सिरहाको कर्जन्हा नगरपालिका–१ बल्टियाका गाउँकी सूर्यनाथ वैद्य (मुसहरू) दनुवारकी करिब १७ वर्षीया छोरी अविना दनुवार (काली) को हत्यामा संलग्नहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको माग गर्दै स्थानीयद्धारा प्रर्दशन गरेका छन् ।
पूर्व पश्चिम लोकमार्गअन्तर्गत कर्जन्हा–२ बन्दीपुर चोकमा बुधबार दिउँसो स्थानीयले करिब चार घण्टा सडक अबरूद्ध गरेका हुन् । बलात्कारपछि हत्या भएको आशंका गरिएको घटनामा प्रहरीले अहिलेसम्म दोषी पत्ता लगाउन नसकेको भन्दै उनीहरूले सडक अवरुद्ध गरेका हुन् । ‘तत्काल हत्यारा पक्राउ गरी कारबाही गर, अनुसन्धानको नाममा ढिलासुस्ती सहन्नौ’ लगायतका नारा लगाउँदै उनीहरूले गरेको सडक अवरोधमा सयौं सवारीसाधन रोकिएपछि जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्मा स्वयं पुगेर प्रहरी मुख्य अभियुक्तसम्म पुग्न लागेकाले त्यतिञ्जलेसम्म अवरोध नगर्न आग्रह गरेपछि सवारी आवागमन खुलेको हो ।
बन्दीपुरस्थित नेपाल राष्ट्रिय फूलकुमारी माविमा कक्षा ९ मा अध्ययनरत अविनाको शव सोमबार दिउँसो विद्यालयकै दक्षिणपट्टि कमला नहर छेउको झाडीमा फालिएको अवस्थामा भेटिएको थियो । शव भेटिए लगत्तै इलाका प्रहरी कार्यालय मिर्चैया र मधेश प्रदेश प्रहरी कार्यालयबाट कुकुरसहित आएको टोली घटनास्थल पुगेर आवश्यक कानुनी प्रकृया पूरा गरे धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवको पोष्टमार्टम भएको थियो । बालिकाको शब मंगलबार साँझ बल्टिया गाउँ ल्याएर कमला नदीको बगरमा दाहसंस्कार गरिएको छ ।
अनुसन्धान हुँदैछ : प्रहरी
जिल्ला प्रहरी कार्यालय सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले घटनास्थलमा भेटिएका सबुद प्रमाणलाई मुख्य आधार बनाएर सूक्ष्म अनुसन्धान गर्नुका साथै घटनामा संलग्न रहेको हुन सक्ने आशंकामा केही जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताए । ‘प्रहरीले घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गरिरहेकाले बाँकी कुरा मुख्य अभियुक्तसम्म पुगेपछि खुलाउँछौं,’ उनले भने, ‘पोष्टमार्टम रिपोर्ट पनि साता दस दिनमा प्राप्त भएपछि अनुसन्धानको दायरा थप फराकिलो हुनेछ ।’ सोधपुछका लागि नियन्त्रणमा लिनेहरूको नाम र संख्या भने उनले खुलाउन चाहेनन् ।
बालिकाको शव अर्थनग्न अवस्थामा भेटिएकाले बलात्कारपछि हत्या गरेर फालिएको हुन सक्ने स्थानीयको आशंका छ । ‘त्यसमा उनले चिनेजानेकै व्यक्तिको संलग्नता रहेको हुन सक्छ,’ एक स्थानीयले भने । मृतक बालिकाको शरीरका विभिन्न भागमा घाउचोट लागेको र शव भेटिएको भन्दा करिब ५० मिटर पर उनले लगाएको कपडा र जुत्ता समेत फेला परेकाले थियो ।
पीडित परिवारलाई आर्थिक सहयोग
दिवङ्गत भइसकेका सूर्यनाथकी कान्छी श्रीमती दयावती कुमरपट्टिकी काहिली छोरी अविना स्थानीय क्रिकेट खेलाडी समेत रहेको गाउँलेहरू बताउँछन् । बल्टियास्थित घरबाट आइतबार राती करिब साढे ८ बजेतिर आमालाई बन्दीपुरमा बनाउन दिएको मोबाइल लिन जान्छु भन्दै निस्किएकी उनको शव भोलिपल्ट दिउँसो भेटिएको थियो । पाँच दिदी बहिनीमध्ये तीन दिदीको विवाह भइसकेकाले बालिका कान्छी बहिनीसहित आमासँग बस्दै आएकी थिइन् ।
आर्थिक रूपले अत्यन्त विपन्न दनुवार परिवारमाथि आइपरेको आकस्मिक संकट टार्न जनप्रतिनिधि, स्थानीय गाउँले, समाजसेवीहरूले संकलन गरी तत्काल किरिया खर्चका लागि २५ हजार रूपैयाँ दिन लागिएको स्थानीय समेत रहेका कर्जन्हा–१ का वडाध्यक्ष फणिन्द्र प्रसाद पोखरेलले बताए । ‘त्यसबाहेक शव पोष्टमार्टमका लागि धरान लैजान र ल्याउन एम्बुलेन्स खर्चको व्यवस्थापन पालिकाले जिम्मा लिएको छ,’ नगर प्रमुख भोलाप्रसाद पोखरेलले भने, ‘विपन्न दनुवार परिवारमाथि परेको अप्ठ्यारोबाट निस्किन छिमेकी र जनप्र्रतिनिधिको नाताले सक्दो सहयोग गर्छौं ।’ बालिकाको किरिया सकिएपछि दनुवार परिवारका लागि खाली रहेको जग्गा व्यवस्थापन गरी पालिका र वडा कार्यालयले आवासको लागि पहल गरिने उनले बताए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved