कमला नदीको अस्थायी डाइभर्सन बगायो, हुलाकी सडकखण्डको आवतजावत ठप्प

  • वैशाख २०, २०८३ | ८७ पटक पढिएको | सीमा संदेश
alt

पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिराहा र धनुषा जोड्ने कमला नदीमा आवागमन सहजताका लागि बनाइएको अस्थायी डाइभर्सन सामान्य वर्षाले बगाउँदा आवतजावत प्रभावित भएको छ ।

पुल पुनर्निर्माणका लागि सामान ओसारपोसार गर्न र सर्वसाधारणको आवागमन सहजताका लागि गत माघमा निर्माण व्यवसायीले बालुवाको अस्थायी डाइभर्सन बनाएका थिए । वर्षाले डाइभर्सन बगाएपछि हलुका सवारीसाधन, मोटरसाइकल शनिबार दिनभर वारि–पारि रोकिएको स्थानीय बद्री यादवले बताए । 

नदीमा पानीको बहाव हुँदाहुँदै पनि कतिपय सर्वसाधारण जोखिम मोलेरै पानीमा हेलिएर वारपार भएका थिए । पुनर्निर्माण भइरहेको क्षतिग्रस्त पुलको पूर्वी भागबाट बनाइएको अस्थायी डाइभर्सनको धनुषातर्फको तेस्रो पायानजिकबाट आएको बाढीले बगाएको उनले बताए । पछिल्लो साता पनि बाढीले बगाएको डाइभर्सन मर्मत गरेर आवागमन सुचारु गरिएको थियो । 

क्षतिग्रस्त पुलको पूर्वी भंगालोमा बगिरहेको कमलामा ८० लाखको टेन्डरमार्फत बनाइएको ह्युमपाइपसहितको डाइभर्सनमा भने क्षति नपुगेको हुलाकी राजमार्ग निर्देशनालयका साइट इन्जिनियर सूर्यनारायण मण्डलले जानकारी दिए । सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले निरन्तर वर्षा र कमला नदीमा पानीको बहाव बढेकाले अस्थायी संरचना क्षतिग्रस्त हुँदा आवागमन रोकिएको बताए । धनुषातर्फ बाढीको बहाव उच्च रहेकाले पानीको सतह घटेपछि मर्मत गरेर पुनः आवागमन सुचारु गरिने उनले बताए । 

कमला पुलको पुनर्निर्माण सम्पन्न नहुँदा धनुषातर्फका जनकनन्दनी गाउँपालिका र कमला नगरपालिकाअन्तर्गत पर्ने सघारा, टडिया, लक्कड, बडेर्वा, लगमा, पतनुका, बनरझुला, फुलबरिया तथा सिराहा नगरपालिकाअन्तर्गत बसबिट्टा, बडेर्वा, मानपुर, खरसलवाका बासिन्दालाई वस्तुभाउ चराउन, घाँसपात गर्न, दैनिक किनमेल, हाटबजार, आर्थिक कारोबारका लागि कष्ट भइरहेको स्थानीय गंगाराम साहको गुनासो छ । 

गत ५ मंसिरमा स्थलगत अनुगमनमा आएका तत्कालीन भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले कमला पुलको विषयमा गम्भीर रूपले छलफल गरी प्राविधिक, व्यवस्थापकीय र ठेकेदार कसको कारणले समस्या भएको भन्ने खोजी गरिने बताएका थिए । त्यसलगत्तै हुलाकी राजमार्ग निर्देशनालय जनकपुरधामले पुलको पुनःनिर्माण नहुञ्जेल आवागमन सहजताका लागि टेन्डरमार्फत निर्माण गरेको अस्थायी डाइभर्सन पटक–पटक सामान्य वर्षामा समेत बगाउँदा स्थानीयले सास्ती झेल्दै आएका छन् ।

बालुवाको अस्थायी डाइभर्सन वर्षाले बगाएपछि खोला तर्दै सर्वसाधारण

पटक–पटक म्याद थप, सुस्त गतिमा पुनर्निर्माण
तराई–मधेशको लाइफलाइनको रूपमा रहेको हुलाकी सडकमा पर्ने कमला पुल निर्माणका लागि ३१ जेठ ०६८ मा पप्पु–लुम्बिनी जेभीले भ्याटसहित २४ करोड ९० लाख ९७ हजार दुई सय रूपैयाँमा ठेक्का लिएको थियो । सम्झौताबमोजिम पुल निर्माण ०७१ को मंसिरमा सम्पन्न हुनुपर्ने भए पनि तोकिएको समयमा पुल निर्माण हुन नसकेपछि गत असारसम्मका लागि आठौँपटक म्याद थपिएको थियो । निर्देशनालयका अनुसार पुल भासिनुअघिसम्म निर्माण व्यवसायीले २० करोड ४३ लाख (भ्याटसहित) भुक्तानी लिइसकेका छन् । कमलामा पुल नहुँदा करिब ३० किलोमिटर दूरीमा रहेको प्रादेशिक राजधानी जनकपुरधाम पुग्न वर्षाको वेला पूर्व–पश्चिम लोकमार्गको ढल्केवर हुँदै करिब ९० किलोमिटर फन्को मार्नुपर्ने बाध्यता छ ।

निर्देशनालयअनुसार कुल चार सय ६९.२ मिटर लामो पुलको निर्माण व्यवयासीले नै डिजाइन गरी निर्माण गर्ने मोडेलमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माणसँगै नदीको दुवै किनारातर्फ १३०० मिटर नदी नियन्त्रण र दुई सय मिटर पहुँच सडक निर्माण गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ । १७ असार ०७८ मा कमला नदीमा आएको बाढीले पुलको सिराहातर्फ दुईवटा जग भासिएर चारवटा स्ल्याबमा क्षति पुगेपछि दुईवटा हटाइएको छ भने दुईवटा हटाउन बाँकी रहेको निर्माण कम्पनीका साइट इञ्जिनियर सूर्यप्रकाश शर्माले बताए । उनका अनुसार मनसुनी वर्षाअगावै धनुषातर्फ भासिएको पायर उकास्ने कामसहित बाँकी रहेको तीनवटा फाउन्डेसनको काम सिध्याउने लक्ष्यसहित काम भइरहेको छ ।

कमला नदी जोगाउन संवाद यात्रा
कमला बचाउ अभियानअन्तर्गत हरेक साता सञ्चालन गरिँदै आएको ‘कमला महिमा आध्यात्मिक एवं पर्यावरणीय संवाद यात्रा’ शुक्रबार साँझ सिराहाको पश्चिमवर्ती कर्जन्हा नगरपालिका– ७ ठुलो टोल मरेवाघाटमा आयोजना गरिएको छ । कमला तटीय क्षेत्रमा पर्ने ठुलो टोल मरेवास्थित कमला–सीताघाटमा आयोजना हुने भनिएको यात्रा मौसम प्रतिकूलताका कारण मरेवाबजारस्थित छठघाट (पोखरीपरिसर) मा स्थानान्तरण गरी कमला आरती गरिएको थियो । स्थानीय अभियानी प्रभात महतोको अध्यक्षतामा तथा सिराहा–४ का प्रतिनिधिसभा सदस्य तपेश्वर यादवको उपस्थितिमा जनकपुरधामस्थित गंगासागरका पण्डित अजय झाले कमला आरती गरेका थिए । पछिल्लो समय क्रसर तथा गिट्टी बालुवा व्यवसायीहरूले कमला नदीका विभिन्न ठाउँमा उत्खनन गर्दा नदीको प्राकृतिक बहाव परिवर्तन हुनुका साथै धार परिवर्तनले बर्सेनि तटीय क्षेत्रका बासिन्दाले अप्ठ्यारो झेल्दै आएका छन् । अभियानका अनुसार नदीको अनियन्त्रित दोहन रोक्न सरोकारवालाहरूलाई दबाब दिन र कमलाको धार्मिक, पर्यावरणीय महत्वका बारेमा स्थानीयलाई बुझाउँदै संरक्षणमा योगदान पुर्‍याउन अभियान थालिएको हो । 

रास्वपाले ल्यायो स्थानीय चुनाव २०८३ का लागि उम्मेद

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी २०८३ सालम ...

मधेश प्रदेशमा राजनीतिक सरगर्मी बढ्यो : यसै हप्ता

मधेश प्रदेशमा राजनीतिक सरगर्मी बढेको छ ।यसै हप्ता सरकार ...

सीकेको कटाक्ष : महेन्द्र राजमार्ग वरिपरिका सबै शहर

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सुकुम्बासी बस्ती ...

महेशपत्नीसहित १० जनामाथि ज्यान मार्ने उद्योगको मुद

नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका ७ दिनदेख ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब