नेतृत्व नछाड्ने ओलीको स्पष्ट सन्देश

  • असोज ७, २०८२ | १,०६४ पटक पढिएको | सीमा संदेश
alt

जेन–जी आन्दोलनपछि पार्टी पुनर्गठनका लागि आन्तरिक दबाब बढ्दै गए पनि एमाले अध्यक्ष केपी ओलीले पद नछाड्ने स्पष्ट सन्देश नेताहरूलाई दिएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरूसँगको छलफलमा उनले नागरिकको हकमा चुनाव र पार्टी नेता/कार्यकर्ताको हकमा पार्टी महाधिवेशनमा परीक्षा दिने बताएका छन् ।

आन्दोलन उग्र बन्दै गएपछि गत २४ भदौमा प्रधानमन्त्रीबाट राजीनामा दिएर सेनाको शिवपुरी ब्यारेकमा १० दिनसम्म सुरक्षित बसेका अध्यक्ष ओली बिहीबार बाहिर आएका थिए । अहिले एमाले नेता महेश बस्नेतले भक्तपुरको गुन्डुमा व्यवस्थापन गरेको भाडाको घरमा बसिरहेका छन् । त्यहीँ उनले प्राथमिकताअनुसार नेता/कार्यकर्तासँग छुट्टाछुट्टै र सामूहिक भेट गरिरहेका छन् । आइतबार साँझ वरिष्ठ उपाध्यक्ष पोखरेलले ओलीसँग छलफल गरेका थिए । 

स्रोतका अनुसार अध्यक्ष ओलीले आफ्नै नेतृत्वमा पार्टीलाई चुनावमा लैजाने स्पष्ट सन्देश पोखरेललाई दिएका छन् । ‘अहिले पार्टीको नेतृत्व छाड्दा देशलाई निकै ठुलो असर पर्छ,’ स्रोतका अनुसार पोखरेललाई अध्यक्ष ओली भनेका थिए, ‘मैले अहिले पार्टीलाई यस्तो हालतमा छाड्न पनि मिल्दैन, तपाईंहरूले छाड भन्न पनि मिल्दैन ।’ दुई नेताबिच जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिदेखि सन्चो–बिसन्चोसम्मका विषयमा छलफल भएको थियो । ओली ज्यान जोगाउँदै सैनिक ब्यारेकमा गएपछि उनीहरूबिच पहिलो प्रत्यक्ष भेट भएको थियो । 

छलफलमा वरिष्ठ उपाध्यक्ष पोखरेलले भूमिका बाँध्दै अध्यक्ष ओलीसँग ‘नेतृत्व छाड्दा राम्रो हुन्छ’ भन्ने संकेत मात्रै गरेका थिए, प्रस्ट भनेका थिएनन् । ‘परिस्थिति राम्रो छैन, पार्टीलाई यत्तिकै अगाडि लैजाँदा राम्रो नहुन सक्छ,’ स्रोतका अनुसार पोखरेलको भनाइ थियो । तर, उनीभन्दा ओली खरो र प्रस्ट रूपमा प्रस्तुत भए । 

तर, अध्यक्ष ओलीले नेतृत्व नछाड्ने, बरु पार्टी महाधिवेशन र निर्वाचनमा जनतासँग फेस गर्ने भन्दै पोखरेललाई उल्टै चुनौती दिएको स्रोत बताउँछ । ‘चुनाव मेरै नेतृत्वमा लड्ने हो, पपुलर छु कि छैन चुनावबाट पुष्टि हुन्छ,’ पोखरेलले आफूनिकट नेतालाई सुनाएअनुसार ओलीको भनाइ थियो, ‘पार्टीभित्र पनि परीक्षा दिन्छु, महाधिवेशन फेस गर्छु ।’ ओलीको जवाफपछि पोखरेल धेरै बोल्न नसकेको स्रोत बताउँछ ।

आफूलाई सत्ताच्युत गर्न देशी–विदेशी ठुलो षड्यन्त्र रहेको अध्यक्ष ओलीको दाबी थियो । ‘यो सबै हुनुमा धेरै फ्याक्टरले काम गरेको छ, निर्वाचनमा सबै भण्डाफोर पनि गर्नु छ,’ स्रोतका अनुसार उनको भनाइ थियो । आफ्नै नेतृत्वमा पार्टीलाई निर्वाचनमा लैजाने ओलीको प्रस्ट सन्देश थियो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्षसँगको भेटघाट नियमित र स्वाभाविक रहेको बताए । पछिल्लो अवस्थाबारे छलफल गर्न पार्टी बैठक बोलाउन आफूले सुझाव दिएको उनको भनाइ छ । ‘अध्यक्षसँग वरिष्ठ उपाध्यक्षको सरसल्लाह भयो । यो नियमित प्रक्रिया हो । पछिल्लो अवस्थाबारे छलफल पनि भयो,’ पोखरेलले भने, ‘मैले बैठक बोलाएर अगाडि बढ्नुपर्छ भन्ने कुरा गरेको छु । अध्यक्षले पनि ‘बैठक गरेर जाने हो’ भन्नुभएको छ । बैठकको मिति भने तय भएको छैन । बैठकमा हामी समग्र विषयको समीक्षा गर्छौँ । बैठकको निर्णयअनुसार पार्टी अगाडि बढ्छ ।’

पार्टीभित्रको अन्तरसंघर्ष र ध्रुवीकरणका कारण अध्यक्ष ओली उपाध्यक्ष पोखरेलसँग पनि असन्तुष्ट छन् । पोखरेल पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सक्रिय राजनीतिमा ल्याएर नेतृत्वमा स्थापित गर्नुपर्ने पक्षमा छन् । तर, ओलीले बहुमतको बलमा पार्टीबाटै निर्णय गराएर भण्डारीको बाटो छेकिसकेका छन् । बरु, ७० वर्षे उमेरहदको व्यवस्था विधान अधिवेशनबाट हटाएर तेस्रोपटक पनि अध्यक्ष बन्ने आफ्नो बाटो खुला गरेका छन् । 

अध्यक्ष ओलीले तत्काल पार्टी बैठक पनि नबोलाउने रणनीति बनाएका छन् । स्थिति केही साम्य भएपछि मात्रै बैठक डाक्ने, बरु त्यतिन्जेल पार्टी पदाधिकारीदेखि जिल्ला तहका नेताहरूसम्मलाई भेट्ने उनको योजना छ । पार्टीभित्रको असन्तोषलाई भेटघाटबाट मत्थर पार्ने प्रयास भइरहेको स्रोतको भनाइ छ । 

यही क्रममा उनले वरिष्ठ उपाध्यक्षसहितका अधिकांश पदाधिकारीहरूसँग छलफल गरिरहेको स्रोतको भनाइ छ । आइतबार मात्रै उनले काठमाडौं जिल्ला कमिटीको टोलीसँग पनि संवाद गरेका छन् । प्रायसँग उनले पछिल्लो अवस्था आउनुमा देशभित्रको मात्रै नभएर बाहिरी ‘फ्याक्टर’को धेरै भूमिका रहेको बताउने गरेका छन् । भेटघाट गरेका एक नेताका अनुसार विभिन्न भूमिका बाँध्दै ओलीले पार्टीभित्र तत्काल आफ्नो विकल्प नरहेको पनि सुनाउने गरेका छन् । 

आइतबार ओलीसँग भेट गरेकी सचिव पद्मा अर्यालले पनि त्यस्तै संकेत गरिन् । ‘अध्यक्ष अहिले रेस्टमै हुनुहुन्छ । हामीले सबैभन्दा पहिला त विकसित घटनाको समीक्षा गर्नुपर्नेछ । त्यसपछि कसरी अगाडि बढ्ने भन्ने रणनीति तय हुन्छ । अहिले नेतृत्व के गर्ने भन्ने भन्दा पनि घटनाको वस्तुनिष्ठ समीक्षा गरेर जानुपर्छ,’ उनले अध्यक्ष ओलीसँगको छलफलबारे सुनाइन्, ‘मैले अध्यक्षसँग हिजो (आइतबार) एकछिन कुरा गरेँ । उहाँले ‘म रेस्टमै छु, साथीहरूसँग पनि कुरा गरिरहेको छु, त्यसपछि बैठक बस्छ । पछिल्लो घटना हुनुका पछाडि धेरै फ्याक्टर छन्, ती सबैबारे बैठकमा सविस्तार बताउँछु’ भन्नुभएको छ ।’

केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले भने ओलीकै नेतृत्वमा आगामी निर्वाचनमा जाँदा पार्टी नै सकिने बताइन् । ‘राजनीतिक रूपमा हामी यति कमजोर भएछौँ, यति ‘इन्डिपेन्डेट’जस्तो बनाइएको रहेछ । हामी राजनीतिक रूपमा बोल्न छाड्यौँ । पार्टी यस्तो ठाउँमा पुगिसक्यो कि अब पनि नबोल्ने हो भने एमाले उठ्नै गाह्रो हुनेछ,’ उनले भनिन्, ‘यही नेतृत्वलाई बोकेर जाने हो भने अब कसरी सफल भइन्छ भन्ने होइन, कसरी असफल भन्नेमा पुगिन्छ । फेरि ओलीलाई लिएर निर्वाचनमा त गइएला, तर फर्किएर आउने अवस्था छैन । अहिले अलिअलि बचेको पार्टी पनि सकिन्छ । ओलीले छाड्नु नै एमालेको हितमा हुन्छ । तत्काल बैठक बोलाएर यसबारे निर्णय लिनुपर्छ ।’

ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि जेन–जी पुस्ता आक्रोशित बनेको थियो । उनीहरूले सञ्जाल खोल्नुपर्ने, भ्रष्टाचार अन्त्य र सुशासनको माग गर्दै आन्दोलन गरेका थिए । २३ भदौको पहिलो दिनको आन्दोलनमा सरकारले अत्यधिक दमन दमन गर्दा १९ जनाको प्रहरीको गोलीबाट हत्या भएको थियो भने दर्जनौँ प्रदर्शनकारी घाइते भएका थिए । त्यसपछि आक्रोशित प्रदर्शनकारीले २४ भदौको आन्दोलनमा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायतका सरकारी संरचना, नेताहरूका घर र निजी व्यावसायिक प्रतिष्ठानहरूमा पनि आगजनी र तोडफोड गरेका थिए । आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या अहिलेसम्म ७४ पुगिसकेको छ ।

उत्पन्न परिस्थितिलाई देखाएर चारवटै सुरक्षा निकायका प्रमुखहरूले तत्कालीन प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । सत्तासाझेदार कांग्रेससहित केही मन्त्री र विपक्षी दलहरूले पनि ओलीको राजीनामा मागेका थिए । तर, उनी अन्तिमसम्म टसमस बनेका थिएनन् । बरु, सुरक्षा निकायका प्रमुखहरूलाई उल्टै ‘आफ्नो परिभाषित जिम्मेवारी पूरा गर्न’ निर्देशन दिएका थिए । प्रदर्शनकारीले बालुवाटार नै घेर्न थालेपछि बल्ल झस्किएका ओलीले त्यसपछि थप सैनिक सुरक्षाको माग प्रधानसेनापतिसँग गरेका थिए । तर, ‘मार्गप्रशस्त गरेपछि मात्रै रेस्क्यु हुने’ संकेत सेनाले दिएपछि मात्रै बाध्य भएर ओलीले राजीनामा दिएका थिए । उनले दिएको राजीनामा सेनामार्फत राष्ट्रपतिकहाँ पुगेको थियो । राजीनामा स्वीकृत भएपछि सेनाले पठाएको हेलिकोप्टर चढेर ओली पत्नी राधिका, स्वकीय सचिव र प्रमुख सल्लाहकार विष्णु रिमालसहित शिवपुरी पुगेका थिए ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब