मुम्बई । भारतीय अभिनेत्री उर्वशी रौतेलाको टोलीले मंगलबार लस एन्जलसस्थित आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ‘बलिउड.AI’ विरुद्ध कानुनी कारबाही अघि बढाउने घोषणा गरेको छ।
कम्पनीले अभिनेत्रीको अनुमतिबिना नै उनको नाम, तस्बिर र भिडियोहरू प्रयोग गरेको आरोप उनको टोलीले लगाएको हो।
यस प्रकरणमा कम्पनीसँग ७ हजार करोड भारतीय रुपैयाँ क्षतिपूर्तिको माग गरिएको उर्वशीको टोलीले जनाएको छ। अर्कोतर्फ ‘बलिउड.AI’ का संस्थापक तथा सीईओ शिराज हसनले भने यो दाबीलाई हास्यास्पद भनेका छन्।
यो विवाद तब सुरु भयो जब ‘बलिउड.AI’ ले उर्वशी रौतेलाको एक अन्तर्वार्ता लिएको थियो। अन्तर्वार्ताका क्रममा उनलाई बलिउड र आर्टिफिसियल इन्टेलिजेन्सबारे प्रश्न सोधिएको थियो।
जवाफमा उनले बलिउड एआईसँग सङ्घर्ष गरिरहेको र आफू बलिउडलाई माया गर्ने बताएकी थिइन्। उक्त अन्तर्वार्ता भाइरल भएपछि उर्वशीको टोलीले इन्स्टाग्राममा आधिकारिक बयान जारी गर्दै एआई कम्पनीमाथि गम्भीर आरोप लगाएको हो।
आफ्नो आधिकारिक बयानमा उर्वशीको टोलीले भनेको छ, ‘हामी उचित कानुनी प्रक्रिया अपनाइरहेका छौँ। यसअन्तर्गत लस एन्जलसस्थित कम्पनीबाट ७ हजार करोड रुपैयाँ क्षतिपूर्तिको माग सामेल छ। आफ्नो एआई कम्पनी र ब्रान्ड बनाउनुहोस्, तर अनुमतिबिना उर्वशीको नाम आफ्नो व्यवसायमा प्रयोग नगर्नुहोस्।’
उर्वशीको टोलीले क्षतिपूर्तिको दाबी गरेपछि ‘बलिउड.AI’ र ‘हलिवुड.AI’ का संस्थापक एवं सीईओ शिराज हसनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्।
हसनले भनेका छन्, ‘उर्वशी, हामीले तपाईँको मुखमा ती शब्दहरू हालिदिएका थिएनौँ। जवाफ दिनुअघि आर्टिफिसियल इन्टेलिजेन्स र बलिउडको मनोरञ्जन व्यवसायको भविष्यबारे अध्ययन गर्न म सुझाव दिन्छु। ‘बलिउड.AI’ र ‘हलिउड.AI’ मनोरञ्जन क्षेत्रको भविष्य हुन्। एआई फिल्म, भर्टिकल ड्रामा र यस्ता डिजिटल कलाकारहरू कहिल्यै बूढा हुँदैनन्, धेरै भाषा बोल्छन्, २४ घण्टा काम गर्छन् र उनीहरूमा कुनै घमण्ड हुँदैन। तपाईँ आफ्नो जवाफसँग लड्न सक्नुहुन्छ, तर आउँदो परिवर्तनसँग लड्न सक्नुहुन्न। यसलाई स्विकार्नुहोस्, बलिउडमा मनोरञ्जन उद्योगको विकास भइरहेको छ।’
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved