेतिक चिन्ह खडा गरिएको छ । यस क्रममा भारतले करिव २०० मिटरसम्म दशगजा क्षेत्रलाई मिचेर बाँध निर्माण गरेको पुुष्टि भएको प्रमुख जिल्ला अधिकारी घिमिरे बताउँछन् ।

भारतले अतिक्रमण गरेको दशगजा क्षेत्र वर्षा पश्चात खाली गराउने गरी भारतीय अधिकारीसँग सहमति भएको छ । साउनसम्म दशगजाभित्रको बाँध भारतले हटाइसक्ने सहमति भएको बताइएको छ ।

‘वर्षाको समय भन्दै उक्त अवधिमा हटाउन सम्भव भएन भनेर भारतले आलटाल गर्ने त होइन ?’ भन्ने प्रश्नको जवाफमा प्रमुख जिल्ला अधिकारी घिमिरे दुवै पक्षबीच समझदारी भइसकेका कारण भारतीय पक्षले बाँध हटाउनेमा आफूहरु विश्वस्त रहेको बताए । 
भारतीय पक्षले दशगजा खाली नगरे आफूहरुले नै दशगजा क्षेत्रमा परेको बाँधको हिस्सा भत्काउने उनको भनाइ छ ।

डुबानबाट भारतीय क्षेत्रलाई जोगाउन दुुईदशक अघि सो क्षेत्रबाट पश्चिम करिव दुई किलोमिटर लामो बाँध भारतले एकतर्फी रुपमा निर्माण गरेको हो । सो बाँधका कारण बर्सेनि वर्षामा बन्जरहा गाउँ डुबानमा पर्दै आएको स्थानीय गृषनन्दन सिंहले बताए ।

हरेक वर्ष भारतीयले दशगजाको बाँधलाई स्तरवृद्धिको नाउँमा थप अग्लो बनाउदै जाँदा डुुबानको जोखिम बढ्दै गएको सिंहले जानकारी दिए ।

यसका अतिरिक्त बाँध अग्लो बनाउने नाममा बाँधको चौडाईसमेत बढाइएका कारण अहिले उक्त बाँधको केही हिस्सा दशगजासम्म आइपुगेको देखिन्छ ।

त्यसैगरी जिल्लाको पूर्वीभेगमा बागमती नदी र पश्चिममा लालबकैया नदी नियन्त्रण गर्न निर्माण भएको तटबन्ध   कमजोर भएका कारण बर्सेनि भत्कने खेत तथा बस्तीमा बाढी पस्ने गरेको छ ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाका पूर्वसभापति शैलेन्द्र गुप्ताले बागमती र लालबकैया नदीको तटबन्ध समयमै मर्मत नहुनु असारतिर हतार हतार मर्मतका नाममा बजेटमात्र खर्चिने गरिएका कारण स्तरीय काम नहुनुुले तटबन्ध भत्किएर बर्सेनि डुुबानको समस्या हुने गरेको बताए ।

बागमती तथा लालबकैया नदी नियन्त्रण कार्यालय परवानीपुरका प्रमुख राजकुमार श्रीवास्तवले चुुरेक्षेत्रमा ब्यापकरुपमा हुने गरेको रुखकटानी तथा नदीजन्य पदार्थ निकासीले पानीसँगै आएको बालुवाले दुुबैनदीको सतह अग्लो बनेको बताए । ‘बालुवाले नदीको सतह अग्लो भयो तर तटबन्धको उचाई जतिको त्यति भएकाले पनि बाढीको समय ओभरफ्लो भएर डुुबान हुने गरेको छ,’ उनले भने ।

हरेकबर्ष नदी नियन्त्रणको बजेट वैशाखपछि आउने गरेको तर यस वर्ष हालसम्म पनि बजेट नआएकाले डुबान नियन्त्रणका लागि भरपर्दो काम हुन नसकेको उनको भनाइ छ ।

त्यतिमात्र नभई भारतीय पक्षले सीमानामा बनाएको साईफन कल्भर्टको ढोका बाढीको बेला बन्द गर्ने गरेकाले हप्तौँसम्म डुुबानको समस्या रहदैँआएको उनको भनाइ छ ।

रौतहटलाई डुुबानबाट जोगाउन समयमै मास्टरप्लान बनाएर द्रूतगतिमा काम गर्ने र नदीको पानी निकासका लागि भारतीय पक्षसँग सहमति गरेमा मात्र सम्भव हुने श्रीवास्तव बताउँछन् ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब