हेडमास्टरको खेतमा काम गर्न नमानेका कार्यालय सहयोगीले डेढ वर्षदेखि तलब पाएनन्

  • वैशाख १७, २०८२ | ३९८ पटक पढिएको | सीमा संदेश
alt

प्रधानाध्यापक (हेडमास्टर)को खेतमा काम गर्न नमान्दा एक कार्यालय सहयोगीले डेढ वर्षयता हाजिर गर्न पाएका छैनन् । तलब-भत्ता रोकिएको छ ।

सप्तरीको बलान बिहुल गाउँपालिका ४ स्थित जनता आधारभूत विद्यालय बेल्हीमा कार्यरत कार्यालय सहयोगी राधेश्याम पासवानलाई प्रअले कारबाही गरेका हुन् । पासवानले कार्यालय सहयोगीका रूपमा २३ वर्षअघि अस्थायी नियुक्ति पाएका थिए ।

पछिल्लो पटक सरुवा भएर आएका प्रअ बालेश्वर यादवको खेतमा काम गर्न नगएपछि हाजिर गर्नै रोक लगाइदिएको पासवानको भनाइ छ ।

‘उहाँकी पत्नीसँग गएर खेतमा ५० किलो मल छर्न प्रधानाध्यापकले भन्नुभयो तर मैले मानिनँ,’ पासवानले भने, ‘त्यसको दोस्रो दिनबाट हाजिर गर्नै दिनुभएन, पछि हाजिर गराइदिन गाउँपालिका पुगेर गुहार मागेँ तर त्यहाँ काज सरुवा भएको पत्र थमाइदिए ।’

२०८० मंसिर २६ गतेको पत्रअनुसार पासवानलाई सोही वडास्थित सलहेश दलित राष्ट्रिय आधारभूत विद्यालय बेल्हीमा काज सरुवा गरिएको छ । तर, त्यहाँ पहिलेदेखि नै कार्यालय सहयोगी रहेकाले उनलाई हाजिर गर्न दिइएन । ‘डेढ वर्षयता गाउँपालिका धाइरहेको छु, कतै हाजिर हुन नदिँदा अलपत्र परेको छु,’ उनले भने ।

२०५९ वैशाख ५ गतेमा अस्थायी नियुक्ती पाएका पासवानले डेढ वर्षदेखि तलब-भत्ता पनि पाएका छैनन् ।

पछिल्लो पटक २०८० भदौमा २० हजार ५ सय ३६ रुपैयाँ तलब पाएको उनले बताए ।

‘सुरुको तीन वर्षसम्म विद्यालयमा काम गर्दा तलब पाइनँ, पछि लामो समयसम्म एक सय रुपैयाँ मात्रै तलब पाउँदा पनि काम गरिरहेँ तर अहिले जागिर नै अलपत्र पर्दा दुःख लाग्छ,’ उनले भने, ‘जागिर अलपत्र हुँदा परिवार चलाउन समस्या भइररहेको छ । दलित गरिबको पीडामा कसैले ध्यान दिएनन् ।’

प्रअ यादव पदीय दायित्व पूरा नगर्दा पासवानलाई कारबाही गरेको जिकिर गर्छन् । तर, गाउँपालिकाका शिक्षा शाखा प्रमुख दिनेश मण्डलले भने प्रअ यादवकै बदमासी देखिएको बताए ।

‘पासवानलाई हाजिरै गर्न नदिएपछि तत्काललाई विवाद समाधान गर्न त्यो बेला काज सरुवा गरिएको थियो,’ उनले भने, ‘जबकि एक जना मात्र कार्यालय सहयोगी थिए, मैले रोक्न धेरै प्रयास गरेँ तर सकिनँ ।’

शिक्षा विकास तथा समन्वय इकाइ सप्तरीका सूचना अधिकारी कमलनाथ यादवले स्थानीय तहले बनाएको कार्यविधि वा मापदण्डअनुसार काज सरुवा गरेको हुन सक्ने बताए । तर, गाउँपालिकाले विद्यालयका शिक्षक तथा कर्मचारीको काज सरुवासम्बन्धी मापदण्ड बनाएको छैन ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव मण्डल एक जना मात्रै कार्यालय सहयोगी रहँदा पनि काज सरुवा गर्नु अव्यावहारिक रहेको बताउँछन् ।

‘काज सरुवा गरेको ठाउँमा पनि हाजिर गराउन नसक्नु गलत हुन गएको छ,’ उनले भने, ‘मैले पनि निमित्त पाएको तीन महिना मात्रै भएको छ । शिक्षा शाखा र जनप्रतिनिधिसँग छलफल गरेर अघि बढ्छु ।’

गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले पासवासलाई अर्को विद्यालयमा हाजिर गराउन प्रयास गरिरहेको बताए ।

‘अह्राएको कुरा नमान्दा पासवानलाई हाजिर गर्न रोक लगाएको विषय मेरो जानकारीमा आएको छ,’ उनले भने, ‘राष्ट्रिय प्राथमिक विद्यालय बेल्हीमा कार्यालय सहयोगी छैनन्, त्यहीँ उनलाई राख्न खोजिरहेका छौं तर वातावरण नबन्दा हाजिर गराउन सकिएको छैन ।’ 

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सिरहाबाट जुवातास खेलिरहेको अवस्थामा एक भारतीयसहित

जुवातास खेलिरहेको अवस्थामा जिल्ला सदरमुकाम सिराहास्थित ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब