खानेपानीको सिलप्याक बोतलमा किरा भेटिएपछि सिराहाको लहानस्थित एक खानेपानी उत्पादक कम्पनीलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ। लहानस्थित इलाका प्रशासन कार्यालयले लहान– ८ स्थित के.बी. एन्ड सन्स कम्पनीलाई दुई लाख रुपैयाँ जरिवाना गरी बजारबाट उक्त ब्याचका पानीका सम्पूर्ण बोतलहरू फिर्ता ल्याउन निर्देशन दिएको हो।
इलाका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवनारायण साहले सोमबार विज्ञप्ति जारी गर्दै कम्पनीबाट बिक्री-वितरण गरिएको सिलप्याक बोतलभित्र किरा भेटिएको गुनासोपछि कार्यालयको निरीक्षण टोलीले अनुगमन गर्दा अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरेको पाइएकाले आर्थिक जरिवाना गरिएको जनाएका छन्।
विज्ञप्तिमा कम्पनीले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपदफा २ खण्ड (क) तथा सोही ऐनको दफा ३८ को खण्ड (ङ) बमोजिमको कसुर गरेको पाइएकाले ११ असारको निर्णयानुसार कम्पनीलाई ऐनको दफा ३९ को उपदफा (१)को खण्ड (ख) बमोजिम जरिवाना गरिएको उल्लेख छ। उपभोग्य वस्तु सचेततापूर्वक उपभोग गर्न र कुनै त्रुटि, खराबी देखिएमा तत्काल जानकारी गराउन सम्बन्धित सबैलाई विज्ञप्तिमार्फत आग्रह गरिएको छ।
के.बी. एन्ड सन्सका सञ्चालक राकेश महासेठले भने आफ्नो कम्पनीलाई नियोजित रूपमा बदनाम गर्न खोजिएको दाबी गरेका छन्। ‘अत्याधुनिक उपकरणबाट सफा गरिएलगत्तै बोतलमा पानी प्याक गरिएको मुस्किलले पाँच सेकेन्डभित्र सिलप्याक गरिन्छ,’ उनले भने, ‘आधा दर्जन कामदारले सूक्ष्म निगरानी गरिरहेका हुन्छन्, त्यस्तो लापरबाही हुनै सक्दैन।’
आफ्नो कम्पनीको पानीको बोतलको प्लास्टिक सिल अन्यत्र प्रिन्ट गरेर ल्याइने भएकाले त्यही बिचमा केही कैफियत गरिएको हुन सक्ने उनको दाबी छ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved