सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकको मृत्यु, प्रहरीसहित १६ जना घाइते, कर्फ्यु जारी

  • साउन ११, २०८३ | १५२ पटक पढिएको | सीमा संदेश
alt

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको विषयमा उत्पन्न विवादले हिंसात्मक रूप लिँदा सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा एक जनाको मृत्यु भएको छ भने प्रहरीसहित १६ जना घाइते भएका छन्। घटनापछि थप तनाव फैलिन नदिन जिल्ला प्रशासन कार्यालयले कप्तानगञ्ज र आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

आइतबार राति दुई स्थानीय समूहबीच सुरु भएको सामान्य भनाभन केहीबेरमै कुटाकुट, ढुंगामुढा, आगजनी र तोडफोडमा परिणत भएको प्रहरीले जनाएको छ। स्थिति नियन्त्रणबाहिर गएपछि प्रहरीले लाठीचार्ज, अश्रुग्यास र हवाई फायर गरे पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाउनुपरेको सुनसरी प्रहरीका निमित्त प्रमुख डीएसपी चन्द्रबहादुर खड्काले बताए।

प्रहरीको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार स्थानीय युवाहरू बोलबम यात्राका लागि सप्तकोशी नदीतर्फ जाने तयारीमा ठूलो आवाजमा डीजे बजाइरहेका थिए। त्यसक्रममा रातिको समयमा चर्को आवाजले असुविधा भएको भन्दै छिमेकी पक्षले विरोध जनाएको थियो। यही विषयमा सुरु भएको विवाद विस्तारै उग्र बन्दै हिंसात्मक झडपमा परिणत भएको हो।

घटनामा मिथलेश यादव, अमलेश मेहता, मिथलेश मेहता, अमितकुमार यादव, रविन्द्र मेहता, सुनिलकुमार मेहतासहित सर्वसाधारण घाइते भएका छन्। उनीहरूको कोशी अस्पताल, विराट नर्सिङ होम तथा अन्य अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। झडपमा प्रहरी निरीक्षक राकेश राईसहित आठ जना सुरक्षाकर्मी पनि घाइते भएका छन्। निरीक्षक राईको टाउकोमा चोट लागेको छ भने अन्य घाइते प्रहरीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

स्थानीय राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता अमरेश मेहताका अनुसार राति करिब ९ बजेतिर सुरु भएको विवाद विस्तारै उग्र बन्दै आगजनी, सवारीसाधनमा तोडफोड तथा घरमा आक्रमणसम्म पुगेको थियो। प्रहरी घटनास्थल पुग्दासम्म अवस्था निकै तनावपूर्ण बनेको उनले बताए। घटनापछि आइतबार राति नै सुनसरी जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेको थियो। त्यसलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो सुरक्षा टोली परिचालन गरिएको छ। हाल स्थिति नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले सोमबारदेखि कप्तानगञ्ज क्षेत्रमा कर्फ्यु आदेश जारी गर्दै सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ। प्रहरीले घटनाको वास्तविक कारण, गोली चलाउनुपरेको परिस्थिति तथा आगजनी, तोडफोड र अन्य क्षतिको विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब