सप्तरीमा हुलाकी राजमार्गअन्तर्गत बोदे बरसाइन नगरपालिका–५ स्थित भएको दुर्घटनामा परेर घाइते भएका १५ वर्षीय राजेशकुमार यादव उपचार खर्च तिर्न नसक्दा अस्पतालबाट डिस्चार्ज हुन पाएनन् ।
गत माघ १ गते मंगलबार बिहान जनकपुरधामतर्फ गइरहेको स १ झ ४८१ नम्बरको राजविराज नगरपालिकाको स्कर्पियोले को ३० प २७३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी घाइते हुन पुगेका थिए । दुर्घटनामा उनीसँगै अर्का २१ वर्षीय अजितकुमार यादव पनि घाइते भएका थिए । उनलाई सामान्य चोट लागेकाले उपचारपछि दुर्घटनाको केही दिनमै उनी घर फर्किए । तर गम्भीर घाइते राजेश थप उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना गरिएका थिए ।
अहिले उनी निको भइसक्दा पनि अस्पताल र फार्मेसीको बिल तिर्न नसक्दा घर फर्किन पाएका छैनन् । न्यायका लागि गुहार मागिरहेका पीडित परिवार र उनका आफन्तले आइतबार नगरपालिका कार्यालयको कामकाज ठप्प पारे । आइतबार कार्यालय खुल्नुअघि नै मूल गेटमा अनशन बस्दा कर्मचारीहरु कार्यालयमा पस्न पाएनन् ।
पीडित परिवार र उनका आफन्तले अनशनस्थलमै खाना पकाएर खाएका छन् भने उपचार खर्च नपाएसम्म अनशन जारी राख्ने अडान लिएका छन् । आइतबार बेलुका अनशनस्थलमा आएकी कार्यवाहक मेयर इसरत प्रविनले अनशन स्थगित गर्न आग्रह गर्दै अस्पताल र फार्मेसीको बिल तिरेर राजेशलाई डिस्चार्ज गराउन प्रयास गर्ने प्रतिबद्धता जनाइन् ।
यद्यपि पीडित परिवार भने राजेशलाई डिस्चार्ज नभएसम्म अनशन जारी नै राख्ने अडानमा छन् । सो नगरपालिका कार्यालयको मूल गेटमा आइतबार उपचार खर्चको माग गर्दै अनशनमा बसेका पीडित परिवार र उनका आफन्त राजेशको ३८ दिनसम्म आईसीयूमा राखेर उपचार हुँदा अस्पताल र फार्मेसीको बिल जोडेर २७ लाख रुपैयाँ भइसकेको बुवा रघुनाथ यादवले बताए ।
पत्नी शान्तिदेवीलाई छोराको रेखदेखमा राखेर रघुनाथ उपचार खर्च माग्न नगरपालिका कार्यालय धाउन थाले । पटकपटक कार्यवाहक मेयर इसरत परवीणलाई भेट गर्दा उनले २ लाख रुपैयाँ पाए पनि बाँकी रकम तिर्न आनाकानी गर्दै आएको रघुनाथले दुखेसो पोखे । अस्पतालका एक कर्मचारीले १ सय ३० दिनदेखि अस्पतालमा रहेका राजेश ‘रिकभर’ भइसकेको उनले बताए ।
Copyright © 2020 / 2025 - Seema Sandesh Daily.com All rights reserved