महोत्तरीको औरही नगरपालिकामा ह्याण्डपम्प/ट्युबवेल (चापाकल) खरिद तथा वितरणमा अनियमितता गरेको आरोपमा ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
आयोगले २०८३ भदौ १ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार आर्थिक वर्ष २०७९/८० मा औरही नगरपालिकाले ह्याण्डपम्प/ट्युबवेल खरिद गर्दा सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत खरिद प्रक्रिया अपनाएको पाइएको हो । आयोगका अनुसार मालसामानको आइटम दररेटमा कन्ट्राक्टर ओभरहेडको रूपमा १५ प्रतिशत थप गरी लागत अनुमान स्वीकृत तथा स्वीकृत गराइएको, एउटै वस्तु, सेवा वा सामानको खरिदलाई विभिन्न विधि प्रयोग गरी पटक–पटक टुक्र्याएर एचयअगचझभलत क्उष्तितष्लनÚ गरिएको र खरिद प्रक्रियामा प्रतिस्पर्धालाई जानाजान सीमित गरिएको पाइएको छ ।
आपूर्ति कर्ता सँगको मिलेमतोमा बोलपत्रमार्फत खरिद गर्नुपर्ने कार्य सिलबन्दी दरभाउपत्र तथा सोझै खरिद गरी स्थानीय सरकार र नेपाल सरकारलाई हानिनोक्सानी पु¥याएको आयोगको आरोप छ । त्यस्तै, खरिद गरिएका ह्याण्डपम्पलगायतका मालसामानको दोहोरो भरपाई तयार गरिएको, वितरण गरिएको भनिएका सामग्री बुझिलिएको तथा त्यसको भरपाईलगायतका विश्वसनीय प्रमाण पेस गर्न नसकेको आयोगले जनाएको छ ।
लागत अनुमान, खरिद आदेश, जिन्सी दाखिला तथा सार्वजनिक खरिद ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनसमेत बेवास्ता गरी खरिद कार्य गराएको र भुक्तानी दिएको– लिएको अनुसन्धानबाट पुष्टि भएको आयोगको भनाइ छ । आयोगले उक्त कार्यमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ तथा दफा २२ बमोजिमको कसुरजन्य कार्य भएको निष्कर्षसहित आरोपपत्र दायर गरेको हो । आयोगका अनुसार औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र मैथलीविरुद्ध ३६ लाख १३ हजार ३१ रुपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरिएको छ ।
त्यस्तै, तत्कालीन इन्जिनियर सन्तोष कुमार यादव र तत्कालीन सब–इन्जिनियर बिपिन कुमार मण्डलविरुद्ध जनही २० लाख ४९ हजार ४५० रुपैयाँ बिगो कायम गरिएको छ भने तत्कालीन लेखापाल बिजय कुमार यादव र तत्कालीन योजना शाखा प्रमुख गंगाराम यादवविरुद्ध जनही ३६ लाख १३ हजार ३१ रुपैयाँ बिगो कायम गरिएको आयोगले जनाएको छ ।
तत्कालीन जिन्सी शाखा प्रमुख शिव शंकर यादवविरुद्ध १५ लाख ६३ हजार ५८१ रुपैयाँ बिगो कायम गरिएको छ । आयोगले आपूर्तिकर्तातर्फ लिला आयरन स्टोर्स, औरही–१, महोत्तरी र सोका प्रोप्राइटर बिनय कुमार यादवविरुद्ध ५ लाख ३४ हजार ८७६ रुपैयाँ ८१ पैसा, डि.एम. जेनरल अर्डर सप्लायर्स, जलेश्वर–३, महोत्तरी र सोका प्रोप्राइटर दुधनाथ कुमरविरुद्ध ११ लाख ८९ हजार ४७१ रुपैयाँ ३६ पैसा बिगो कायम गरेको छ । यस्तै, श्री राम इन्टरप्राइजेज, जलेश्वर–३, महोत्तरी र सोका प्रोप्राइटर अमरनाथ कुमरविरुद्ध २ लाख २० हजार १९७ रुपैयाँ ३६ पैसा, जैसवाल निर्माण सेवा -सिर्जना ट्रेडर्स), औरही–१, महोत्तरी र सोका प्रोप्राइटर रामबाबु चौधरीविरुद्ध ७ लाख ९ हजार ६२३ रुपैयाँ ९२ पैसा तथा क्वालिटी सोलुसन कम्पनी प्रा.लि., बागडोल–४, ललितपुर र सोका प्रबन्ध निर्देशक मनोज कुमार यादवविरुद्ध ७ लाख ११ हजार ९०० रुपैयाँ बिगो कायम गरिएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved