यौन हिंसाका ९२% अभियुक्त चिनजानकै यौन हिंसामा परेकामध्ये ६४ प्रतिशत बालिका

  • मंसिर १५, २०८२ | १६० पटक पढिएको | सीमा संदेश
alt

लगभग शतप्रतिशत नै यौनजन्य हिंसा चिनजानकै व्यक्तिबाट हुने गरेको डरलाग्दो नतिजा प्रहरी तथ्यांकले देखाएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा प्रहरीले यौनजन्य हिंसाका ९२ प्रतिशत अभियुक्त चिनजानकै रहेको आँकडा सार्वजनिक गरेको हो ।

 प्रहरीका अनुसार ०८१/८२ मा देशभर यौनजन्य हिंसाका तीन हजार १७८ मुद्दा दर्ता भएका थिए, जसमा तीन हजार २१२ महिला पीडित बनेका छन् । हिंसामा संलग्न तीन हजार ५११ अभियुक्त पक्राउ परेका थिए । उनीहरूमध्ये तीन हजार २३१ अर्थात् ९२.०२ प्रतिशत अभियुक्त चिनजानकै व्यक्ति रहेको प्रहरी अनुसन्धानमा खुलेको हो । 

नेपाल प्रहरीअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयकी एसपी बसुन्धरा खड्काले यौन हिंसासँग सम्बन्धित अधिकांश घटनाका अभियुक्त चिनजानकै व्यक्ति रहेको बताइन् । ‘गत आर्थिक वर्ष ०८१/८२ मा मुलुकभर यौनजन्य हिंसाका तीन हजार १७८ मुद्दा दर्ता भए । घटनामा तीन हजार ५११ अभियुक्त पक्राउ परे । जसमध्ये तीन हजार २३१ (९२.०२ प्रतिशत) अभियुक्त चिनजानकै रहेको देखिन्छ । यस्तो देखिनु समाजकै लागि दुःखद विषय हो ।’

प्रहरीले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार ०८१/८२ मा यौन हिंसामा संलग्न अभियुक्तमध्ये एक हजार ८७८ अभियुक्त सामान्य चिनजान, ९०१ छिमेकी, ४१९ पारिवारिक नाताका र ३३ शिक्षक छन् । बाँकी २८० मात्रै अपरिचित रहेको प्रहरी तथ्यांकमा उल्लेख छ । 

‘महिला तथा बालबालिकामाथि भएका हिंसाका तथ्यांकहरूले सबैलाई गम्भीरतापूर्वक सोच्न बाध्य बनाएको छ । यस्ता हिंसाले व्यक्ति, परिवार र समाजलाई समेत असर गर्ने भएकाले न्यूनीकरण गर्नका लागि सरोकारवाला सबै पक्षहरूको सामूहिक प्रयास आवश्यक छ,’ तथ्यपत्र सार्वजनिक गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भने, ‘लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान केवल एउटा अभियान वा अवधिमा सीमित नरही वर्षभरि उत्तिकै ऊर्जाका साथ सम्बन्धित सबै निकायहरूले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्छ ।’

तथ्यांक  विश्लेषणका क्रममा निर्देशनालयकी एसपी खड्काले भनिन्, ‘यौनजन्य हिंसामा संलग्न अभियुक्तमध्ये ४१९ पारिवारिक नाता–सम्बन्धकै छन् । यो कुल अभियुक्त संख्याको १३.१८ प्रतिशत हो ।’

यौन हिंसामा परेकामध्ये ६४ प्रतिशत बालिका 
०८१–८२ मा मुलुकभर दर्ता भएका यौन हिंसाका तीन हजार १७८ घटनामा तीन हजार २१२ महिला पीडित बनेका छन् । त्यसमध्ये सबैभन्दा धेरै पीडित हुने १८ वर्षभन्दा कम उमेर समूहका बालिका छन् । तथ्यांकअनुसार आव ०८१–८२ मा मुलुकभर यौनजन्य हिंसाबाट मात्रै १८ वर्षभन्दा कम उमेर समूहका दुई हजार ७१ बालिका पीडित बने ।

यो कुल पीडित संख्याको ६४.४७ प्रतिशत हो । त्यसमा पनि सबैभन्दा धेरै १० देखि १४ वर्ष उमेर समूहका बालिका पीडित भएको देखिन्छ । यो उमेर समूहका मात्रै यस अवधिमा ६९० बालिका पीडित बने । त्यस्तै, १५ देखि १६ वर्ष उमेर समूहका ६१६ र १७ देखि १८ वर्ष उमेर समूहका ४१४ बालिका यौन हिंसामा परेको प्रहरी तथ्यांक छ । १० वर्षमुनिका ३५१ बालिका र १९ वर्षमाथिका एक हजार १४१ बालिका यौन हिंसामा परेका छन् । 

घरमै सबैभन्दा असुरक्षित : पीडितमध्ये ७०% आवासीय क्षेत्रमै यौन हिंसाको सिकार
मानिसका लागि सबैभन्दा सुरक्षित ठाउँ आफ्नै घर हो । तर, सबैभन्दा धेरै महिला आवासमै यौन हिंसाको सिकार हुने गरेको तथ्यांकले देखाएको छ । मुलुकभर यौन हिंसाको सिकार हुने तीन हजार २१२ महिलामध्ये दुई हजार २५७ महिला आवासीय क्षेत्रमै यौन हिंसाका सिकार भएका छन् । यो कुल पीडित संख्याको ७०.२६ प्रतिशत हो ।

त्यस्तै, ५२८ महिला सार्वजनिक स्थानमा यौन हिंसाको सिकार भएका छन् भने २५६ जना एकान्त वा वनजंगल क्षेत्रमा यौन हिंसामा परेका छन् । ११९ होटेल तथा गेस्ट हाउसमा, २२ जना पेसागत स्थानमा, ९ जना सवारीसाधनमा, ३ जना अनलाइनमा र एकजना धार्मिकस्थलमा यौन हिंसाको सिकार भएका छन् । बाँकी १५ महिलाले भने यौन हिंसा भएको ठाउँ खुलाएका छैनन् ।  

तथ्यांकले सबैलाई गम्भीरतापूर्वक सोच्न बाध्य बनाएको छ
दानबहादुर कार्की, महानिरीक्षक

महिला तथा बालबालिकामाथि भएका हिंसाका तथ्यांकले सबैलाई गम्भीरतापूर्वक सोच्न बाध्य बनाएको छ । यस्ता हिंसाले व्यक्ति, परिवार र समाजलाई समेत असर गर्ने भएकाले न्यूनीकरण गर्न सरोकारवाला सबै पक्षको सामूहिक प्रयास आवश्यक छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान केवल एउटा अभियान वा अवधिमा सीमित नरही वर्षभरि उत्तिकै ऊर्जाका साथ सम्बन्धित सबै निकायहरूले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्छ । 

पालिकाको असक्षमता

जिल्ला सदरमुकाम सिरहाको मुख्य सडक चौडा गरिएको दुई वर्षभ ...

श्रद्धा कपुरको बिहे चर्चाले ततायो बलिउड

मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपुर यतिबेला आफ्न ...

हर्ष मेहेतासँगको अफेयरको चर्चा बारे के भन्छिन् मला

मुम्बई । बलिउड अभिनेत्री मलाइका अरोडाले पछिल्लो सम ...

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा न

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब