झाडापखालाको उपचार नपाएर एकै परिवारका तीनको मृत्यु भएको गाउँमा हैजा पुष्टि

  • कार्तिक १८, २०८२ | ३८९ पटक पढिएको | सीमा संदेश
alt

झाडापखालाको उपचार नपाएर एकै परिवारका तीनजनाको मृत्यु भएको सप्तरीको छिन्नमस्ता गाउँपालिका– ५, लोखरमस्थित दलित बस्तीमा हैजा फैलिएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सप्तरी र पालिकाका स्वास्थ्यकर्मीको टोलीले नौजनाको पखालाको आरडिटी परीक्षण गर्दा चारमा हैजा पजिटिभ देखिएको हो । 

आरडिटी रिपोर्ट पजिटिभ देखिएकाहरूको दिसाको नमुना ल्याब परीक्षणका लागि मधेश प्रदेश प्रयोगशाला ल्याब जनकपुर पठाएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख डा. सतिश यादवले बताए । आरडिटीमा हैजा देखिएका सात र तीन वर्षका बालक तथा ३० र ६५ वर्षीया महिलाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । 

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिलीप साहले हैजा आशंका गरिएका बिरामीको इमर्जेन्सीमा उपचार भइरहेको बताए । हैजा संक्रमण देखिएका बिरामीको गजेन्द्रनारायण सिंह अस्पतालमै उपचार भइरहेको र थप व्यवस्थाबारे पालिकासँग समन्वय गरिरहेको यादवले बताए ।

१४० घरपरिवारको बसोबास रहेको मुसहर बस्तीका २१ जनामा झाडापखाला देखिएको पालिकाका स्वास्थ्य संयोजक दीपेन्द्र यादवले बताए । उनीहरूमध्ये धेरैको कोचाबखारी स्धवास्थ्यचौकी लोखरममा उपचार भइरहेको र केही घरमै रहेको उनले जानकारी दिए । ‘तत्कालका लागि प्रभावित क्षेत्रलाई आइसोलेट गरेका छौँ, त्यहाँ २४सै घण्टा स्वास्थ्यकर्मी खटाइएको छ,’ उनले भने । पालिकाका स्वास्थ्यकर्मीले जीवनजल, औषधि वितरण तथा जाँच गरिरहेका छन् ।’ 

मुसहर टोलमा ६ कात्तिकयता आठ दिनमा झाडापखालाबाट स्थानीय बुचन सदाका परिवारका तीनजनाको ज्यान गएको थियो । बुचनका बुबा ७० वर्षीय लक्ष्मण सदा, आठ वर्षीया छोरी राघिनी र चार वर्षीय छोरा सञ्जीवको मृत्यु भएको थियो । सञ्जीव र राघिनीलाई गजेन्द्रनारायण सिंह अस्पताल पुर्‍याए पनि चिकित्सकले उपचार हुन नसक्ने भन्दै अन्यत्र लैजान भनेका थिए । तर, आर्थिक अभावका कारण अन्यत्र लैजान नसक्दा उनीहरूको ज्यान गएको थियो । लक्ष्मणको भने घरमै ज्यान गएको थियो । सञ्जीवको ६ कात्तिक, लक्ष्मणको ११ कात्तिक र राघिनीको १४ कात्तिक राति मृत्यु भएको थियो । बुचनकी पत्नी पार्वती पनि झाडापखालाले थलिएकी छिन् । 

आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरमै थलिएका बिरामी अहिले पनि टोलभरि छन् । स्थानीय प्रमिलादेवी सदाकी पाँच वर्षीया छोरी सुगन्धी र देउरानी ३० वर्षीया निलमदेवी सदा पाँच दिनदेखि झाडापखालाले ग्रसित छन् । प्रमिलाका अनुसार उनीहरूलाई गाउँघरकै क्लिनिकबाट औषधि ल्याएर खुवाइएको छ । ‘अस्पतालमा बढी पैसा लाग्छ, त्यति पैसा कहाँबाट ल्याउने ? यहाँ गाउँमै जसोतसो केही रकम जम्मा गरेर औषधि ल्याएर दिइरहेका छौँ, डाक्टरले ठिक भइहाल्छ भनेका छन्,’ उनले भनिन् । स्वास्थ्यकर्मीले जीवनजल दिएका छन् । प्रमिलाका श्रीमान् र देवर सात महिनादेखि भारतको पञ्जाबमा काम गरिरहेका छन् । उनीहरूले पनि पैसा नपठाएकाले झन् समस्या भएको सदाले बताइन् । ‘ठेकेदारले पैसा दिएको छैन रे । म यहाँ अर्काको घरमा काम गरेर छाक टार्दै आएकी छु । यिनीहरूलाई लिएर अस्पताल लैजान पैसा छैन,’ उनले भनिन् ।

सोही बस्तीका ६५ वर्षीय अरहुलिया सदा पनि तीन दिनदेखि झाडापखालाबाट पीडित छन् । ‘गाउँकै डाक्टर (क्लिनिक)बाट केही औषधि ल्याएको छु, निको भएको छैन,’ उनले भने, ‘पैसा नभएर उपचार गराउन राजविराज गएको छैन ।’

हैजा फैलिँदै, स्वास्थ्यचौकीमा भने जीवनजलसमेत अभाव
गाउँमा हैजा फैलिएको छ, तर छिन्नमस्ता गाउँपालिकाका स्वास्थ्यचौकीमा औषधि अभाव छ । प्राथमिक उपचारका लागि आवश्यक औषधिसमेत पालिकाका अधिकांश स्वास्थ्यचौकीमा नरहेको स्वास्थ्यचौकीकै प्रमुखहरूले जानकारी दिए । झाडापखाला तथा ज्वरो आउँदा दिइने औषधि पर्याप्त मात्रामा छैन । जीवनजल, मेट्रोन, सिटामोलसमेत सकिएको उनीहरूले बताए । 

छिन्नमस्ता–४, ललापट्टी स्वास्थ्यचौकीका प्रमुख सुशील मण्डलले चार महिनाका लागि कम्तीमा एक हजार ट्याबलेट मेट्रोन हुनुपर्नेमा दुई प्याकेट मात्र रहेको बताए । ‘सामान्य औषधिकै अभाव छ, जसोतसो काम चलाइरहेका छौँ,’ उनले भने । 

टोलस्तरमा झाडापखाला फैलिए जीवनजल र मेट्रोन दिन सक्ने अवस्था नरहेको छिन्नमस्ता– १, बरही वीरपुर स्वास्थ्यचौकीकी प्रमुख सरिता झाले बताइन् । पालिकासँग औषधि माग गरे पनि प्राप्त हुन नसकेको उनको भनाइ छ ।

त्यस्तै, वडा नम्बर ३ को सखडा स्वास्थ्यचौकीमा दैनिक ४०–५० जना बिरामी चेकजाँच गराउन आउने गरे पनि मेट्रोनको अभाव छ । स्वास्थ्यचौकी प्रमुख श्रवण साहले मेट्रोनबाहेक औषधि भने पर्याप्त रहेको बताए । 

पालिकाका स्वास्थ्य संयोजक दीपेन्द्र यादवले लोखरम स्वास्थ्यचौकीमा जीवनजल पठाइएको र अन्यत्र पनि पठाइने बताए । चालू आर्थिक वर्षमा पालिकामा औषधि खरिद नभएकाले पोहोरकै खरिदबाट वितरण भइरहेको उनले बताए । 

सखुवानन्कारकट्टीमा कटुवा पेस्तोल बरामद, काठमाडौंमा

प्रहरीले सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–&nb ...

गोलबजारमा श्रद्धाञ्जली सभामा विवाद

सुनसरीको कप्तानगन्ज र सिराहाको गोलबजारमा प्रहरीको गोली ...

साउन २२ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २२ गते । शुक्रबार ...

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ८१.१९

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब