सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदी पुलको पुनःनिर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ । लामो समयदेखि अलपत्र अवस्थामा रहेको पुललाई असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित संरचनात्मक र फिनिसिङसम्बन्धी काम तीव्रगतिमा भइरहेको जनाइएको छ ।
लुम्बिनी बिल्र्डसका साईट इन्चार्ज सुदिप थापाले अहिले दैनिक ४० देखि ५० जना कामदारहरुको टोलीले पुल मर्मत र संरचना निर्माणका लागि खटाइएको छ । पप्पु लुम्बिनी जेभीले पुल निर्माण गर्ने ठेक्का पाएपनि पप्पु कन्सट्रक्सनलाई सरकारले कालो सूचिमा राखेकोले अब लुम्बिनी बिल्डर्सले एक्लै सो बाँकी निर्माण तथा ममर्तका कार्यहरु गरिरहेको साईट इन्चार्ज थापाले बताए । उनले अहिले ४० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी रहेको ६० प्रतिशत काम पनि निर्धारित समय भित्रै सम्पन्न हुनेमा कुनै शंका नरहेको बताउंदै असार मसान्तभित्रै उक्त पुलबाट आवतजावत सुरु हुने दाबी गरेका छन् ।
हुलाकी राजमार्ग अन्तर्गत पर्ने यो पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले विगतमा पटक–पटक समयसीमा उल्लंघन गर्दा पुल १४ वर्षसम्म अधुरो रहँदै आएको थियो । पुल निर्माण समयमै सम्पन्न नहुँदा सिरहा र धनुषाका स्थानीय बासिन्दा जोखिमपूर्ण बाटो प्रयोग गर्न बाध्य थिए । राजमार्ग हुँदै घुमेर जाँदा करीब ६० किलोमिटर बढी घुमेर जानु पर्ने बाध्ता यो पुल निर्माणपछि हट्ने स्थानीयहरुको भनाई । पछिल्लो समय सरकार र सडक विभागको दबाबपछि पुनःनिर्माण कार्यलाई तीव्रता दिइएको हो ।
सरकारका उच्च अधिकारी तथा भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधिले समेत पुलको स्थलगत निरीक्षण गर्दै निर्माण कार्यमा ढिलाइ हुन नदिन निर्देशन दिएका थिए । उनीहरूले कमला पुल क्षेत्रीय आवागमनका लागि मात्र नभई मधेश प्रदेशको आर्थिक र सामाजिक विकासका लागि पनि अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् ।
पुल सञ्चालनमा आएपछि सिरहा, धनुषा, सप्तरी लगायतका जिल्लाबीचको आवागमन सहज हुने, व्यापार–व्यवसाय प्रवद्र्धन हुने तथा स्थानीय बासिन्दाले लामो समयदेखि भोग्दै आएको सास्ती अन्त्य हुने अपेक्षा गरिएको छ । २०७८ असार १७ मा कमला नदीमा आएको बाढीले पुलको दुईवटा जग भासिएर ४ वटा स्लावमा क्षति पुगेको थियो । क्षति पुगेका स्लावमध्ये सिराहातर्फ (पूर्व)को २ वटा स्लाव हटाइएको छ भने धनुषा (पश्चिम) पट्टिको २ वटा स्लाव हटाउन नपर्ने प्राविधिक अध्ययनबाट देखिएको छ ।
पुलको पूर्वतर्फ (सिराहा)को सबस्टक्चर काम सकिएको छ । सिराहातर्फका २ वटा स्लाव हटाई एउटा जग भासिएकोमा उक्त स्थानमा दुइवटा जग राखी जगसहित सब स्ट्रक्चरको का सकिएको छ । अब प्लेट गडर राख्न बाँकी रहेको छ । उक्त प्लेट गडर बनाउने काम चितवनमा भइरहेको छ । गडर तयार भएपछि पुलमा लगेर जडान गरिने छ ।
तराई/मधेशको लाइफ लाइनका रूपमा रहेको हुलाकी राजमार्गमा पर्ने कमला पुल निर्माणका लागि २०६८ को जेठमा २४ करोड ९१ लाख (भ्याटसहित)मा पप्पु लुम्बिनी जेभीसँग ठेक्कासम्झौता भएको थियो । सुरुको सम्झौता बमोजिम पुल निर्माण २०७१ को मंसिरमा सम्पन्न हुनुपर्ने थियो । तोकिएको समयमा पुल निर्माण हुन नसकेपछि सातौं पटक थपिएको ठेक्का सम्झौताको म्याद गत असारमा सकिएको थियो ।
निर्माण व्यवसायीबाट आगामी असारसम्मका लागि म्याद थपका लागि आग्रह गर्दा म्याद थप भएको बुझिएको छ । हालसम्म २० करोड ४३ लाख (भ्याट) सहित भुक्तानी भइसकेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved