‘टिकटक गर्ल’को हनी ट्रयापमा सरकारी कर्मचारी, काठमाडौंमा घर-जग्गा बार्गेनिङ

  • जेठ ९, २०८२ | १७७ पटक पढिएको | सीमा संदेश
alt

गत चैतमा अन्दाजी ५५/५६ वर्षका एक सरकारी कर्मचारीलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आउँछ । युवतीको सुन्दर तस्विर भएको ‘टिकटक गर्ल’ नामको उक्त रिक्वेस्ट ती कर्मचारीले केहीबेरमै एक्सेप्ट गर्छन् ।

फेसबुकमा साथी बनेको एक सातासम्म दुवैतर्फबाट कुनै हाई-हेल्लो केही हुँदैन ।  एक सातापछि ‘टिकटक गर्ल’बाट म्यासेज आउँछ- हाई । सरकारी कर्मचारीले तुरुन्तै जवाफ फर्काउँछन्- हेल्लो ।

हाई-हेल्लोबाट सुरु भएको उनीहरूको गफगाफ अन्तरंग कुराकानीसम्म पुग्छ । पहिला सामान्य परिचय गरेर म्यासेन्जर गफिन थालेका उनीहरू एकअर्कामा आकर्षित हुन्छन् ।

गफगाफ भएको एक हप्तापछि ‘टिकटक गर्ल’ले ठमेलमा भेटेर कफी पिउने प्रस्ताव राख्छिन् । युवतीबाट कफी पिउने प्रस्ताव आएपछि ती सरकारी कर्मचारीले सहमति जनाउँछन् ।

गफगाफ भएको एक सातापछि उनीहरूको ठमेलमा भेट हुन्छ । फेसबुकमा ‘टिकटक गर्ल’ नाम गरेकी युवतीको तर्फबाट दुई जना ठमेल आउँछन् । ती सरकारी कर्मचारी पनि ठमेल पुग्छन् । पहिलो भेटमा उनीहरू कफी खाएर छुट्टिन्छन् ।

यसको एक सातापछि फेरि ‘टिकटक गर्ल’बाट ठमेलमा खानपिन गर्ने प्रस्ताव आउँछ । यो प्रस्ताव ती कर्मचारीले स्वीकार्छन् र ठमेल पुग्छन् ।

यो मध्य वैशाखको घटना हो । ठमेलको एक रेष्टुरेन्टमा उनीहरूको खानपिन सुरु हुन्छ । तीनैजनाले मदिरा पिउँछन् । तर ‘टिकटक गर्ल’ बनेर आएका दुई युवतीले थोरै मात्र मदिरा पिउँछन् र सरकारी कर्मचारीलाई सर्भ गरिरहन्छन् ।

पिउँदापिउँदै सरकारी कर्मचारी अचेत भइसकेका हुन्छन् । पछि ब्युझिँदा उनले रेष्टुरेन्टको कोठामा आफूलाई मात्र पाउँछन् । नसाले छाड्न थालेपछि ती सरकारी कर्मचारी आफ्नो घर फर्कन्छन् ।

पूर्ववत रूपमा ती सरकारी कर्मचारी आफ्नो कार्यालय जाने-आउने गरिरहेकै थिए । तर ठमेलमा मदिरा सेवन गरेर अचेत भएको करिब १० दिनपछि अर्को नयाँ आईडीबाट फेसबुकमा रिक्वेस्ट आउँछ । ती सरकारी कर्मचारीले पहिलाकै जस्तो असेप्ट गर्छन् ।

साथी बनाए लगत्तै सरकारी कर्मचारीको म्यासेन्जरमा भिडिओ, फोटो सहितको म्यासेज आउँछ । त्यसपछि भने उनी १० दिनअघिको ठमेलको घटनामा पुग्छन् ।

ठमेलमा सँगै मदिरा पिएका युवतीसँगै अर्धनग्न अवस्थामा खिचेका फोटा, भिडिओ उनको म्यासेजमा आउँछ । काठमाडौंमा एउटा घर नदिए बलात्कार कसुरमा फसाउनेसम्मको ब्ल्याकमेलिङ पनि हुन्छ ।

‘काठमाडौंमा एउटा घर दिनू, नभए चार आना जग्गा । होइन भने मिडिया समेत लिएर प्रहरीमा जान्छु र बलात्कारमा केस हालेर फसाइदिन्छु,’ यस्तो प्रकृतिको म्यासेज ती सरकारी कर्मचारीलाई आउँछ ।

‘काठमाडौंमा एउटा घर दिनू, नभए चार आना जग्गा । होइन भने मिडिया समेत लिएर प्रहरीमा जान्छु र बलात्कारमा केस हालेर फसाइदिन्छु,’ यस्तो प्रकृतिको म्यासेज ती सरकारी कर्मचारीलाई आउँछ ।

म्यासेजमा घरजग्गा नदिए फसाउनेसम्मको ब्ल्याकमेलिङ गर्दै भिडिओ, फोटा आइरहेकै बेला कर्मचारीको सम्पर्कमा दुई पुरुष पनि पुग्छन् । एक जनाले भने मेरो आफन्त दिदी-बहिनीलाई यस्तोसम्म गर्ने भन्दै धम्क्याउँछन् भने अर्का पुरुषले म मिलाउँछु भन्दै फकाएजस्तो गर्छन् ।

एउटाले धम्क्याउने र अर्काले केही रकममा भए पनि केस मिलाउँ नत्र गाह्रो हुन्छ भन्दै फकाउँछन् ।

फोटा, भिडिओ सार्वजनिक गरेर बेइज्जत गर्नेदेखि बलात्कारको कसुरमा मुद्दा हालेर फसाउनेसम्मको ब्ल्याकमेलिङ भएपछि ती सरकारी कर्मचारी पनि आजित हुन्छन् । र, केही सिप नलागेपछि उनी हिजो (बुधबार) मात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको सम्पर्कमा पुग्छन् ।

माथिको सम्पूर्ण घटना बताएपछि प्रहरीकै योजनाअनुसार ती सरकारी कर्मचारीले ‘टिकटक गर्ल’लाई सुरुमा ५ लाख दिने र बाँकी रकम पछि दिँदै जाने गरी कुरा गर्छन् । र, उनीहरुबीच सहमति पनि हुन्छ ।

अनि ती सरकारी कर्मचारीले आफ्नो कार्यालयबाट नजिकैको ठाउँ हनुमानस्थानमा ५ लाख रुपैयाँको चेक दिन ‘टिकटक गर्ल’लाई बोलाउँछन् । सरकारी कर्मचारीले आफ्नो नामको प्राइम कर्मसियल बैंकको ५ लाखको चेक ‘टिकटक गर्ल’लाई दिन्छन् । त्यही बेला दुई ‘टिकटक गर्ल’लाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गर्छ ।

पक्राउ पर्नेहरूमा कैलालीको गोदावरी नगरपालिका–१० दमौरा घर भई काठमाडौं महानगरपालिका–५ कालोपुल बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुरको भक्तपुर नगरपालिका–१७ सल्लाघारी घर भइ काठमाडौं हाँडिगाउँ बस्ने ३४ वर्षकै आँचल श्रेष्ठ भनिने आँचल चौगुठी छन् ।

उनीहरूले आपराधिक लाभ लिने उद्देश्यले ‘टिकटक गर्ल’ नाममा फेसबुक बनाएर युवाहरूलाई हनी ट्रयापमा पारेर रकम असुल्ने उद्देश्य बनाएको खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

प्रहरीले आँचलको नामको ५ लाखको चेक उनीबाट बरामद गरेको छ भने दुई थान मोबाइल पनि नियन्त्रणमा लिएको छ । हनी ट्रयापमा पारेर रकम असुल्ने उद्देश्यले नै उनीहरूले ती सरकारी कर्मचारीलाई साथी बनाएको र ठमेलमा मदिरा सेवन गरेर अचेत बनाएपछि आफूहरू सँगै सुतेको जस्तो देखाउने गरी अर्धनग्न फोटा खिच्ने र भिडिओ बनाएको खुलेको एक अनुसन्धान अधिकृत बनाउँछन् । अर्धनग्न फोटा र भिडिओ खिचेपछि ती सरकारी कर्मचारीलाई त्यही छाडेर उनीहरू आफ्नो गन्तव्यतर्फ लागेका थिए ।

त्यसपछि दुई पुरुष समेतको सहयोगमा धम्क्याउने र थर्काउने गरी रकम असुल्ने उनीहरूको नियत देखिएको एसपी आचार्य बताउँछन् । यो आपराधिक लाभको कसुरमा संलग्न रहेको आरोपमा लागेका दुई पुरुषको पहिचान भइसकेको प्रहरीले बताएको छ । तर अहिलेसम्म उनीहरू भने पक्राउ परेका छन् ।

पक्राउ परेकामध्ये आँचल विवाहित र सम्बन्धविच्छेद गरेर बसेकी महिला हुन् । उनीहरूको केही पेसा खुलिनसकेकाले यस्तै शैलीमा ठगी गरेको हुनसक्ने कोही पीडित भए सम्पर्कमा आउन प्रहरीले आग्रह समेत गरेको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ ।

नेसपा नयाँशक्तिले सीके, रवि, रेशम र बालेनसँग मिलेर

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाज ...

हिन्दुको नाममा नाबालिकालाई ओसारपसार

हिन्दु बनेर काठमाण्डुकी एक नाबालिकालाई ललाई फकाई भारतको ...

प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो

 नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी जवान प ...

असार ६ गते शुक्रबार ,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८२ साल आषाढ ६ गते । शुक्रबार । ईश्वी सन् २०२५ ज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब