काठमाडौं । गुजरातको मोरबीमा रहेको एउटा भोलुंगे पुल भाँचिदा मृत्यु हुनेको संख्या १४१ पुगेको छ । १७७ जनाको उद्दार भएको छ । आइतबार छठको समयमा मानिसहरुको ठूलो समूह जम्मा भइरहेका बेला पुल भाँचिएको थियो । ब्रिटिशकालीन उक्त पुल पुनःनिर्माणको एक सातापछि भाँचिएको थियो ।
क्षमताभन्दा बढी मानिस रहेका कारण पुल भाँचिएको प्रारम्भिक अनुमान गरिएको छ । अहमदाबादबाट २०० किलोमिटर टाढा रहेको उक्त झोलुङ्गे पुल आइतबार साँझ पौने ७ बजे छठ पूजामा करिब ५०० मानिसहरु भेला भएका बेला भाँचिएको थियो ।
घटनामा १३७ जनाको मृत्यु भएको र १०० जना घाइते भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
समाचार अनुसार अझै ५० जना जति सम्पर्कमा छैनन् । सुरक्षाकर्मीहरुले खोज तथा उद्धारको काम जारी राखेका छन् । भारतीय वायु सेनाका जवानहरुलाई पनि घटनास्थलमा परिचालन गरिएको छ ।

गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले अस्पताल पुगेर घाइतेहरुसँग भेटघाट गरेका छन् । उनले समीक्षा बैठक बोलाएर घटनाको अनुसन्धानका लागि पाँच सदस्यीय समिति गठन गरेका छन् ।
राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
मोरबी पुल हालैमात्रै मर्मत गरिएको थियो । उक्त पुलमा चढ्नका लागि भारु १७ रुपैयाँ शुल्क लिइन्थ्यो । आइतबार साँझ उक्त पुलमा क्षमताभन्दा बढी मानिसहरु रहेकाले पुल चुडिएको अनुमान छ ।
मोरबी पुल वर्षौं पुरानो हो । केही वर्षयता बन्द रहेको उक्त पुल मर्मत गरेर दीपावलीको अवसर पारेर सर्वसाधारणका लागि खुला गरिएको थियो । उक्त पुल गुजरातको मोरबीलाई खास पहिचान दिलाउने उद्देश्यले आधुनिक युरोपियन प्रविधि प्रयोग गरेर बनाइएको थियो ।
मोरबी शहरको सरकारी वेबसाइटमा यो पुललाई ‘इन्जिनियरिङको चमत्कार’ लेखिएको छ । १.२५ मिटर चौडाइ र २३३ मिटर लम्बाइको यो पुलले दरबारगढ महल र लखधीरजी इन्जिनियरिङ कलेजलाई जोड्दथ्यो ।
उक्त पुलमा चढ्नका लागि वयस्कलाई भारु १७ र बालबालिकालाई भारु १२ शुल्क लिइन्थ्यो । आइतबार साँझ उक्त पुलमा क्षमताभन्दा बढी मानिसहरु रहेकाले पुल चुडिएको अनुमान छ । स्थानीयका अनुसार पुल चुडिने बेला त्यहाँ करिब ४०० जना मानिसहरु रहेको अनुमान छ । यद्यपि कति जनाले टिकट काटेका थिए भनेर तथ्यांक केलाउने काम पनि भइरहेको भारतीय मिडियाहरुले लेखेका छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved