मधेश प्रदेशमा एक्कासी रुपमा कठ् यांग्रिदो चिसो बढेपछि जनजीवन प्रभावित भएको छ ।
शुक्रबारको तुलनामा शनिबार हुस्सु केही कम भए पनि शीतलहर झरिरहेका कारण ठिहि¥याउने खालको चिसो महसुस भइरहेको छ । मधेश प्रदेशको धनुषासहित तराई–मधेशका जिल्लामा शुक्रबार दिनभर बाक्लो हुस्सु र शीतलहर चलेका कारण घाम नै लागेन । शनिबार पनि दिनभर घाम नलागे पनि केही समयका लागि घाम लागेको थियो ।
मधेश प्रदेशको मौसम धुम्मिएको अवस्थामा रहेको छ । पानी छिट्याए झैँ शीत झरिरहेकाले बाहिर हिड्डुल गर्नुपर्ने सर्वसाधारणको जनजीवन प्रभावित भएको छ । पछिल्ला दुई दिनदेखि बढ्दै गएको चिसोले विपन्न परिवारको जनजीवन थप गाह्रो हुन थालेको छ । न्यानो कपडा तथा राति ओढ्ने–ओछ्याउनेको अभावका कारण उनीहरू बढी प्रभावित भएका छन् ।
चिसोले सबैभन्दा बढी असर बालबालिका र ज्येष्ठ नागरिकमा परेको छ । बिहानदेखि बेलुकीसम्म बाक्लो हुस्सु लाग्ने, मौसम धुम्मिने र शीतलहर चल्ने क्रम बढ्दो छ । तापक्रम लगातार घट्दै जाँदा सर्वसाधारणको दैनिकी प्रभावित भएको छ । शीतलहरसंगै चिसो बढेपछि बालबालिका, ज्येष्ठ नगरिक, बिरामी, सुत्केरी तथा गर्भवती महिला बढी प्रभावित भएका छन् ।
चिसो छल्न स्थानीय पराल, भुस, दाउरा र गुइँठा बालेर आगो ताप्दै जाडो छल्न कोसिस गरिरहेका छन् । हरेक वर्ष शीतलहरका कारण गरीब तथा विपन्न समुदायका मानिसले ज्यानै गुमाउँदै आए पनि सम्बन्धित निकायले पर्याप्त ध्यान नदिएको स्थानीयको दुखेसो छ । चिसो बढेसंगै बालबालिका, ज्येष्ठ नागरिक, वृद्धवृद्धा तथा शारीरिक रूपमा अशक्त रहेका व्यक्तिहरू विरामी पर्न थालेको चिकित्सकहरू बताउँछन् ।
शीतलहर चलेका बेला अत्यावश्यक कामबाहेक अनावश्यक हिड्डुल नगर्न, न्यानो कपडा लगाउन, सावधानीपूर्वक आगो बालेर ताप्न, झोलिला तथा ताता खानेकुरा सेवन गर्न र शरीरमा चिसो नगढ्ने उपाय अपनाउन आवश्यक रहेको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved