मधेश प्रदेशका सिरहा, धनुषा, महोत्तरी र सर्लाहीमा हुलाकी सडक निर्माण तथा स्तरोन्नति कार्यक्रमले उल्लेख्य प्रगति हासिल गरेको छ । गत आर्थिक वर्षमा निर्धारित लक्ष्यको ८५.५३ प्रतिशत सडक कालोपत्रे सम्पन्न भएको छ ।
हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरधामका अनुसार चार जिल्लामा कुल ४०६.४३ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गर्ने लक्ष्य राखिएकोमा ३४७.६३ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । लक्ष्यको तुलनामा ५८.८० किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको छ ।
कार्यालयका प्रमुख सिडिई कृष्णकुमार महतोका अनुसार सडक निर्माण तथा स्तरोन्नतिमा भएको प्रगति अघिल्लो समयको तुलनामा उल्लेख्य रहेको छ । बाँकी सडकखण्डमा समेत निर्माण तथा स्तरोन्नतिको काम अघि बढिरहेको उहाँले जानकारी दिनुभयो ।
चार जिल्लामा सडक निर्माणका लागि नेपाल सरकारको नियमित बजेट तथा भारतीय अनुदान सहयोग परिचालन गरिएको छ । कार्यालयका अनुसार नेपाल सरकारको स्रोतबाट ३०२.५५ किलोमिटर र भारतीय अनुदान सहयोगबाट १०३.८८ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको थियो ।
निर्देशनालयका अनुसार बलान–कमला सडक, जनकपुर–जलेश्वर–भिट्ठामोड सडक, त्रिभुवननगर सडक, शीतलपुर–मलङ्गवा–खरैयाटोल सडक, नयाँरोड–बरहथवा–माधोपुर वैकल्पिक सडक तथा जलेश्वर–हर्दी सडकको निर्माण तथा स्तरोन्नतिको काम पूर्ण रूपमा सम्पन्न भइसकेको छ ।
जिल्लागत रूपमा हेर्दा सर्लाहीमा हुलाकी सडक निर्माणको प्रगति अझ उच्च देखिएको छ । सर्लाहीमा कुल १६५.९७ किलोमिटर सडक निर्माण तथा स्तरोन्नतिको लक्ष्य रहेकामा १५१.५१ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । यसअनुसार जिल्लामा लक्ष्यको करिब ९१.२९ प्रतिशत सडक कालोपत्रे भएको छ ।
सडकसँगै हुलाकी राजमार्गअन्तर्गत पुल निर्माणमा पनि प्रगति भएको कार्यालयले जनाएको छ । चार जिल्लामा निर्माण गर्नुपर्ने ६१ वटा पुलमध्ये २४ वटा पुलको निर्माण पूर्ण रूपमा सम्पन्न भएको छ । १९ वटा पुल निर्माणाधीन अवस्थामा छन् भने १८ वटा पुलको ठेक्का तथा व्यवस्थापन गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
हुलाकी सडक निर्माणतर्फ गत आर्थिक वर्षमा ६१ करोड ६२ लाख रुपियाँ बजेट विनियोजन भएकोमा ४६ करोड ४७ लाख रुपियाँ पुँजीगत खर्च भएको छ । यसअनुसार आयोजनाको समग्र वित्तीय प्रगति ७५.४१ प्रतिशत पुगेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
भौतिकतर्फ ८५.५३ प्रतिशत र वित्तीयतर्फ ७५.४१ प्रतिशत प्रगति हासिल हुनु हुलाकी सडक आयोजनाको महत्त्वपूर्ण उपलब्धि भएको कार्यालयको भनाइ छ । सडक निर्माणको भौतिक प्रगति वित्तीय खर्चको तुलनामा करिब १० प्रतिशतले बढी देखिएको छ ।
चालु आर्थिक वर्ष २०८३/८४ का लागि हुलाकी सडक कार्यक्रमअन्तर्गत ७४ करोड ९१ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । नयाँ आर्थिक वर्षमा बाँकी सडकखण्डको निर्माण तथा स्तरोन्नति सम्पन्न गर्ने, निर्माणाधीन पुललाई गति दिने र बाँकी पुलको ठेक्का व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ ।
मधेश प्रदेशका ग्रामीण तथा सीमावर्ती क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने उद्देश्यले अघि बढाइएको हुलाकी सडक कार्यक्रमले चार जिल्लाको यातायात पहुँचमा महत्त्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । अधिकांश सडकखण्ड कालोपत्रे भइसकेकाले अब आयोजनाको मुख्य चुनौती बाँकी सडक तथा पुल निर्माण समयमै सम्पन्न गर्नुका साथै निर्माणको गुणस्तर कायम गर्नु रहेको कार्यालयका प्रमुख सिडिई महतोले बताउनुभयो ।
हुलाकी सडकको ८५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भए पनि करिब १४.४७ प्रतिशत सडक अझै कालोपत्रे हुन बाँकी रहेकाले बाँकी कामलाई तीव्रता दिनुपर्ने देखिएको छ । विशेषगरी निर्माणाधीन १९ वटा पुल र व्यवस्थापन हुन बाँकी १८ वटा पुललाई समयमै अघि बढाउन सके हुलाकी सडक सञ्जालको समग्र प्रगति अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved