लागूऔषध तस्करसित सईले घुस लिएको आरोप ! घुस दिएको फोटो सार्वजनिक ! अनुसन्धान गर्दै एसपी

  • असार ८, २०८२ | ३८१ पटक पढिएको | सीमा संदेश
alt

सप्तरी जिल्लाको कोशी व्यारेजमा होटेल सञ्चालन गर्ने एकजना व्यवसायी गाँजा कारोबारी भएको अभियोगमा पक्राउ परेपछि घटनामा नयाँ मोड आएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले असार ३ गते हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्बर १ का बुधन भनिने जोगानन्द मण्डललाई प्रहरीले लागूऔषध गाँजाको अवैध कारोबारको अभियोगमा सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको सूचना सार्वजनिक गरेको थियो । सो सूचनामा मण्डललाई असार १ गते नै पक्राउ गरिएको थियो । २०७९ पुस १४ गते कोशी नदीको पूर्वी टापुको भँगालोमा लुकाई राखेको २० बोरा अवैध गाँजा प्रहरीले बरामद गरेको थियो । सो क्रममा प्रहरीले जोगानन्द मण्डललाई अभियुक्त बनाए पनि उनी पक्राउ परेका थिएनन् । तर असार १ गते पक्राउ गरिएको जोगानन्द मण्डलले प्रहरीसित १० लाख रुपैयाँमा सो मुद्दाको ‘सेटिंग’ गरेको बताइएको छ । सहमति भएको १० लाख मध्ये दुई पटक गरी प्रहरीले ४ लाख रुपैयाँ लिइसकेको बताइएको छ ।

हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्बर १ को भारदहमा रहेको ईलाका प्रहरी कार्यालयमा कार्यरत सई विश्वनाथ त्रिपाठीले दुई पटक गरी ४ लाख रुपैयाँ लगेको मण्डलको पारिवारिक सदस्यहरुले जनाएका छन् । उनीहरुले सार्वजनिक गरेको भिडियोमा सई त्रिपाठीले हातमा केही लिएको देखिन्छ । हातमा मोटो गड्डी जस्तो वस्तु देखिएकोले त्यो रुपैयाँको बण्डल रहेको दाबी गरिएको छ । सई त्रिपाठीले मण्डलका भाईसित रुपैयाँ लिएको भिडियो उनकै होटेलको सीसीटीभी क्यामरामा कैद रहेको फुटेज हो । वर्दीमा नै रहेका सई त्रिपाठीले एक हातले मोबाइल समातेर कुरा गरिरहेका छन् भने अर्को हातले रुपैयाँ लिइरहेको सीसीटीभी फुटेजमा देखिन्छ । सई त्रिपाठी हाल पनि इलाका प्रहरी कार्यालय भारदहमा नै कार्यरत छन् ।

सामाजिक सञ्जालमा सो भिडियो र फोटो निकै भाइरल भएको छ । यो केही महिना पूर्व अर्थात जाडोको महिनामा भएको लेनदेनको फुटेज जस्तो देखिन्छ । सई त्रिपाठी र रकम बुझाउने मण्डलले ज्याकेट लगाएको देखिन्छ । जोगानन्द मण्डललाई पक्राउ गरी म्याद थप गरिएको विज्ञप्ति प्रहरीका सूचना अधिकारी डीएसपी जितेन्द्र कुमार बस्नेतले मण्डल पक्राउ परेको र म्याद थप गरी उनको विषयमा थप अनुसन्धान भइरहेको जनाएका छन् । त्यो सूचना सार्वजनिक भएपछि मण्डल परिवार तातेको देखिन्छ । उनीहरुले प्रहरीसित भएको लेनदेन र सीसीटीभीको भिडियोसमेत सार्वजनिक गरेका छन् ।

जोगानन्द मण्डलका पिता भागवत मण्डलले प्रहरीले पटक पटक गरी रकम लिइसके पनि दुःख दिइरहेको जनाएका छन् । ‘प्रहरीका घुमुवाहरु होटेलमा आएर खाने र बिल नतिरी जाने गरेका छन्’ मण्डलले भने, त्यो सबको कुनै लेखाजोखा नै छैन् । तर रुपैयाँ लिएर पनि पक्राउ गरेकोमा भागवत मण्डल बहुत दुःखी देखिएका छन् ।

पक्राउ गरिएको जोगानन्द मण्डल नियमित प्रहरीको सम्पर्कमा नै रहेको उनका भाईले दाबी गरेका छन् । दाईलाई पक्राउ नगर्नका लागि पटक–पटक रकम तिरेको पनि जोगानन्दका भाईले खुलाएका छन् । होटेल व्यवसाय गरी ६ जनाको परिवारलाई पालिरहेका भागवत मण्डलले पटक पटक रुपैयाँ लिएर प्रहरीले लामो समयसम्म दुःख दिइरहेको दुखेसो पोखेका छन् । उनले होटेलमा खाएर रकम नदिने प्रहरीको बानी नै परेको सुनाउने गरेका छन् ।

यस सम्बन्धमा सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवाडाले अनुसन्धान भइरहेको जनाएका छन् । ‘सामाजिक सञ्जालमा फैलिएको भिडियोको सबै प्रकारले परीक्षण गरी अनुसन्धान भइरहेको छ ।’ उनले भने, भिडियोमा देखिएको फोटो जाडो महिनाको भएको देखिन्छ । मण्डल परिवारका अनुसार सई विश्वनाथ त्रिपाठीले एसपीसित सबै कुरा १० लाखमा मिलाएको दाबी गरेका छन् । उनले नै एसपी साहेबलाई रुपैयाँ दिन पटक पटक आएर लगेको मण्डल परिवारको कथन छ । भिडिओ सार्वजनिक सञ्जालमा भाइरल भएपछि प्रहरीलाई घटनाको छानबिन गर्न दबाब बढेको छ ।

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

हुलाकी सडकका २४ पुल बने, ३७ अझै बाँकी

मधेश प्रदेशका सिरहा, धनुषा, महोत्तरी र सर्लाहीमा हुलाकी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब