सिरहा, १० पुस । लहान र धनगढी बजार बुधवार अनुगमन गरिएको छ । अनुगमनका क्रममा नियमविपरीत कारोबार गरिरहेका व्यापारीहरूलाई आर्थिक जरिवानासहित सचेत गराइएको छ।
पर्साको वीरगन्जस्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, इलाका प्रशासन कार्यालय लहान, घरेलु तथा साना उद्योग कार्यालय सिरहालगायतको संयुक्त टोलीले बुधबार धनगढी बजारको अनुगमनमा जरिवाना गरेको हो। अनुगमनका क्रममा म्याद गुज्रिएका उपभोग्य सामग्रीहरू नष्ट गरिनुका साथै व्यवसाय गर्न लिएको अनुमतिबाहेकका वस्तु बिक्री वितरण गर्ने पसलहरुलाई कारबाही गरिएको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजका अधिकृत सुनिल चौरासियाले जानकारी दिए।
संयुक्त टोलीले अनुगमनका क्रममा लहान– ६ स्थित प्रेम ट्रेडर्सलाई १० हजार रुपैयाँ जरिवाना गरेको र लहान– ६ को रमजान किराना स्टोर, विशाल किराना, खुश्वु किराना र राधा जनरल सप्लायर्सलाई जनही पाँच हजार रुपैयाँका दरले जरिवाना गरिएको जनाएको छ। त्यस क्रममा जय माँ किराना पसललाई भने सामान्य सचेतीकरण गरेर छोडिएको छ। अनुगमनका क्रममा कतिपय पसल संचालकहरूले सटर बन्द गरी असहयोग गरेको टोलीले जनाएको छ।
बजार अनुगमनका क्रममा म्याद गुज्रिएका सामान जफत गरी कानुनबमोजिम प्रकृया पुर्याएर नष्ट गरिनुका साथै नियमविपरीत व्यवसाय संचालन गर्ने पसलहरूलाई जरिवाना गरिएको उनले बताए। उनका अनुसार बुधबार धनगढीमाई बजार क्षेत्रका विभिन्न पसलहरुमध्ये तीन वटा कस्मेटिक पसल, दुई वटा किराना पसल, दुई वटा जुत्ता–चप्पल पसल तथा एउटा कपडा पसलमा अनुगमन गरिएको छ।
‘अनुगमनका क्रममा कुनै पनि पसललाई जरिवाना नगरी व्यापारीहरूलाई सचेत मात्र गरिएको छ,’ उनले भने, ‘व्यापारिक कारोबार सुधार गर्ने र उपभोक्ताहरुको हित संरक्षणका लागि गरिएको नियमित अनुगमन हो।’ आगामी दिनमा जिल्ला सदरमुकाम सिरहासहित अन्य बजार क्षेत्रमा पनि अनुगमनलाई निरन्तरता दिइने उनले बताए।
उद्योग वाणिज्य संघ बेखबर
लहान क्षेत्रको बजार अनुगमनमा आफूहरुलाई समयमै खबर नगरिएको जिल्ला उद्योग बाणिज्य संघ लहान सिरहाले जनाएको छ। लहान क्षेत्रको बजार अनुगमनका लागि मंगलबार अपरान्ह अबेर मात्र खबर आएकाले जान नसकिएको संघका अध्यक्ष विकास शारदाले बताए। ‘व्यापार व्यवसाय नियमसंगत ढंगले चलाइनुपर्छ भन्ने संघको पनि मुख्य जोड हो’ उनले भने ‘तर बेलैमा खवर नगरिएपछि जान सकिएन, जबकी यसअघि प्रायः संघसँगको समन्वयमा बजार अनुगमन हुन्थ्यो।’
धनगढीमाई नगर उद्योग व्यापार संघका अध्यक्ष सरोज कुमार महतोले व्यापारीहरू डराएर अनुगमनलाई असहयोग गर्नुपर्ने कुनै कारण नरहेको बताए। ‘व्यापार व्यवसाय दर्तासहित नवीकरण अद्यावधिक गरेर नियमानुसार संचालन गर्नुपर्छ’ उनले भने ‘त्यसमा केही त्रुटी कमजोरी भेटिए सुधार्ने अवसर समेत हुने भएकाले नियमनकारी निकायलाई सबै व्यापारी व्यवसायीले सहयोग गर्नुपर्छ।’
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved