गत साउनमा सुनसरी र सिराहामा भएका घटनामा सुरक्षाकर्मीले आवेगमा आएर अनावश्यक बल प्रयोग गरेको निष्कर्ष छानबिन समितिले निकालेका छन् । सुनसरीको कप्तानगन्ज र सिराहाको गोलबजारमा भएका घटना छानबिन गर्न सरकारले छुट्टाछुट्टै समिति बनाएको थियो । दुवै समितिले गोली चलाउने फिल्डका प्रहरी अधिकारीदेखि जिल्ला सुरक्षा समितिका पदाधिकारी (प्रमुख जिल्ला अधिकारी)लाई समेत कारबाही सिफारिस गरेको छ ।
देवानगन्ज गाउँपालिका– ३, कप्तानगन्जमा गत १० साउनमा २० राउन्ड गोली चलेको निष्कर्ष सहसचिव भूपेन्द्र थापा नेतृत्वको समितिले निकालेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले गोली चलाएका थिए । ‘झडप हुन लागेपछि बल प्रयोगको सिद्धान्त प्रयोग गरिएको देखिएन,’ छानबिन समितिका एक अधिकारी भन्छन्, ‘एक्कासि घातक हतियारबाट समेत गोली प्रहार गर्दा धेरै क्षति भयो ।’ सुरक्षा निकायको गोली लागेका तीनजनाको मृत्यु भएको थियो । यो घटनामा स्थानीय युवा ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्रकुमार मेहताको उपचारका क्रममा मत्यु भएको थियो ।
लाठी, अश्रुग्यास, रबर बुटेलजस्ता बल प्रयोगका प्रारम्भिक चरण पूरा नगरी गोली प्रहार गर्नु गलत भएको छानबिन समितिको निष्कर्ष छ । साथै, घटनामा राम्रो समन्वय नगरेको भन्दै सुनसरीका सिडिओ, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका डिएसपी र स्थानीय इन्स्पेक्टरमाथि कारबाही सिफारिस भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपी भने घटनाको दिन बिदामा भएकाले उनीहरूलाई कारबाही सिफारिस भएको छैन ।
त्यस्तै, सिराहाको गोलबजारमा भने डिएसपी रमेश पाल र सुमन नेपाली गोली प्रहारमा संलग्न थिए । डिएसपी पाललाई ढुंगा लागेपछि उनले गोली चलाउन आदेश दिएका थिए । आवेगमा आएर उनले गोली चलाउन आदेश दिएको सहसचिव पुष्पराज शाही नेतृत्वको छानबिन समितिको निष्कर्ष छ । समितिले सिडिओ सुरेन्द्र पौडेल तथा एसपी वासुदेव पाठकलाई पनि सचेत गराउन सिफारिस गरेको छ । प्रहरीबाटै गोली चल्दा पनि कसले गोली चलाएको जानकारी नभएको भनेर सिडिओ पौडेल गैरजिम्मेवार रूपमा प्रस्तुत भएका थिए । १४ साउनमा प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भएको थियो ।
त्यस्तै, समितिले द्वन्द्व बढाउने भूमिका खेल्ने दुवै समुदायका केही अगुवामाथि पनि कारबाही गर्न भनेको छ । साथै, आगलागी र तोडफोडमा संलग्नमाथि फौजदारी मुद्दामै कारबाहीको सिफारिस भएको प्रहरी स्रोत बताउँछ । कप्तानगन्जमा झडपको समयमा बत्ती गएको घटना योजनाबद्ध नभएको समितिको निष्कर्ष छ । ट्रिपिङकै कारण बत्ती गएको प्राविधिक छानबिनबाट पुष्टि भएको छ । साथै, घटना योजनाबद्ध नभई आकस्मिक रूपमै भएको पनि निचोड छ ।
सहसचिव थापा नेतृत्वको समितिले २५ बुँदे सुझाव दिएको छ । जसमा भिड नियन्त्रणको शैली सुधार गर्नेदेखि सामाजिक सद्भावका लागि सक्रियता बढाउनुपर्ने विषय उल्लेख छ । सहसचिव शाही नेतृत्वको समितिले करिब ५० बुँदे सुझाव दिएको छ । स्रोतका अनुसार सो समितिले केन्द्रदेखि प्रदेश सरकार र स्थानीय तहले धार्मिक सद्भाव कायम राख्न रणनीति नै बनाएर त्यसलाई कार्यान्वयन गर्न भनेको छ । समितिले भिड नियन्त्रणमा गैरघातक हतियार प्रयोग नगर्न र गोली चलाउने व्यक्तिको शरीरमा अनिवार्य रूपमा ‘बडी वर्न’ क्यामेरा राख्नसमेत सिफारिस गरेको छ ।
दुवै समितिले मंगलबार गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाएका छन् । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सुनसरी र सिराहाका घटना छानबिन गर्न गठित समितिका प्रतिवेदन मन्त्रालयका प्राप्त भएको बताए । ‘घटनालाई म्यानुअल्ली मात्र नभई प्राविधिक ढंगले पनि अध्ययन गर्न गृहमन्त्रीज्यूको निर्देशन थियो । मेटल डिटेक्टर प्रयोग गरी घटनाको वस्तुनिष्ठ अध्ययन गर्न भनिएको थियो । सोहीअनुसार अध्ययन गरी प्रतिवेदन पेस भएको मैले बुझेको छु । प्रतिवेदन पेस गर्दा म पनि सहभागी थिएँ । समितिका संयोजकज्यूहरूले पनि सोही विषय प्रस्ट्याएका छन्,’ उनले भने ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved