बुर्किना फासाे । पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोमा सैनिक विद्रोहको प्रयास जारी रहेको स्थानीय सञ्चार माध्यमले बताएका छन् ।
राष्ट्रपति भवन नजिक गोली चलेको आवाज आइरहेको छ भने राष्ट्रिय सभा, राष्ट्रिय प्रसारणकर्ता तथा प्रधानमन्त्रीको निवासस्थान लगायत अन्य महत्वपूर्ण सरकारी भवन जाने सडकहरूमा सेनाले आफ्ना सवारी साधनहरू तेर्साएर अवरोध सिर्जना गरेको छ ।
गत जनवरीमा मात्रै हालका राष्ट्राध्यक्ष लेफ्टिनेन्ट कर्णेल पाउल–हेनरी दामिम्वाले सैनिक विद्रोहमार्फत तत्कालीन राष्ट्रपति रोच कावोरेलाई अपदस्थ गरेका थिए ।
इस्लामिक लडाकुहरूले मच्चाएको हत्याहिंसा नियन्त्रण गर्न असफल भएको आरोपमा प्रजातान्त्रिक ढंगले निर्वाचित राष्ट्रपति कावोरेलाई अपदस्थ गरिएको थियो ।
अहिले लेफ्टिनेन्ट कर्णेल दामिम्वाले त्यस्तै प्रकारको चुनौती भोग्दै छन् । मुलुकमा जारी रहेको असुरक्षाका लागि दामिम्वालाई दोष दिँदै बिहीबार पश्चिमी बोवो दिओउलास्सो सहरका सडकहरूमा सयौँ प्रदर्शनकारीले उनको राजीनामा माग गरेका थिए ।
प्रत्यक्षदर्शीहरूले बुर्किना फासोका सहरभरि भारी संख्यामा सेनाको उपस्थिति रहेको बताएका छन् । सम्पूर्ण विद्यालय बन्द रहेका छन् भने विकसित समाचारको पर्खाइमा स्थानीय बासिन्दा पनि घर भित्रै बसेका छन् ।
सन् २०१५ देखि बुर्किना फासोमा सरकारी निकायहरू लडाकु समूहहरूका आक्रमण रोक्न संघर्ष गर्दै आएका छन् ।
गत सोमबार मात्रै उत्तरी सोउम प्रान्तमा लडाकु समूहको आक्रमणमा ११ जना सैनिक मारिएका थिए । सो आक्रमण दौरान पचासजना सर्वसाधारण हराइरहेको बताइएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved