३८ देशमा फैलियो कोरोनाको नयाँ सब–भेरियन्ट जेएन.१, विज्ञ भन्छन्– नेपालले नजरअन्दाज गर्नु हुँदैन

  • पुस ५, २०८० | ३४२ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । भारतमा कोरोनाको नयाँ उप–प्रजाति फैलिएसँगै नेपालमा यसको जोखिमलाई लिएर चासो बढेको छ । भारतमा जेएन.१ बाट चारजनाको मृत्यु भइसकेको छ । बुधबारसम्म कोरोनाको यो भेरियन्ट ३८ मुलुकमा फैलिएको छ ।
 
अघिल्ला लहरहरूको अनुभव र भारतसँगकोे खुला सीमाका कारण नेपालले यसलाई नजरअन्दाज गर्न नहुने विज्ञहरूको जोड छ । 

३८ देशमा फैलियो जेएन.१
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले हाल देखिएको जेएन.१ लाई यसअघि देखिएको ओमिक्रोनको उप–प्रजाति बीए.२.८६ कै समूहको सब–भेरियन्ट भएको जनाएको छ ।

डिसेम्बर पहिलो साता अमेरिकाले यसलाई जेएन.१ को रुपमा पुष्टी गरेको थियो । त्यसयता अमेरिकाका मध्यपश्चिमी सहरहरूमा यो भेरियन्ट देखिइरहेको छ । १९ डिसेम्बरसम्म आइपुग्दा फ्रान्स, अमेरिका, क्यानडा, बेलायत, स्वीडेन, सिंगापुर, चीन, बेल्जियम र भारतसहित ३८ देशमा यो सब–भेरियन्ट देखिएको छ । 

भारतमा बुधबारसम्म चारजनाको जेएन.१ संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयको बुधबारको तथ्यांक अनुसार भारतमा अहिले पनि कोरोनाका दुई हजार ३११ सक्रिय संक्रमित छन् । विशेषगरी गोआ, केरला, महाराष्ट्रलगायत सहरमा संक्रमण बढिरहेको छ । 

नयाँ सब–भेरियन्ट कति घातक ? 
यो सब भेरियन्टलाई डब्लूएचओले ‘भेरियन्ट अफ इन्ट्रेस्ट’को वर्गमा राखेको छ । डब्लूएचओले चासो राखेको तर तत्काल जनस्वास्थ्यमा उच्च जोखिम ननिम्त्याउने प्रकृतिका भाइरस प्रजातिहरूलाई भेरियन्ट अप इन्ट्रेस्टमा राख्ने गरेको छ । जसमा विशेषता बदलेर उप–प्रजाति बनेका र नयाँ रूपमा देखिएका एउटै समूहका सब–भेरियन्टहरू पर्दै आएका छन् । 

डब्लूएचओका अनुसार अहिलेको अवस्थालाई हेर्दा जेएन.१ को जनस्वास्थ्यमा कम जोखिम देखिन्छ । यूएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन्सन (सीडीसी)का अनुसार डिसेम्बरको पहिलो साता अमेरिकामा देखिएका कोरोना केसमध्ये १५ देखि २० प्रतिशतमा जेएन.१ पुष्टी भएको थियो । 

भारतमा देखिएका संक्रमितमा यसअघिका ओमिक्रोन र डेल्टाको संक्रमणमा देखिएजस्ता जटिल लक्षण नदेखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

भारतमा हाल संक्रमण भएकाहरूमा ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, टाउको दुख्नेजस्ता लक्षण नै देखिएको म्याक्स अस्पतालका वरिष्ठ कन्सल्टेन्ट डा. रजनीश श्रीवास्तवले द इकोनोमिक टाइम्स्सँग बताएका छन् । यस्ता लक्षण ४ देखि ५ दिन देखिने र केही संक्रमितमा स्वासप्रस्वासमा समेत समस्या निम्त्याएको उनको भनाइ छ । 

नेपालमा कति जोखिम ? 
कोरोनाका तीनवटा लहरलाई हेर्दा नेपाल–भारत खुला सीमाकै कारण संक्रमण बढी भित्रिएको तथ्यांक छ । हाल देखिएको जेएन.१ जनस्वास्थ्यका हिसाबले उच्च जोखिमपूर्ण नभए पनि ढिलोचाँडो भारतबाट नेपाल भित्रिने जोखिमलाई नकार्न नमिल्ने विज्ञहरु बताउँछन् । 

“जेएन.१ नयाँ सब–भेरियन्ट होइन, विभिन्न देशमा देखिइरहेकै हो । तर भारतमा फैलिनुले हाम्रा लागि विशेष अर्थ राख्छ । अघिल्ला लहरहरूको अनुभव हेर्ने हो भने नेपालमा ढिलोचाँडो आउँछ,” वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, “आजसम्मको लक्षण हेर्दा जटिल देखिँदैन  । तर हामीले पूर्णरुपमा नजरअन्दाज गर्न मिल्दैन ।”

विशेषगरी सीमानाका र नयाँ लक्षण बोकेका व्यक्तिमा सरकारले निगरानी बढाउनुपर्ने उनको भनाइ छ । कतिपय अवस्थामा सब–भेरियन्टका फरक लक्षण देखिँदा वा कमजोर प्रतिरोध प्रणाली भएका व्यक्तिमा यसले जोखिम निम्त्याउनसक्नेमा सजग रहनुपर्ने डा. पुनको  सुझाव छ । 

‘प्रयोगशालाले निगरानी गरिरहेको छ’ 
नेपालमा लामो समयदेखि कोरोना संक्रमण नदेखिएको अवस्थामा नयाँ सब–भेरियन्टलाई नजिकबाट नियालिरहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला एनपीएचएलकोले जनाएको छ । एनपीएचएलका सूचना अधिकारी कृष्णप्रसाद जैशी पछिल्लो समय नेपालमा कोरोनाको कुनै नयाँ सब–भेरियन्ट नदेखिएको बताउँछन् । 

“स्वासप्रस्वासजन्य संक्रमणहरूमा हामीले निरन्तर जिन सिक्वेन्सिङमार्फत् भेरियन्ट पहिचान गरिरहेका छौँ, नेपालमा पछिल्लोपटक कुनै नयाँ सब–भेरियन्ट वा जोखिमयुक्त भेरियन्ट फेला परेको छैन”, जैशी भन्छन् । 

असोजयता कोरोना संक्रमण पुष्टी भएका १२ वटा नमूनामाथि जिन सिक्वेन्सिङ भइरहेको उनले जानकारी दिए । 

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित गाँजा बरामद

सिराहाको सीमावर्ती औरही गाउँपालिका– ४, खजनपुर गाउ ...

कल्याणपुरमा आगलागी हुँदा करिब ५ लाखको क्षति

सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब