सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सिमराहा गाउँनजिकै रहेको बलान खोला क्षेत्रबाट प्रतिबन्धित लागुऔषध गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको छ । महेशबारीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले बुधबार राति चारवटा बोरामा प्याक गरिएको ५३ किलो ४६५ ग्राम प्रतिबन्धित गाँजाजस्तो पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार कपडाको नाम्लोमा चारवटा बोरा बोकेका चारजना भने गस्तीमा रहेको प्रहरीलाई देखेपछि फरार भएकाले खोजतलास जारी रहेको छ । बरामद गरिएको गाँजाजस्तो पदार्थ इलाका प्रहरी कार्यालय लहानमा ल्याएर थप अनुसन्धान भइरहेको उनले बताए । मुख्य नाकाहरूमा प्रहरीले निगरानी बढाएपछि सप्तरीसँग सीमा जोडिएको बलान खोला हुँदै तस्करहरूले प्रतिबन्धित गाँजा भारतीय सीमावर्ती क्षेत्रमा पुर्याउन भरिया प्रयोग गरेको हुन सक्ने अनुमान गरिएको छ ।
त्यसअघि प्रहरीले ६ साउनमा लहान नगरपालिका– ३, नयाँबस्तीस्थित स्थानीयको घर कम्पाउन्डमा पार्किङ गरेर राखिएको फलफूल लोड भएको पिकअप भ्यानबाट ६५२ किलो गाँजाजस्तो देखिने पदार्थसहित तीनजनालाई पक्राउ गरेको थियो । प्रहरीले स्थानीय श्यामकुमारी साहको घर कम्पाउन्डमा पार्किङ गरेर राखिएको बा.२१च ५८६६ नम्बरको भ्यानको पछाडि नासपती हालिएको प्लास्टिक क्रेटहरूमा ३१ वटा बोरा र दुईवटा प्लास्टिकमा लुकाएको गाँजाजस्तो पदार्थ बरामद भएपछि एक भारतीयसहित तीनजनालाई पक्राउ गरेको थियो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved