मधेस प्रदेशका जिल्लाहरूमा एकै वर्षमा ४ सय ७४ जना नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन्।
३८ औँ विश्व एड्स दिवसका अवसरमा प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा सोमबार जनकपुरधाममा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो।
नयाँ सङ्क्रमितमध्ये १६ जना गर्भवती महिला रहेको स्वास्थ्य निर्देशनालयका एचआइभी सम्पर्क व्यक्ति राजवीर यादवले जानकारी दिए।उनका अनुसार नयाँ सङ्क्रमितहरूमा अधिकांश वैदेशिक रोजगारीबाट फर्किएका पुरुषहरू रहेको, साथै महिला, तेस्रो लिङ्गी तथा यौनकर्मीहरू पनि रहेको जानकारी गराए।
सङ्क्रमितहरूलाई दातृ निकायको सहयोगमा नेपाल सरकारले उपलब्ध गराएको एचआइभी एड्स विरुद्धको औषधि मधेस प्रदेशका ११ वटा एआरटी सेन्टरमार्फत स्वास्थ्यकर्मीको निगरानीमा खुवाइँदै आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
जिल्लागत विवरणअनुसार सप्तरीमा १८१, बारामा २३८, महोत्तरीमा ३६४, रौतहटमा ३९०, सिरहामा ४२६, सर्लाहीमा ५२०, धनुषामा ८२२ र सबैभन्दा बढी पर्सा जिल्लामा १ हजार ८९६ जना सङ्क्रमित रहेका छन्। यसरी मधेस प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या ४ हजार ३ सय ३२ पुगेको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबै सङ्क्रमितलाई रोगसँग लड्ने क्षमता बढाउने औषधि नियमित रूपमा खुवाउने व्यवस्था गरिएको छ।
प्रदेशगत रूपमा सबैभन्दा बढी सङ्क्रमित बागमती प्रदेशमा ७ हजार १ सय ४ जना रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा ७ सय ३१ जना सङ्क्रमित छन्।
यसैबिच, एचआइभी एड्सबारे जनचेतना फैलाउने उद्देश्यले धनुषा जिल्लास्तरीय सामुदायिक विद्यालय हाजिरी जवाफ प्रतियोगितामा विजयी विद्यार्थी र विद्यालयलाई शिल्ड, पदक तथा प्रमाणपत्रसहित सम्मान गरिएको छ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved