भ्रष्टाचार मुद्दामा जेलमा रहेका नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीले आफूमाथिको छानबिन प्रभावित पार्न अन्डरवर्ल्ड समूहमार्फत धम्कीदेखि तान्त्रिक बाबासम्म प्रयोग गरेका छन् । उच्चपदस्थ व्यक्तिलाई विदेशबाट धम्क्याएको आरोपमा पक्राउ परेका प्रकाश पाठकमाथिको अनुसन्धानपछि अधिकारीका कर्तुत बाहिर आएका छन् ।
पाठकमाथि हाल जिल्ला प्रहरी परिसर, काठमाडौंले संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ । उनले फिलिपिन्सबाट अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईसहितका पदाधिकारी र अन्य केही उच्चपदस्थलाई धम्क्याएका थिए । अनुसन्धानका क्रममा पाठकलाई अधिकारीले नै सो काममा लगाएको र यसमा धेरैको संलग्नता देखिएको प्रहरीले जनाएको छ । त्यसरी धम्क्याएका वेला अधिकारीविरुद्ध अख्तियारले अनुसन्धान अन्तिम चरणमा पुर्याएको थियो । आफ्नो मुद्दा रोक्न शक्तिकेन्द्रबाट दबाब दिनेदेखि धम्क्याउनेसम्मको काम गरेका थिए ।
पाठकलाई गत २८ माघमा प्रहरीले इन्टरपोलको सहयोगमा फिलिपिन्सबाट पक्राउ गरेर ल्याएको हो । उनको बयान र मोबाइल परीक्षणमार्फत यसमा धेरैको संलग्नता भेटिएको काठमाडौं परिसरका एक अधिकारीले बताए । पाठकले अल्टिमेटम नै दिएर प्रमुख आयुक्त राईलाई राजीनामा नदिए हत्या गर्नेसम्मको धम्की दिएका थिए । धम्कीका लागि पूर्वमहानिर्देशक अधिकारीले पाठकलाई १० करोड रुपैयाँ दिने डिल गरेका थिए ।
‘त्यसमध्ये दुई करोड रुपैयाँ उनले एक चिनियाँ व्यापारीमार्फत हुन्डीबाट पठाएको देखिन्छ,’ ती प्रहरी अधिकारी भन्छन्, ‘सो पैसाले पाठकले फिलिपिन्समा अपार्टमेन्ट किनेको भन्ने सूचना छ, थप बुझ्ने काम भइरहेको छ ।’
प्राधिकरणकै दुई बहालवाला अधिकारीले यस प्रकरणमा अधिकारीलाई सहयोग गरेको देखिएपछि उनीहरूसँग प्रहरीले सोधपुछ गरेको छ । एकजनाले धम्क्याउनका लागि इमेल आइडी खोल्न र अर्काले हुन्डीमार्फत पैसा पठाउन सघाएका थिए ।
काठमाडौं परिसरका प्रवक्ता पवन भट्टराई धेरैजनासँग मिलेर पाठकले धम्क्याएको आशंकामा उनीमाथि संगठित अपराधको कसुरमा अनुसन्धान भइरहेको बताए । कारागारमा रहेका अधिकारीलाई बयानका लागि प्रहरीले अदालतबाट पक्राउ अनुमतिसमेत लिइसकेको छ ।
भारतीय तान्त्रिकको समेत प्रयोग
भ्रष्टाचार मुद्दा रोक्न अधिकारीले एक भारतीय तान्त्रिक बाबाको समेत प्रयोग गरेका थिए । तेलंगनाको किरमनगर स्थायी घर भएका सराई किनेरा (जय जगदम्बे बाबा) नाम भएका ती बाबामार्फत अख्तियार प्रमुख आयुक्त राईसहित आयुक्तहरू किशोर सिलवाल र सुमित्रा अमात्यलाई तान्त्रिक विद्याद्वारा क्षति पुर्याउन भनिएको छ ।
ती बाबालाई समेत प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिसकेको छ । उनले प्रदीप अधिकारीकै आग्रहमा आफूले तन्त्रमन्त्र गरेको जवाफ दिएका छन् । उनको मोबाइलबाट प्रहरीले प्राप्त गरेको विवरणअनुसार अधिकारीले ‘जय जगदम्बे गुरु, ए दुष्ट आद्मीको नष्ट करने के लिए कुछ करने कि जरुरत हे गुरु’ भनेर ह्वाट्सएपमा अख्तियारका पदाधिकारीको फोटो पठाएका छन् । उनकै आग्रहमा ती गुरुले अख्तियारका पदाधिकारीको प्रतिमा बनाएर त्रिशूलले घोचेर आगो लगाएका थिए । त्यसको भिडियो बनाएर अधिकारीलाई पठाएका थिए । ती बाबा आसामको गुवाहाटीमा रहेको कामख्या देवी मन्दिरमा गुरुका रूपमा बस्दै आएका छन् । उनी हरेक वर्ष नेपाल आउने गरेका छन् । दुई साताअघि नेपाल आएका वेला उनलाई प्रहरीले सोधपुछ गरेको हो ।
ती बाबा नेपाल आउँदा विमानस्थलमा भिआइपी कक्षको प्रयोग गर्थे । नेपालका अन्य उच्चपदस्थसँग पनि उनको सम्बन्ध देखिएको प्रहरी स्रोत बताउँछ । ‘सेढाइ र बस्नेत थरका व्यवसायीसमेतको यो घटनामा शंकास्पद सम्बन्ध देखिन्छ,’ प्रहरी स्रोत भन्छ, ‘उनीहरूलाई पनि हामीले सोधपुछमा बोलाउने तयारी गरेका छौँ ।’ दरबारमार्गको एक कार्यालयमा अधिकारीसँग आफ्नो चिनजान भएको र प्राधिकरणको कार्यालयमा समेत आफू पटक–पटक गएको उनले बताएका छन् ।
यसरी अन्डरवर्ल्ड र तान्त्रिक बाबा प्रयोग गरे पनि पूर्वमहानिर्देशक अधिकारी भ्रष्टाचार मुद्दाबाट जोगिन भने सकेनन् । भक्तपुर नलिन्चोकमा हेलिपोर्ट निर्माण र पोखरा विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दा उनीविरुद्ध दायर भइसकेको छ । हेलिपोर्ट निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा उनी पुर्पक्षका लागि थुनामा छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved