महासचिव गुटेरेसको हस्ताक्षर किर्ते गरी ९० जनाबाट अढाई करोडभन्दा धेरै ठगी

  • कार्तिक १५, २०८० | ५३५ पटक पढिएको | सीमा संदेश
alt

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको हस्ताक्षर किर्ते गरी ९० जनालाई ठगी गर्ने सुरुचि भुजेल जेल चलान भएकी छिन् । जिल्ला अदालत काठमाडौंले सोमबार उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । संयुक्त राष्ट्रसंघमार्फत टर्की पठाउने आश्वासन दिएर उनले पीडितहरूबाट अढाई करोडभन्दा धेरै रकम उठाएकी थिइन् । 

भुजेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत महिना पक्राउ गरेको थियो । आइतबार जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर भएकोमा अदालतले थुनामा पठाएको हो । 

भूकम्पले क्षतिग्रस्त टर्कीका सहरको पुनर्निर्माणका लागि राष्ट्रसंघमार्फत लैजाने भन्दै सुरुचिलगायतले झुक्याएर ठगी गरेका थिए । महासचिव गुटेरेसले नै हस्ताक्षर गरेको कामको अफर देखाएर उनीहरूले पैसा उठाएका थिए । ९० जना पीडितले दुई करोड ५९ लाख ७९ हजार पाँच सय रुपैयाँ ठगी गरिएको भन्दै सिआइबीमा जाहेरी दिएका थिए । सोही आधारमा अनुसन्धान गरी सरकारी वकिलमार्फत मुद्दा दायर गरिएको सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए । उनलाई सात वर्षसम्म कैद सजायको माग गरी मुद्दा दायर गरिएको थियो । 

प्रहरीले सुरुचिका श्रीमान् विनोद श्रेष्ठ तथा भाइ सुजन भुजेललाई पनि फरार प्रतिवादीका रूपमा मुद्दा दायर गरेको छ । ठगीका मुख्य योजनाकार विनोद भएको प्रहरीले जनाएको छ । 

पीडितहरूले दिएको जोहरीअनुसार युएन टर्कीको लेटरप्याटमा राष्ट्रसंघका महासचिव गुटेरेसले नै हस्ताक्षर गरेको अफरलेटर देखाइएको थियो । सोही पत्रका आधारमा विश्वासमा परेर उनीहरूले पैसा बुझाएका थिए ।  मासिक एक हजार चार सय डलर तलब हुने र पिआरकोसमेत सम्भावना हुने भन्दै पैसा असुलिएको थियो । एक व्यक्तिले चार लाख रुपैयाँसम्म बुझाएका थिए । 

पैसा बुझाएपछि इभिसासमेत दिएका थिए । तर, त्यो पनि नक्कली भएको खुलेको छ । पछि श्रेष्ठ फरार भएपछि पीडितहरू प्रहरीकोमा पुगेका थिए । धेरै कारोबार सुरुचीको बैंक खातामार्फत भएकाले प्रहरीले उनलाई पक्राउ गरी मुद्दा चलाएको हो । विनोद र सुरुचीले काठमाडौंको चुच्चेपाटीमा जमघट एन्ड बाइट्स रेस्टुरेन्ट चलाउँदै आएका थिए । पीडितहरूलाई त्यहीँ बोलाएर झुटो आश्वासन दिई उनले ठग्दै आएका थिए । सुरुचीले भने सबै लेनदेन श्रीमानले गरेकाले आफूलाई जानकारी नभएको बयान दिएकी थिइन् । 

इन्स्टाग्रामबाट चिनेका युवकद्वारा यौनशोषण र ठगी 

सामाजिक सञ्जाल इन्स्टाग्रामबाट चिनजान भएका युवालाई विश्वास गर्दा एक युवतीले लाखौँ गुमाएकी छिन् भने यौनशोषणमा समेत परेकी छिन् । शोषण गर्ने रामेछाप मन्थली घर भई बौद्ध बस्ने जेरी भन्ने नवीन तामाङ लामालाई प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेकोमा अदालतले उनलाई थुनामा पठाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले तामाङलाई पक्राउ गरी जबर्जस्ती करणी र ठगी मुद्दा चलाएको थियो । पीडितको जाहेरीअनुसार तामाङले कल मी मिस्टर तामाङ नामक  इन्स्टाग्राम अकाउन्टबाट युवतीलाई रिक्वेस्ट पठाई चिनजान भएको थियो । 

तामाङले आफू ३ कक्षादेखि अमेरिकामा अध्ययन गरेको र अमेरिका पठाइदिन सक्ने भन्दै नजिकिएका थिए । त्यही आश्वासनमा विभिन्न ठाउँमा राखेर यौनशोषण गरेको र १४ लाख रुपैयाँसम्म ठगी गरेको उजुरी दिएकी छिन् । पछि सम्पर्कविहीन भएपछि युवतीले प्रहरीमा उजुरी गरेकी हुन् । तामाङलाई मंगलबार काठमाडौं जिल्ला अदालतले थुनामा पठाएको छ । 

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब