नेपालमा पाँच सय रुपैयाँसम्मका भारतीय रुपैयाँका नोट प्रयोगको बाटो खुलेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २५ हजारको हद तोकेर दुई सय पाँच सय भारु नोट प्रयोग गर्न दिने निर्णय गरेको हो।
२०१६ को ९ नोभेम्बरपछि छापिएका दुई सय र पाँच सयका नोट प्रयोग गर्न पाइनेछ। सोही दिनदेखि भारतले विमुद्रीकरणको निर्णय गरेर पुराना नोटमा प्रतिबन्ध लगाएको थियो। त्यसयता नेपालमा एक सय भारुसम्मका नोट मात्र प्रचलनमा छन्। जसले गर्दा भारत जाने नेपाली तथा नेपाल आउने भारतीयले साना नोट मात्र बोक्नुपर्दा समस्या झेल्दै आएका थिए।
सोमबारको मन्त्रिपरिषद्को निर्णयबारे सञ्चारमन्त्री जगदीश खरेलले भने, ‘सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भारतीय रुपैयाँ २ सय र ५ सय नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजार रुपैयाँ सीमासम्म भारतबाट नेपाल ल्याउन र नेपालबाट भारत लैजान सक्ने व्यवस्था गरिएको छ।’
दुई साताअघि विदेशी मुद्रा सटही (मुद्राको आयात तथा निर्यात) विनियमावली, २०२५ संशोधनमार्फत भारतको केन्द्रीय बैंकले नेपाल र भुटानमा २५ हजार भारुसम्म ठुला दरका नोट ओसारपसार गर्न अनुमति दिने निर्णय गरेको थियो। सोहीअनुसार नेपाल सरकारले निर्णय गरेको हो।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved