भारतीय जनता पार्टी (भाजपा)को विहार शाखाका संसदीय दलका नेता निर्वाचित भएपछि एनडिए गठबन्धनबाट सम्राट चौधरी विहारका मुख्यमन्त्री बन्ने पक्का भएको छ ।
वरिष्ठ भाजपा नेता तथा बिहार पर्यवेक्षक शिवराज सिंह चौहानले मंगलबार सम्राट चौधरीलाई भाजपा व्यवस्थापिका दलको नेतामा निर्वाचित भएको घोषणा गरेका थिए । मंगलबार नै विहारका मुख्यमन्त्री पदबाट नीतीश कुमारले राजीनामा दिएपछि पटनामा भाजपा व्यवस्थापिका दलको बैठक बसेको थियो । सोही बैठकले भाजपाको संसदीय दलका नेतामा चौधरीलाई निर्वाचित गरेको थियो ।
नीतिश कुमार पहिलोपटक सन् २००० मा छोटो समयका लागि विहारको मुख्यमन्त्री बनेका थिए । त्यसपछि सन् २००५ देखि सन् २०१४ सम्म र बिचमा एक वर्षको अन्तरपछि सन् २०१५ देखि निरन्तर राज्यको मुख्यमन्त्री रहे ।
राज्यको इतिहासमा सबैभन्दा लामो समय मुख्यमन्त्रीको रेकर्ड बनाएका नीतिशले पूर्वाधार निर्माणमा उल्लेखनीय योगदान गरेको मानिन्छ । बिहार भारतका हिन्दीभाषीको बाहुल्य रहेको राज्यमध्ये हालसम्म भाजपाको कहिल्यै मुख्यमन्त्री नभएको राज्य रहँदै आएको थियो ।
यो अवस्था अब बुधबार अन्त्य हुने भएको छ । भाजपा नेता लखेन्द्र पासवानले सम्राट चौधरीले बुधबार बिहान स्थानीय समयअनुसार १०:३० बजे मुख्यमन्त्रीको शपथ लिने बताएका छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved