मधेस प्रदेशमा विद्युतीय करेन्टका कारण हुने मानवीय क्षति बढ्दै गएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ३९ जनाले करेन्ट लागेर ज्यान गुमाएका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशभरि गत साउन र भदौ महिनामा करेन्ट सम्बन्धी १०७ वटा घटनामा ३९ जनाको मृत्यु भएको हो । विद्युतका काम गर्दा विद्युतीय तार, उपकरण तथा विद्युत् प्रवाहसँग सम्बन्धित काममा सावधानी नअपनाउँदा मानवीय क्षति बढेको प्रहरीको भनाइ छ । करेन्टसँग सम्बन्धित अधिकांश घटना सिँचाइ गर्ने मोटर, घरायसी मोटर तथा अन्य घरायसी कामका क्रममा भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विद्युत् तथा आगलागीसँग सम्बन्धित घटनामा पूर्वसावधानी र सजगता नअपनाउँदा मानवीयसँगै भौतिक क्षति बढेको हो ।
मधेस प्रदेशमा साउन र भदौ महिनामा भएका विभिन्न ४५९ विपदका घटनामा ९२ जनाको मृत्यु भएको छ । विपदका कारण ४७ पुरुष, १९ महिला तथा २६ जना बालालिकाले अकालमै ज्यान गुमाएका छन् । यो अवधिमा सबैभन्दा बढी मृत्यु विद्युतीय तारबाट प्रवाह हुने करेन्ट लागेर भएको हो । करेन्ट लागेर ३९ जनाले ज्यान गुमाएका छन् भने पानीमा डुबेर २९ जनाको मृत्यु भएको छ । जंगली जनावरको आक्रमणबाट ५, चट्याङ लागेर ३ तथा आगलागीमा परेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै प्रदेशभरि अन्य विपदका घटनामा १३ जनाले ज्यान गुमाएका छन् ।
प्रहरीको उजुरी तथ्याङ्कमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा आगलागीका घटना ११२ वटा भएको उल्लेख छ । त्यस्तै पानीमा डुब्ने ३७, जंगली जनावरको आक्रमणका २३, बाढीका १२ तथा चट्याङका १० घटना भएका छन् । विपदका कारण दुई महिनामा मानवीय क्षतिसँगै भौतिक सम्पत्तिमा पनि ठुलो क्षति भएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार यो अवधिमा भएका ४५९ विपदका घटनामा २ करोड ९२ लाख ४७ हजार ५५५ रुपैयाँ बराबरको भौतिक सम्पत्ति नष्ट भएका छन् । भौतिक सम्पत्तितर्फ सबैभन्दा बढी क्षति आगलागीबाट भएको छ । आगलागीकै कारण २१२ वटा घर जलेका छन् । आगलागीका घटनाबाट मात्रै २ करोड ७० लाख १३ हजार ३५० रुपैँया बराबरको क्षति भएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रभुप्रसाद ढकालले बताए ।
त्यस्तै, बाढी तथा पहिरोबाट ११ लाख ९० हजार रुपैयाँ, चट्याङबाट ३ लाख, जंगली जनावरको आक्रमणबाट २ लाख ७२ हजार र अन्य विभिन्न विपदका घटनाबाट थप ४ लाख ६३ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
वर्षायाममा सम्भावित विपद्को पूर्वसूचना मौसम विभागले सम्भावित क्षेत्रका लागि जारी गर्ने भएकाले बाढीपहिरोको जोखिममा रहेका क्षेत्रमा प्रहरीले सचेतता बढाउँदा ठुलो क्षति हुनबाट जोखिएको प्रहरीको भनाइ छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved