काठमाडौं । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक तयारी अघि बढाउन आयोगले कार्ययोजना तयार गरेको छ । निर्वाचनका लागि आवश्यक ५३ वटा क्रियाकलाप अघि बढाउन कार्ययोजना तयार गरिसकेको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । आयोगले निर्वाचन कार्यक्रम बनाउनेदेखि दल दर्ता र मतदाताको अन्तिम नामावली प्रकाशित गर्नेसम्मको कार्ययोजना बनाएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
निर्वाचनको तयारीको लागि आयोगले गर्नुपर्ने क्रियाकलापमा अन्तिम मतदाता नामावली तयारी गर्ने, निर्वाचन सामग्रीको व्यवस्थापन गर्ने, निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने, मतदाता शिक्षा सामग्री तयारी तथा कार्यक्रम सञ्चालन गर्ने, निर्वाचन कार्यक्रम तयारी गरी प्रकाशन गर्ने, निर्वाचन अधिकृतको नियुक्ति र कार्यालय स्थापना गर्ने, निर्वाचन आचारसंहिता लागू गर्ने, निर्धारित मतदान स्थलहरूमा मतदान केन्द्र तोक्ने रहेका छन् ।
प्रवक्ता पौडेलका अनुसार निर्वाचन प्रयोजनका लागि बिहीबारदेखि दल दर्ता गर्ने छ । यसअघि दर्ता भइसकेका दलले पनि दर्ताका लागि निवेदन दिनुपर्ने हुन्छ। कार्ययोजना अनुसार फागुन ५ देखि १५ सम्म दल दर्ताको निवेदन दिनुपर्ने हुन्छ । आयोगमा १ सय ५ वटा दल दर्ता भएका छन् ।
चैत ४ सम्म निर्वाचन कार्यक्रम स्वीकृत गरी राजपत्रमा प्रकाशन गर्ने आयोगको तयारी छ । दल दर्तापछि मात्रै आयोगले आचारसंहिता लागू गर्न जनाएको छ । त्यसै गरी उम्मेदवारी दर्ताको काम वैशाख पहिलो साता सक्ने तयारी गरिरहेको छ । आयोगले अहिले निर्वाचनको बजेटदेखि अन्य विभिन्न आवश्यक सामग्री खरिदलगायत विषयमा गृहकार्य गरिरहेको छ ।
निर्वाचन व्यवस्थापनका लागि आवश्यक पर्ने बजेटको तयारी अन्तिम चरणमा पुगेको पनि आयोगले जनाएको छ । स्थानीय तह सदस्य निर्वाचनमा निर्वाचन आयोगका लागि करिब १२ अर्ब बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । त्यहीअनुसार सरकारसँग बजेट प्रस्तावसहित बजेट स्वीकृतिको प्रक्रियामा रहेको छ’– प्रवक्ता पौडेलले भन्नुभयो । सो अगावै निर्वाचन सामग्री खरिद प्रक्रिया अगाडि बढाउन अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता लिई प्रतिस्पर्धात्मक प्रक्रियाबाट बोलपत्र आह्वान गर्ने गरी मापदण्ड र स्पेसिफिकेसन स्वीकृत गरिएको छ । कार्ययोजना अनुसार काम भइरहेको छ।’ –प्रवक्ता शर्माले भन्नुभयो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved