आसिफको अर्धशतकप्रेरित नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

  • भदौ १८, २०८० | ३८३ पटक पढिएको | सीमा संदेश
alt

ओपनर आसिफ शेखको संयमित अर्धशतकप्रेरित नेपालले एसिया कप–२०२३ मा भारतविरुद्ध २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

व्यक्तिगत एक रनमा खेलिरहँदा क्याच हुनबाट बचेका आसिफले जीवनदानको सदुपयोग गर्दै अर्धशतक बनाएपछि टस हारेर ब्याटिङमा आएको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रनको योगफल खडा गर्‍यो ।

आसिफले ५८ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो १०औँ अर्धशतक हो । भारतका मोहम्मद सिराजले गरेको दोस्रो ओभरको पहिलो बलमा विराट कोहलीबाट एक रनमा खेलिरहेका आसिफको क्याच छुटेको थियो । कोहलीबाट पाएको जिवनदान सदुपयोग गरेका आसिफले ९७ बलमा आठ चौका प्रहार गरे ।

भारतविरुद्ध नेपालका ओपनरद्वय आसिफ र कुशल भुर्तेलले उत्कृष्ट सुरुआत दिलाएका थिए । यी दुईले ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै पहिलो पावर प्लेमा भारतीय बलिङलाई दबाबमा राखेका थिए । तर, ९.५ ओभरमा कुशल भुर्तेल आउट भएपछि नेपालले यो लयलाई अन्त्यसम्म कायम राख्न सकेन ।

भारतविरुद्ध आक्रामकरूपमा प्रस्तुत भएका कुशल भुर्तेलले २५ बलमा तीन चौका र दुई छक्कासहित ३८ रन बनाए । कुशल पनि इनिङको पहिलो ओभरको छैटौँ बलमा क्याच आउट हुनबाट बचेका थिए । मोहम्मद सामीले गरेको पहिलो ओभरको छैटौँ बलमा कुशल भुर्तेलको क्याच स्लिपमा श्रेयस ऐयरले छोडेका थिए ।

नेपाली टिमको खातामा दीपेन्द्रसिंह ऐरीले २९ रन थपे । १४४–६ को अवस्थामा नेपालको स्कोरबोर्ड रहँदा दीपेन्द्रले सोमपाल कामीसँग ५० रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलसम्म डोहोर्‍याएका थिए । सोमपाल कामीले ५६ बलमा एक चौका र दुई छक्कासहित ४८ रन थपे ।

गुल्सन झाले ३५ बलमा तीन चौकासहित २३ रन थपे । नेपालका अन्य ब्याटरको प्रदर्शन भने उल्लेखनीय रहेन ।

पाकिस्तानविरुद्ध गोल्डेन डक भएका कप्तान रोहित पौडेल भारतविरुद्ध पनि ब्याटिङमा चल्न सकेनन् । उनी पाँच रनमा पभेलियन फर्किए । आरिफ सेखको स्थानमा मौका पाएका भीमले पनि टिमको खातामा सात रनमात्र थपे । सन्दीप लामिछानेले नौ रन बनाए । कुशल मल्ल दुई रन र ललितनारायण राजवंशी शून्यमै आउट हुँदा करण केसी दुई रनमा अविजित रहे ।

भारतका रविन्द्र जडेजा र मोहम्मद सिराजले समान तीन विकेट लिए । हार्दिक पन्ड्या, शार्दूल ठाकुर र मोहम्मद सामीले समान एक विकेट लिए ।

एसिया कपमा यसै संस्करणबाट ‘डेब्यू’ गरेको नेपाली टिमले सन् १९८३ र २०११ को विश्वकप विजेतासमेत रहेको भारतविरुद्ध पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धाका लागि उत्रिएको हो ।

आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्दै एसिया कपको ‘सुपर फोर’मा स्थान बनाउने छ । सुपर फोरमा प्रवेशका लागि भारतमाथि आज जित्नैपर्ने दबाब छ ।

प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । भारत–पाकिस्तानबीचको पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो ।

सखुवानन्कारकट्टीमा कटुवा पेस्तोल बरामद, काठमाडौंमा

प्रहरीले सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–&nb ...

गोलबजारमा श्रद्धाञ्जली सभामा विवाद

सुनसरीको कप्तानगन्ज र सिराहाको गोलबजारमा प्रहरीको गोली ...

साउन २२ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २२ गते । शुक्रबार ...

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ८१.१९

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब