सिरहा । आसन्न स्थानीय तह निर्वाचनका लागि सिरहामा २ हजार ३ सय ३१ म्यादी प्रहरीमा भर्ना खोलिएकोमा ६ हजार ५ सय ५ जनाले आवेदन भरेका छन् । जसमा महिला ७ सय ३३ र पुरुष ५ हजार ७ सय ७२ जनाले आवेदन बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता ( डि.एस.पी.) सुभाष बुढाथोकीले जानकारी दिनु भयो ।
मधेस प्रदेशमा म्यादी प्रहरीमा मागभन्दा करिब तीन गुणा आवेदन परेको छ। प्रदेशका सबै जिल्ला प्रहरी कार्यालयअगाडि म्यादी प्रहरीमा भर्ना हुन युवायुवतीको ठुलो भिड देखिएको थियो।
आवेदन खुलेको पाँचौँ दिनसम्ममा मागको करिब तीन गुणा आवेदन परेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एसएसपी योगबहादुर पालले जानकारी दिए। प्रदेशका आठ जिल्लाबाट कुल २१ हजार ६९८ जना माग गरिएकोमा पाँचौं दिनसम्म ५९ हजार ९९० जनाले आवेदन दर्ता गराएका छन्।
पहिलो दिन पाँच हजार २४१, दोस्रो दिन १२ हजार ५०, तेस्रो दिन १४ हजार ९८८, चौथो दिन १५ हजार ४९८ र पाँचौं दिन १२ हजार १२३ जनाले आवेदन दर्ता गराएको प्रवक्ता एसएसपी पालले जानकारी दिए।
म्यादी प्रहरीमा सवैभन्दा वढी आवेदन बारा जिल्लामा परेको छ। बारा जिल्लामा १० हजार २०७ जनाले आवेदन दर्ता गराएका छन्। यस्तै, सर्लाहीमा नौ हजार १४९, सप्तरीमा आठ हजार ६१, धनुषामा सात हजार ९४८, महोत्तरीमा सात हजार २६०, रौतहटमा पाँच हजार ९७५ र पर्सामा सबैभन्दा कम पाँच हजार ३८१ जनाले आवेदन दर्ता गराएका प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
सात हजार ४५५ महिलाको आवेदन
प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशका आठवटै जिल्लामा म्यादी प्रहरीमा भर्ना हुने महिलाको संख्या पनि उल्लेख्य छ। बारामा सबैभन्दा धेरै एक हजार ८६२ महिलाले आवेदन दिएका छन्। त्यस्तै सप्तरीमा एक हजार ३२१, सर्लाहीमा ९४१, धनुषामा ७५३, सिराहामा महोत्तरीमा ७२५, पर्सामा ५७८ र रौतहटमा ५३५ महिलाले आवेदन दर्ता गराएका एसएसपी पालले जानकारी दिए।
म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ बाट सुरू हुनेछ। चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरेर चैत २८ मा प्रशिक्षण सुरू हुनेछ। छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ। म्यादीका लागि ४० दिन कार्यावधि तोकेर प्रतिव्यक्ति पारिश्रमिक एकमुष्ट ३० हजार २ सय ४०, पोसाकबापत ६ हजार, रासनबापत एकमुष्ट ७ हजार २ सय र एक पटकका लागि सवारी खर्चबापत प्रतिव्यक्ति १ हजारका दरले रकम विनियोजन हुने गरी म्यादीको सुविधा निर्धारण गरिएको छ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved