एउटै मञ्चबाट प्रमुख दलका शीर्ष नेताको सन्देश : ‘राजतन्त्र फर्किन दिँदैनौँ, गणतन्त्रको रक्षार्थ एकजुट छौँ’

  • पुस १७, २०८० | ४०६ पटक पढिएको | सीमा संदेश
alt

प्रमुख दलका शीर्ष नेताहरूले राजतन्त्र फर्काएर तानाशाही व्यवस्था लाद्ने कुनै सम्भावना नभएको भन्दै लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ एकजुट रहेको सन्देश दिएका छन् । कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसको सान्दर्भिकताका विषयमा सोमबार आयोजना गरेको कार्यक्रममा प्रमुख दलसहितका शीर्ष नेताहरूले सामूहिक रूपमै त्यस्तो सन्देश दिएका हुन् । उनीहरूले लोकतान्त्रिक गणतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्र भएकाले राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, शान्ति, विकास र सुशासनका लागि वास्तविक एकतासहित अगाडि बढ्नुपर्ने आवश्यकतासमेत औँल्याए । 

 ‘बालकुमारी घटना लोकतान्त्रिक गणतन्त्रविरुद्ध डिजाइन हुन सक्छ’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार ललितपुरको बालकुमारीमा मन्त्रीको गाडी जल्ने र दुईजना युवाको ज्यान जाने गरी भएको घटना लोकतान्त्रिक गणतन्त्रविरुद्धकै षड्यन्त्र हुन सक्ने बताए । ‘अस्ति (बालकुमारी)को घटना हामी कसैले पूर्वअनुमान गर्ने खालको थिएन । म अहिले सबै भन्न चाहन्नँ । चिज केही गम्भीर लागेको छ, सामान्य छैन त्यो । दुईजना युवाहरूको जस्तो परिवेशमा, जसरी हत्या भएको छ, इतिहासमा जेजस्ता गतिविधि भएका छन् । गाडी जलाउनेजस्तो गतिविधि भएको छ, चिज त्यस्तो छैन, जस्तो देखिएको छ । त्यसभित्र अर्कै केही छ भन्ने मैले अनुभूति गरेको छु,’ प्रचण्डले भने, ‘कहीँ कतै लोकतान्त्रिक गणतन्त्रविरुद्धको डिजाइन त छैन भन्ने देखिन्छ ।’

घटना गम्भीर प्रकृतिको आशंका गरिएकैले तत्काल उच्चस्तरीय आयोग बनाएर छानबिन अगाडि बढाइएको र घटनासँग जोडिएकाहरूलाई निलम्बन गरिएको पनि उनले प्रस्ट्याए । सरकारले एक वर्षको अवधिमा कतिपय राम्रा काम गरे पनि सहयात्री ठूलो दल कांग्रेसले स्वामित्व लिन नचाहेको आशंका गर्दै प्रधानमन्त्री प्रचण्डले असन्तुष्टि पनि जनाए । ‘राम्रो काम गरेकोमा स्वामित्व

लिन डराउनुभएन । प्रचण्ड सानो पार्टीको नेता के–के कता–कताबाट प्रधानमन्त्री भयो भनेर कांग्रेसले सरकारले गरेका राम्रा काम खुलेर समर्थन नगर्ने, स्वामित्व लिन डराउने गर्नुभएन, हिचकिचाउनुभएन,’ उनले भने, ‘मेरो यो अपिल छ ।

हाम्रो एउटा सहमति र समझदारीले अझ भनौँ मेरो ठाउँबाट जोखिम उठाएर अहिलेको वातावरण बनेको हो । यो महत्वलाई, गहिराइलाई बुझिदिन अपिल गर्दछु ।’ उनले सहमति र सहकार्यको संस्कृतिलाई उन्नत बनाउनकै लागि संसदीय अभ्यासको इतिहासमा प्रमुख प्रतिपक्षीलाई संसद्को लेखा समितिको नेतृत्व मात्रै दिने परम्परा तोडेर तीनवटा समितिको नेतृत्व दिइएको पनि प्रचण्डले बताए । 

 ‘गणतन्त्रको रक्षा गर्न हामी एकजुट भएर जान्छौँ’ 
कांग्रेस सभापति शेरबहादुर देउवाले अहिले विभिन्न बहानामा लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास भए पनि त्यसको रक्षार्थ सबै पार्टी एकजुट भएर अगाडि बढ्ने प्रस्ट्याए । ‘अहिले अनेकौँ बहाना खोजेर लोकतान्त्रिक गणतन्त्रको खिलापमा वातावरण बनाउने प्रयास भएको छ । लोकतन्त्रको प्रतिस्पर्धा अझ राम्रो लोकतन्त्र हो, लोकतन्त्रको विकल्प भनेकै उन्नत लोकतन्त्र हो । लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन । त्यसैले लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ हामी एक हुनुपर्छ, सबै एक भएर जाऔँ,’ देउवाले भने । नेपालमा प्रतिस्पर्धाका बाबजुद पार्टीहरूबीच हार्दिकता, मेलमिलाप र भाइचाराको सम्बन्ध रहेको भन्दै देउवाले त्यसबाट विदेशीहरूसमेत प्रभावित भएको बताए । उनले दलहरूबीचको एकता र मेलमिलापमा कांग्रेसका तत्कालीन सभापति बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिको प्रभाव रहेको जिकिरसमेत गरे । 

 ‘गणतन्त्रको पक्षमा एक छौँ, राजतन्त्र फर्किन दिँदैनौँ’
एमाले अध्यक्ष केपी ओलीले प्रमुख तीन दल लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ एकै ठाउँ उभिएका कारण कतिपयलाई त्यही कुरा टाउको दुखाइको विषय बनेको बताए । ‘सामाजिक सञ्जाल र पत्र–पत्रिकाको तीन नेता भेटेको खबरले पनि कतिपयलाई टाउको दुख्छ । राजतन्त्र ल्याउन नदिने पो हुन् कि क्या हो ? हाम्रो कपाल त्यत्तिकै फुलेको छैन । हामी राजतन्त्र फर्किन दिँदैनौँ, खुलस्त छ त्यो कुरा । कुनै पनि तानाशाही व्यवस्था फर्किन दिँदैनौँ,’ उनले भने, ‘लोतान्त्रिक गणतन्त्र, शान्ति, सुशासन, विकासको प्रश्नमा एक छौँ, एक ठाउँमै हुनुपर्छ ।’ 

राष्ट्रियता, विकास र शान्तिको मुद्दामा दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै ओलीले साँचो अर्थमा मेलमिलाप सुरु हुनुपर्ने बताए । ‘प्रतिस्पर्धा भए पनि आधारभूत कुरामा मेलमिलाप गरौँ । लोकतान्त्रिक गणतन्त्र, शान्ति सुव्यवस्थामा आधारभूत, विधिअनुसार सरकार चल्नेमा मेलमिलाप गरौँ,’ उनले भने । बालकुमारी घटना भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाकै कारण भएको ओलीले गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए । ‘हेर्दाहेर्दै समय नघर्कियोस्, मान्छे विदेश गइरहेका छन्, विदेश जान मारिरहेका छन् । मारिए किन ? किन मारिनुपर्‍यो ? मन्त्री हुलमा गाडी लिएर किन जानुपर्‍यो ? नगइनहुने के पर्‍यो ? थुप्रै प्रश्नको जवाफ के हो ? हुलमा गएर उत्तेजित गराएर, निहुँ खोजेर, गोली चलाएर मान्छे मारेर गोली मात्रै चलाएको होइन, बन्दुकको कुन्दाले यसरी हानेको छ कि, घुत्रुकै ठाउँकोठाउँ मरेको छ । सहज कुरा हो यो ?’ उनले प्रश्न गरे । 

ओलीले कांग्रेस अहिलेको सरकारप्रति सन्तुष्टि रहेको भन्दै व्यंग्यसमेत गरे । ‘अहिलेको परिस्थिति, अहिलेको राज्यसञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट रहेको कांग्रेसको तलाउमा मैले एउटा ढुंगा फुत्त फालेर कुनै तरंग ल्याउने मेरो इच्छा छैन । त्यसकारण, म त्यतापट्टि बिल्कुलै जान चाहन्नँ । कुनै अमनचयनमा खलल पनि पार्न चाहन्नँ । त्यस सीमाभित्र मात्र म बोल्छु,’ उनले भने ।

 नेपाल, भट्टराई र केसीको जोड पनि सहमतिमै 
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री तथा नेपाल समाजावादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र राजमोका अध्यक्ष चित्रबहादुर केसीले पनि दलहरू मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । नेपालले गणतन्त्रको रक्षार्थ सबै एकजुट बन्नुपर्नेमा जोड दिए भने भट्टराईले सबै दल सम्मिलित सर्वदलीय सरकार बनाएर स्थिरता दिनुपर्ने प्रस्ताव गरे । केसीले गणतन्त्र ल्याएका दलकै कारण जनतामा वितृष्णा देखिएकाले त्यसको अन्त्यका लागि सबै मिलेर बढ्नुपर्ने बताए । नयाँ पत्रिका

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब