बाढीमा बेपता खोजीका लागि परिवारको हारगुहार

  • भदौ १८, २०८३ | १५८ पटक पढिएको | सीमा संदेश
alt

लहान नगरपालिका–१५ का मुकेश चौधरी र सखुवानन्कारकटि गाउँपालिका–१, भौरका सलदेव यादव अझै सम्पर्कविहीन छन्। सात दिन बितिसक्दा पनि कुनै खबर नआएपछि परिवारजनले खोजी गरिदिन हारगुहार गरिरहेका छन्।
मङ्गलबार राति छोरा मुकेश चौधरीसँग कुराकानी भएको आमा आशादेवी चौधरीले बताउनुभयो।

बुधबार रसुवामा बाढी आएको खबर सुनेपछि छोरालाई फोन गरे पनि फोन नउठेको उहाँले बताउनुभयो। “सात दिनदेखि छोराको फोन आउला भनेर मोबाइल छाडेकी छैन। तर फोन आएन। छोरा मुकेशलाई खोजिदिन पत्रकारसँग गुहारेकी छु। सरकारसँग गुहार मागिरहेका छौँ। प्रहरी प्रशासन सबैसँग बिन्ती गरिरहेका छौँ। ढोडनामा रहेको शक्तिपीठ राजदेवी माताको शरणमा छोरासँग भेट गराइदिन प्रार्थना गरिरहेकी छु,” आमा आशादेवीले भावुक हुँदै भन्नुभयो।

तीन छोरामध्ये माहिलो मुकेशलाई इन्जिनियरसम्म पढाएको उहाँले बताउनुभयो। सामान्य किसान परिवारका लागि छोरालाई इन्जिनियर पढाउनु सहज नभएको उहाँको भनाइ छ। “पति श्यामकुमार चौधरी, जेठो र कान्छो छोरा सबैले मुकेशलाई इन्जिनियर बनाउन पसिना बगाएका छौँ,” आमा आशादेवीले आँसु झार्दै भन्नुभयो, “मुकेशले परिवारको दुःख हरण गर्ने सपना सजाएको थियो। मेरो छोरा बाढीमा बगेको छैन, राजदेवी माताले कल्याण गर्नुभएको होला। मलाई सम्पर्क गराइदिनुहोस्।”

गत वर्ष लहान नगरपालिका–१५ का विजय चौधरी गुमाएको पीडा कम नभएको अवस्थामा यस वर्ष गाउँकै सम्भावना बोकेको इन्जिनियर मुकेश चौधरी सात दिनदेखि सम्पर्कविहीन भएपछि ढोडना–वीरनगरमा निराशा छाएको वडाध्यक्ष तेजनारायण चौधरीले बताउनुभयो।

“गाउँको होनहार र अति मिलनसार मुकेश इन्जिनियर पढेर फर्किएपछि सामान्य किसान परिवारमा पनि खुसीको दिन आयो भन्ने लागेको थियो। सात दिनदेखि मुकेशसँग सम्पर्क नहुँदा हरेक व्यक्ति उसको मोबाइलमा फोन कहिले आउला भन्ने प्रतीक्षामा छन्। हरेक व्यक्ति शक्तिपीठ राजदेवी मन्दिरमा मुकेशको शुभ खबरका लागि प्रार्थना गरिरहेका छन्,” उहाँले भन्नुभयो।

मुकेश रसुवास्थित जलविद्युत् आयोजनामा काम गर्न थालेपछि गाउँमा छाएको खुसी अहिले निराशामा बदलिएको स्थानीय वीरेन्द्र चौधरीले बताउनुभयो।

यसैगरी, सलदेव यादवका परिवारजनले पनि उनको खोजीका लागि सामाजिक सञ्जालदेखि प्रहरी प्रशासनसम्म हारगुहार गरिरहेका छन्। सामान्य किसान परिवारका ३५ वर्षीय सलदेव विदेश जाने सोचमा हुनुहुन्थ्यो। पछि विदेशमा गएर धेरै कमाउनुभन्दा स्वदेशमै सानोतिनो काम गर्ने सोचले रसुवा पुगेको र दसैँमा घर आउने कुरा पत्नी रिङ्का यादवले बताउनुभयो।

एक छोरा र एक छोरीका पिता सलदेवसँग सम्पर्क गराउन सखुवानन्कारकटि गाउँपालिकाका स्थानीय युवाले उनको तस्बिर सामाजिक सञ्जालमा राखेर खोजी गरिरहेको स्थानीय दीपेश यादवले बताउनुभयो।

“आमा–बुबा दुवै स्वर्गवास भइसक्नुभएको अवस्थामा हाम्रो सहारा पति सलदेवको फोन उठोस्, कुरा गर्न पाइयोस् र उहाँ घर फर्किनुहोस् भन्ने आशामा छु,” सलदेवकी पत्नी रिङ्काले भन्नुभयो। रिङ्काको आँखामा आँसु रोकिएको छैन। उहाँ एउटै वाक्य दोहोर्‍याइरहनुभएको छ, “मेरो पतिलाई खोजिदिनुस्।”

सिरहाको पूर्वी भेगमा लहानदेखि ठाडीसम्म अहिले मुकेश र सलदेवको खोजीका लागि युवाहरूले सामाजिक सञ्जालमार्फत पहल थालेका छन्। सिरहा–१ का सांसद बब्लु गुप्ताले मुकेश र सलदेवको खोजीका लागि आफू रसुवा र नुवाकोट पुगेको बताउनुभयो।

“यतिबेला हामी विपत्तिको घडीमा सम्हालिनुपर्छ। जनप्रतिनिधिको हैसियतले गर्नुपर्ने कुनै पनि सेवाबाट चुक्ने छैन,” उहाँले भन्नुभयो।

लहान नगरपालिका–१५ का इन्जिनियर मुकेश चौधरी र सखुवानन्कारकटि गाउँपालिका–१, भौरका सलदेव यादव, जो रसुवाबाट अझै सम्पर्कविहीन छन्।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब