भैयादुज मनाउँदै

  • कार्तिक २५, २०८३ | १२९ पटक पढिएको | सीमा संदेश
alt

मिथिला क्षेत्रमा आज कात्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै भैयादुज पर्व मनाइँदै छ ।

दीपावली पर्वको अन्तिम दिन मनाइने भैयादुजसँगै यस वर्षको दीपावली पर्व सम्पन्न हुँदैछ । कात्तिक कृष्ण त्रयोदशीका दिन धनतेरसबाट सुरु भएको दीपावली पर्व तिथिको घटबढका कारण यस वर्ष छ दिनसम्म मनाइएको हो । सामान्यतया पाँच दिन मनाइने यो पर्व यस वर्ष एक दिन लम्बिएको छ ।

मधेस प्रदेशको महोत्तरीसहित मिथिला क्षेत्रका दिदीबहिनी आज दाजुभाइको पूजनको तयारीमा छन् । यमपञ्चकको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयामा दिदीबहिनीले दाजुभाइलाई घरमा निम्त्याएर पूजा गर्ने मैथिल परम्परा छ । मिथिलामा यस पर्वलाई भैयादुज, भरद्वितीया र भातृद्वितीया पनि भनिन्छ ।

विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नै घरमा निम्त्याएर पर्व मनाउने चलन छ भने अविवाहित दिदीबहिनी र दाजुभाइ एउटै घरमा बस्ने भएकाले स्वनिवासमै यो पर्व मनाइन्छ ।

पहाडी समुदायमा तिहार भनिने यस पर्वलाई मैथिली भाषामा दिवाली वा दीपावली भनिन्छ । पर्व मनाउने विधि पहाडी र मैथिल समुदायमा केही फरक भए पनि यसको पौराणिक कथावस्तु एउटै रहेको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्ड विषयका शिक्षक तथा मैथिल लोकसंस्कृतिका जानकार शोभाकान्त झाले बताए ।

उनका अनुसार सत्ययुगमा राजा बलिका बहिनी गङ्गा र यमुनाले दाजुको सौर्य, कल्याण र दीर्घायुको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिएको कथासँग यस पर्वको परम्परा जोडिएको छ ।

मैथिल परम्पराअनुसार भैयादुजमा दिदीबहिनीले दाजुभाइलाई निम्ता गर्छन् । निम्ता मान्न जाने दाजुभाइले नयाँ वस्त्र, आभूषण र कोसेली लिएर जाने चलन छ । दिदीबहिनीले घरमा पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो) ले अरिपन अर्थात् चतुर्भुज आकारको घेरा बनाउँछन् । त्यसपछि उक्त घेराभित्र काठको पिरामा दाजुभाइलाई बसाएर कोपरामा राखी तातोपानीले गोडा धुने परम्परा छ ।

त्यसपछि अञ्जुली फैलाएका दाजुभाइलाई पिठार, पानको पात र सुपारी दिएर सप्तरङ्गी टीका लगाइदिने चलन छ । पूजा विधि पूरा भएपछि दिदीबहिनीले गङ्गा र यमुनाको जस्तै वेग र कीर्ति दाजुभाइमा कायम रहोस् भन्ने कामनासहित गीत गाउँछन् ।

यस क्रममा दाजुभाइलाई सुकेको केराउ चपाउन दिने विधिलाई ‘बजरी खुवाउने’ भनिन्छ । कडा केराउको दानालाई वज्रसँग तुलना गरी ‘बजरी’ भनिएको मैथिल समुदायका जानकार बताउँछन् । जलेश्वर नगरपालिका–५ पर्साकी महिला सामाजिक अगुवा अनिता शर्माका अनुसार यस विधिले दाजुभाइको शरीर वज्रझैँ बलियो र कठोर होस् भन्ने कामना व्यक्त गर्छ ।

पूजा विधि पूरा भएपछि दाजुभाइले दिदीबहिनीको आँचलमा नयाँ वस्त्र, आभूषण र नगद दक्षिणा राखिदिन्छन् । त्यसपछि दिदीबहिनीले दाजुभाइलाई मिष्ठान्न भोजन गराएर पर्व सम्पन्न गर्छन् । यस पर्वको पूजाका लागि मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा द्वितीया तिथिको शुभसाइत निर्धारण गरिन्छ ।

मिथिलामा दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउने अन्य पर्व पनि छन् । साउन पूर्णिमामा मनाइने राखी पर्वको कथा पनि राजा बलि र उनका बहिनी गङ्गा तथा यमुनासँग जोडिएको छ । त्यसैगरी कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मनाइने सामाचकेवा पर्व भगवान् श्रीकृष्णका छोरा साम्ब र छोरी सामाबीचको प्रेम, स्नेह, समर्पण र त्यागको कथामा आधारित मानिन्छ ।

यी तीनवटै पर्व दाजुभाइ र दिदीबहिनीबीचको आपसी प्रेम, पारिवारिक सद्भाव र समर्पणका प्रतीक रहेको मैथिल समुदायका अगुवाहरू बताउँछन् ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब