नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति भेटियो

  • असार २०, २०७९ | ५६४ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । कोभिड–१९ का बिरामीको संख्या विस्तारै बढ्दै गएको अवस्थामा नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ ।

काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालले गरेको आनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ) मा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ भेटिएको हो । अस्पतालका प्रयोगशाला तथा संक्रामक रोग अनुसन्धान प्रमुख प्रा.डा. राजीव श्रेष्ठले अन्य प्रयोगशालाबाट संकलन भएको नमुनालाई जिन सिक्वेन्सिङमार्फत् हेर्दा ‘बीए फाइभ’ उपप्रजाति भेटिएको बताउनुभयो ।

नेपालमा पछिल्लो समय नयाँ प्रजाति देखिनुले हाल नेपालमा फैलिरहेको कोरोना भाइरस यही हो या होइन भन्नेबारे पुष्टि भई नसकेको डा. श्रेष्ठ बताउनुहुन्छ । उहाँले अन्य ल्याबको नमुना ल्याई अनुन्धान गरिएकाले संक्रमित व्यक्ति को को हो भन्नेबारे यकिन नभएको बताउनुभयो । तर, अस्पतालले यसअघि पनि कोरोना संक्रमण उच्च गतिमा बढेका बेला यसरी नै अनुसन्धान गरी स्वास्थ्य मन्त्रालयले स्वीकृति विश्व स्वास्थ्य संगठनले पुष्टि गरेपछि मात्र मुख खोलेको थियो ।

नेपालमा कोरोना संक्रमण पछि धेरै अध्ययन अनुसन्धान भइरहेको भए पनि सरकारको गोप्य नीतिका कारण रोगका बारेमा समयमै सचेत गराउने वा सार्वजनिक गर्ने वातावरण बनिनसकेको स्वास्थ्य सेवा विभागका एक चिकित्सक बताउँछन् । धुलिखेल अस्पतालमा पुष्टि भएको नयाँ उपप्रजातिका विषयमा पनि अनुसन्धानकर्ताले खुलेर जानकारी गराउन नसकेकै कारण अन्य प्रयोगशालाबाट संकलित नमुना भएका कारण थप जानकारी उपलब्ध नभएको बताइयो । अहिले ओमिक्रोन भेरियन्टका दुई नयाँ उपप्रजातिका कारण कोरोना भाइरस संक्रमण दर विश्वका केही देशमा पुनः बढिरहेको अवस्थालाई भने स्वास्थ्य मन्त्रालयको दैनिक सार्वजनिक हुने रिपोर्टले पुष्टि गर्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको कोरोना संक्रमितको २४ घण्टाको रिपोर्टमा २ हजार १ सय २० नमुना संकलन गरेकोमा ५३ जना संक्रमित पुष्टि गरेको छ । त्यसै गरी आइबारसम्म सक्रिय संक्रमित ३ सय ३३ जना रहेका छन् । त्यसै गरी शनिबार सार्वजनिक गरेको रिपोर्टमा ४४ जना नयाँ संक्रमित पुष्टि भएको थियो । त्यस्तै, शुक्रबार ५० जना नयाँ संक्रमित पुष्टि भएको छ । २०७९ जेठ १८ गतेको रिपोर्टमा १५ जना नयाँ संक्रमित देखिएकोमा एक महिनाको अन्तरमा चार गुणाले बढ्नुले नेपालमा नयाँ भेरियन्टको उपप्रजातिको संक्रमण वृद्धि भएको पुष्टि गर्ने आधार बनेको पनि स्वास्थ्य सेवा विभागका चिकित्सकको ठम्याइ छ ।

दक्षिण अफ्रिकामा पहिलोपटक देखा परेको बीए फोर र बीए फाइभ उपप्रजातिहरूले युरोप, अमेरिका, जर्मनीलगायतका देशमा बढी संक्रमण फैलिएको चर्चा भइरहँदा नेपालमा पनि पुष्टि हुनुले थप सजगता अपनाउनुपर्ने चिकित्सकहरूको ठम्याई छ ।अन्य भेरियन्टभन्दा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ छिटो फैलिएको पाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ । विश्वको इतिहासले पनि यो उपप्रजातिको फैलावट छिटो गतिमा रहेकाले नेपालमा पनि पछिल्लो समय बढेको संख्यालाई हेर्दा कतै नयाँ प्रजातिकै फैलावट त हैन भन्ने अवस्था आएको छ । यस बारेमा थप अनुसन्धान गरी पुष्टि हुन बाँकी रहेको डा.पुन बताउनुहुन्छ ।

पछिल्लो समय कोभिडका बिरामी बढ्नुमा कोभिड खोप लगाएको भए पनि खोपले काम गर्ने अवधि सकिँदै जानु पनि हुन सक्ने स्वास्थ्य विज्ञहरूको ठम्याइ छ । कोभिडविरुद्धको खोपले ६ महिनासम्म राम्रै काम गर्ने भए पनि व्यक्तिमा हुने रोगसँग लड्ने क्षमता विकास भए नभएको परीक्षण नभएको अवस्थामा खोपले कति काम गरेको छ र व्यक्तिको क्षमताले कति धानेको छ भन्ने यकिन गर्ने आधार नभएको चिकित्सकहरूको ठम्याइ छ ।

शुरूमा कोरोना भाइरसका अल्फा र डेल्टाजस्ता प्रमुख भेरियन्टले संक्रमणको लहर फैलाएका थिए । नेपालमा परीक्षण नै कम भएका कारण के कति व्यक्ति कतिपटक संक्रमित भए र अहिले कति संक्रमित अवस्थामा छन् भन्ने यकिन तथ्यांक नभएको विज्ञहरू बताउँछन् । जुन तथ्यांक स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्छ त्यो संख्या भनेको निकै गम्भीर अवस्थाका बिरामी, शल्यक्रिया गर्नुपर्ने अवस्थाको बिरामी तथा अनिवार्य कोभिड परीक्षण स्वरोजगार तथा विदेश भ्रमणमा जानेले गरेको परीक्षणले गर्दा भएको स्वास्थ्य विज्ञहरूको ठम्याइ छ ।

विज्ञका अनुसार ओमिक्रोनको अन्य भेरियन्टको संक्रमण भएका मानिसहरूमा पनि पुनः बीए फोर र बीए फाइभ उपप्रजातिको ओमिक्रोन संक्रमण पुष्टि भएको छ । जहिले पनि ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगी, गर्भवती, सुत्केरी महिलामा समस्या बढी हुने भएकाले नयाँ उपप्रजातिको पनि यस्तै व्यक्तिमा बढी जोखिम हुने डा. पुन बताउनुहुन्छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले अहिले देखिएको संक्रमण ओमिक्रोन भेरियन्टको पुरानै प्रजाति हो वा होइन भन्नेबारे अनुवांशिक (जिन सिक्वेन्सिङ) भइरहेको जनाएको छ । जिन सिक्वेन्सिङको रिपोर्ट सोमबार मात्र स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्ने जनाएको छ ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब