विश्वभर हरेक घण्टा पाँच महिला तथा बालिकाको हत्या, अधिकांश हत्या आफ्नै श्रीमान् र प्रेमीबाट

  • मंसिर ९, २०८३ | ३४ पटक पढिएको | सीमा संदेश
alt

विश्वभर गत वर्ष प्रत्येक घण्टा औसत पाँच महिला तथा बालिकाको हत्या आफ्नै घनिष्ठ साथी (पार्टनर) वा परिवारका सदस्यबाट भएको छ । संयुक्त राष्ट्रसंघको नयाँ प्रतिवेदनअनुसार सन् २०२५ मा विश्वभर करिब ४७ हजार महिला तथा बालिका आफ्नै पार्टनर वा परिवारका सदस्यबाट मारिएका छन् ।

संयुक्त राष्ट्रसंघीय लागुऔषध तथा अपराध कार्यालय (यूएनओडीसी) र यूएन वुमनले मंगलबार सार्वजनिक गरेको ‘२०२६ फेमिसाइड ब्रिफ’ प्रतिवेदनमा महिला तथा बालिकाका लागि आफ्नै घर सबैभन्दा असुरक्षित स्थान बनेको उल्लेख छ । वर्षौंदेखि यो अवस्था लगभग उस्तै रहेको प्रतिवेदनले औंल्याएको छ ।

गत वर्ष विश्वभर जानाजानी हत्या गरिएका करिब ७८ हजार महिला तथा बालिकामध्ये ६० प्रतिशत अर्थात् झन्डै ४७ हजारको हत्या घनिष्ठ पार्टनर वा परिवारका सदस्यबाट भएको थियो । यो औसतमा दैनिक १२९ महिला तथा बालिका र प्रत्येक घण्टा पाँच जनाको हत्या हुनु हो ।

सन् २०२४ मा यस्तै प्रकृतिको हत्याबाट ५० हजार महिला तथा बालिका मारिएको अनुमान गरिएको थियो । पछिल्लो तथ्यांकमा संख्या घटेको देखिए पनि यो वास्तविक हत्यामा कमी आएको संकेत नभई तथ्यांक संकलन तथा अभिलेखीकरणमा सुधारका कारण भएको हुन सक्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।

कुनै पनि क्षेत्र हिंसाबाट सुरक्षित छैन

अफ्रिकामा प्रति एक लाख महिला जनसंख्यामा २.९ जनाको हत्या हुने गरेको छ । अमेरिकामा १.४, ओसिनियामा १.१, एसियामा ०.६ र युरोपमा ०.५ जनाको हत्या हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।

यूएनओडीसीकी कार्यकारी निर्देशक मोनिका जुमा लामो समयदेखि महिला हत्याका डरलाग्दा तथ्यांक सार्वजनिक हुँदै आएको बताउँछिन् । उनका अनुसार समाजमा कायम भयावह सोच, हानिकारक सामाजिक मान्यता र संस्थागत सुरक्षा संयन्त्रको कमजोरीले श्रीमती, छोरी, आमा वा दिदीबहिनीको हत्या समेत सहनयोग्य ठानिने वातावरण बनाइरहेको छ ।

chart-bar

उनले समाजको व्यवहार र सोच परिवर्तन गर्ने रणनीति अपनाउन, घरेलु हिंसा गर्ने व्यक्तिलाई लक्षित विशेष कार्यक्रम सञ्चालन गर्न तथा महिला सुरक्षा, मानवअधिकार र सम्मान सुनिश्चित गर्न लगानी बढाउनुपर्नेमा जोड दिएकी छन् ।

हत्या हिंसाको अन्तिम चरण, तर धेरैले पाउँदैनन् सुरक्षा

संयुक्त राष्ट्रसंघका अनुसार महिलाको हत्या प्रायः एकैपटक अचानक हुने घटना होइन । लामो समयदेखिको हिंसा, धम्की, दुव्र्यवहार र नियन्त्रणको क्रम अन्ततः हत्यामा परिणत हुने गरेको छ ।

तर, धेरै महिला तथा बालिकाले आफूमाथि भएको हिंसाबारे उजुरी गर्दैनन् । कतिपयले उजुरी गरे पनि आवश्यक सुरक्षा र संरक्षण पाउँदैनन् । हिंसा गर्ने व्यक्ति जीवनभर कानुनी कारबाहीबाट उम्किने अवस्था समेत रहेको प्रतिवेदनले औंल्याएको छ ।

epa_6b05ab8b6e3b-1795533707

यूएन वुमनकी कार्यकारी निर्देशक सिमा बहाउसले हिंसा सहन बाध्य महिलाले सुरक्षित रूपमा उजुरी गर्न सक्ने, संरक्षण पाउने र आवश्यक सहयोग उपलब्ध हुने व्यवस्था गर्नुपर्ने बताएकी छन् ।

उनका अनुसार हिंसाका प्रारम्भिक संकेतबारे उजुरी नहुँदा अनुसन्धान प्रभावकारी हुन सक्दैन, महिला तथा बालिकाले सुरक्षा पाउँदैनन् र दोषीलाई न्यायको दायरामा ल्याउन नसक्दा त्यसको परिणाम ज्यान जाने अवस्थासम्म पुग्न सक्छ ।

हत्याको समग्र दर घटे पनि महिला हत्या सुस्त गतिमा घट्दै

विश्वभर समग्र हत्या दर घट्दै गएको भए पनि महिलाको हत्या दर त्यसको तुलनामा सुस्त गतिमा घटिरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

सन् २०१० देखि २०२५ सम्म अमेरिकामा समग्र हत्या दर घटेको गति महिला हत्याको दर घटेको गतिभन्दा झन्डै दोब्बर थियो । युरोपमा पनि समग्र हत्या दर महिला हत्याको दरभन्दा करिब डेढ गुणा छिटो घटेको प्रतिवेदनमा उल्लेख छ ।

यसले महिला तथा बालिकामाथि हुने हिंसा र हत्यालाई रोक्न सामान्य अपराध नियन्त्रणका उपाय मात्र पर्याप्त नहुने देखाएको छ । घरेलु हिंसा नियन्त्रण, समयमै उजुरीको व्यवस्था, पीडितको सुरक्षा, सामाजिक सोचमा परिवर्तन र दोषीलाई प्रभावकारी कारबाही गर्नुपर्ने आवश्यकता प्रतिवेदनले औंल्याएको छ ।

कमलामा देवी मेलामा धामीझाँक्री र श्रद्धालुको घुइँच

मिथिलाको पौराणिक, धार्मिक तथा सांस्कृतिक परम्परासँग जोड ...

मंसिर ९ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ९ गते । बुधबार । ...

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब