नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् । काठमाडौँमा भएको कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आगामी चार वर्षीय कार्यकालका लागि भएको निर्वाचनमा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापा सभापति बनेका हुन् ।
निर्वाचन समितिको नतिजाअनुसार कुल ७,३१७ मतदाता रहेकोमा ७,०३९ मत खसेको थियो भने ५४ मत बदर भएको थियो । खसेको कुल मतमध्ये नवनिर्वाचित सभापति थापाले ६,५८४ मत (९३.८८ प्रतिशत) प्राप्त गरे । उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत (५.३५ प्रतिशत) प्राप्त गर्दा ०.७७ प्रतिशत मत बदर भयो । थापाले खड्गीभन्दा ६,२०९ मत बढी प्राप्त गरी भारी मतान्तरले विजय हासिल गरेका छन् । यसअघि गत पुसमा तत्कालीन केन्द्रीय कार्यसमितिको असहमतिबिच विशेष महाधिवेशन गरी थापाको नेतृत्वमा कार्यसमिति चयन भएको थियो । त्यही कार्यसमितिले १५औँ महाधिवेशन गराएको हो ।
गगनकुमार थापाको जन्म २०३३ साल साउन ४ गते महेन्द्रकुमार थापा र रामेश्वरी थापाको कोखबाट सोलुखुम्बुमा भएको हो । उनले माध्यमिक तहको शिक्षा सिद्धार्थ वनस्थली हाइस्कुलबाट हासिल गरेका हुन् । सुरुमा गणित विषय पढाउने शिक्षक श्यामकृष्ण खड्गी (जससँग उनले पछि सभापतिमा प्रतिस्पर्धा गरे) जस्तै डाक्टर वा इन्जिनियर बन्ने उनको चाहना थियो । उनले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले २०६५ वैशाखमा नेपाली कांग्रेसका नेता अर्जुननसिंह केसीकी छोरी अञ्जना केसीसँग विवाह गरेका हुन् । उनका चलचित्र हेर्ने, अध्ययन गर्ने र घुमफिर गर्ने रुचि छ । उनले ‘संविधान सभामा नेपाली कांग्रेस’ नामक पुस्तकसमेत लेखेका छन् ।
थापाले २०४६ सालको जनआन्दोलनदेखि विद्यार्थी राजनीति सुरु गरेका थिए। कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीतिमा होमिएका उनी २०५१ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्य, २०५३ मा स्ववियु सचिव र २०५५ मा स्ववियु सभापति बने । त्यसपछि २०५७ मा नेविसंघको केन्द्रीय उपाध्यक्ष र २०५९ देखि २०६१ सम्म नेविसंघको महामन्त्री भए ।
२०६२–०६३ को जनआन्दोलनका क्रममा तत्कालीन राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनविरुद्धको आन्दोलनमा आक्रामक र ओजनदार भाषण गरेर उनी राष्ट्रिय स्तरमा चर्चामा आएका थिए ।
पार्टीभित्र निरन्तर पुस्तान्तरण र संगठनात्मक सुधारको एजेन्डा उठाउँदै आएका थापा कांग्रेसको १२औँ महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका थिए । १३औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको टिमबाट महामन्त्रीको उम्मेदवार बनेर तेस्रो मत ल्याएका उनलाई तत्कालीन सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । त्यसपछि १४औँ महाधिवेशनमा डा. शेखर कोइराला प्यानलबाट उम्मेदवार बन्दै उनी महामन्त्रीमा सर्वाधिक मतसहित विजयी भएका थिए ।
थापा २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक र २०७०, २०७४ तथा २०७९ को निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदै आएका छन् । उनले २०७१ सालमा संसद्को कृषि तथा जलस्रोत समितिको सभापति र २०७३ सालमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भएर स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण सुधारका प्रयाससमेत गरेका थिए ।
पार्टीभित्र नेतृत्व परिवर्तन, वैधानिकता र संगठनात्मक सुधारको एजेन्डा बोकेका थापा विशेष महाधिवेशनमार्फत पार्टीको मूल नेतृत्वमा पुगेका थिए र हाल १५औँ महाधिवेशनबाट औपचारिक रूपमा नेपाली कांग्रेसको सभापति पदमा निर्वाचित भएका छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved