कमलामा देवी मेलामा धामीझाँक्री र श्रद्धालुको घुइँचो

  • मंसिर ९, २०८३ | ४६ पटक पढिएको | सीमा संदेश
alt

मिथिलाको पौराणिक, धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको कमला नदीमा लाग्ने देवी मेलामा यस वर्ष पनि श्रद्धालु भक्तजनको ठूलो भीड लागेको छ । धनुषा–सिरहाको सिमाना भएर बग्ने कमला नदीको उत्तरवाहिनी क्षेत्रमा प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन लाग्ने यस मेलामा मधेसका विभिन्न जिल्लासहित छिमेकी भारतका हजारौँ श्रद्धालु सहभागी भएका छन् ।

धार्मिक विश्वास, तान्त्रिक साधना र पुस्तौँदेखि चल्दै आएको धार्मिक आस्थाको संगमका रूपमा रहेको यस मेलालाई कमलामाई मेला तथा धामीझाँक्रीको मेलाका रूपमा समेत चिनिन्छ । कार्तिक शुक्ल पूर्णिमाको अवसरमा लाग्ने यस मेलामा धनुषा, सिरहा, सप्तरी, महोत्तरी, उदयपुरलगायत जिल्लाका विभिन्न गाउँबाट धामीझाँक्री तथा सर्वसाधारण श्रद्धालु कमला नदीमा स्नान गर्न पुग्ने गर्छन् । त्यस्तै, सीमावर्ती भारतीय क्षेत्र मधुवनी, दरभंगा, समस्तीपुर, जयनगरलगायत स्थानबाट समेत ठूलो संख्यामा भक्तजन आउने गरेका छन् ।

कतिपय श्रद्धालु एक दिनअघि नै नदी किनारमा पुगेर रात बिताउने गर्छन् भने कतिपय आइतबार साँझदेखि नै बाजागाजासहित समूहमा नदीतर्फ प्रस्थान गर्ने परम्परा छ । मेलाको मुख्य आकर्षण धामीझाँक्रीहरूको तान्त्रिक साधना र देवीदेवताको आह्वान गर्ने परम्परा हो । नयाँ पुस्ताका सिकारु धामीझाँक्रीदेखि अनुभवी तथा पाका धामीसम्म आफ्नो धार्मिक तथा सांस्कृतिक विधिअनुसार कमला नदीमा पुग्छन् । उनीहरू मादल, ढोल, झ्याली, करताल र पिपहीजस्ता परम्परागत बाजाको तालमा आफ्ना इष्टदेवताको नाम उच्चारण गर्दै नदी किनारमा साधनामा तल्लीन हुन्छन् ।

पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामीझाँक्रीहरू हातमा आगो बालेको माटोको ढकना र बेतको लाठी लिएर नाच्ने, चिच्याउने तथा देवीदेवताको नाम पुकार्ने गर्छन् । कतिपयले आफूमा देवीदेवता प्रवेश गरेको विश्वास गर्दै विभिन्न धार्मिक क्रियाकलाप प्रदर्शन गर्छन् । यस क्रममा मूल धामीले स्थानीय लोकलयमा गीत गाउने परम्परा छ, जसलाई स्थानीय भाषामा ‘महराई’ भनिन्छ । महराइ, ढोल र झ्यालीको आवाजले नदी किनारको वातावरणलाई थप विशिष्ट बनाउने गरेको छ । स्थानीवासीहरुका अनुसार कार्तिक पूर्णिमाका दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने, नयाँ धामीझाँक्रीले दीक्षा प्राप्त गर्ने र देवी कमलेश्वरीबाट आशीर्वाद प्राप्त हुने धार्मिक विश्वास रहेको छ । यस दिन नदीमा स्नान गरेमा भूतप्रेत तथा नकारात्मक शक्तिबाट मुक्ति मिल्ने, घरपरिवारमा सुखशान्ति कायम हुने र मनोकांक्षा पूरा हुने धार्मिक मान्यता पनि रहिआएको छ ।

धामीझाँक्रीको परम्परा अनुसार तान्त्रिक साधना पूरा गर्न यस दिन विशेष विधि तथा मन्त्रको प्रयोग गरिन्छ । मूल धामीले नयाँ सिकारुहरूलाई मन्त्र तथा विधिबारे जानकारी गराउने र दीक्षा दिने चलनसमेत छ । यसरी एक पुस्ताबाट अर्को पुस्तामा तान्त्रिक ज्ञान, धार्मिक विधि र सांस्कृतिक परम्परा हस्तान्तरण हुँदै आएको छ । मिथिला– मधेशका ग्रामीण क्षेत्रमा धामीझाँक्रीलाई ‘भगता’ भन्ने गरिन्छ । उनीहरूले गाउँघरमा धार्मिक अनुष्ठान गर्ने, देवीदेवताको पूजा गर्ने तथा परम्परागत मान्यताअनुसार विभिन्न समस्या समाधानका लागि झारफुक गर्ने प्रचलन पनि रहेको छ । सिरहाका धामी रामप्रसाद यादवले जनाए अनुसार गाउँगाउँमा देवीदेवता प्रवेश भएको विश्वास गरिएका महिला तथा पुरुषलाई समूहमा कमला नदीमा स्नान गराउन ल्याउने गरिन्छ । यस दिन नदीमा स्नान गरेपछि उनीहरूको साधना पूरा हुने र धामी बन्ने प्रक्रिया अगाडि बढ्ने स्थानीय विश्वास छ ।

त्यसैगरी, बटेश्वर गाउँपालिकाका धामी मनोज महतोले कार्तिक पूर्णिमाका दिन भूतबैताल तथा कुलदेवताको आह्वान गरी स्नान गर्ने परम्परा पुस्तौँदेखि चल्दै आएको बताए । मेलामा सहभागी सर्वसाधारणले पनि आफ्नो आस्था र विश्वासअनुसार कमला नदीमा स्नान गर्ने तथा पूजापाठ गर्ने गर्छन् । कतिपयले आफूले गरेको भाकल पूरा भएपछि कमलामाईप्रति कृतज्ञता व्यक्त गर्न मेलामा आउने गरेका छन् । महोत्तरीबाट आएकी मालती महतोले आफ्नो मनोकांक्षा पूरा भएपछि कमला नदीमा स्नान गर्न आएको बताइन् । ‘मैले भाकल गरेकी थिएँ । मनोकांक्षा पूरा भएपछि यहाँ आएकी हुँ। हामी दुःखकष्टको अन्त्य र सुखशान्तिको कामना गर्दै स्नान गर्छौँ,’ उनले भनिन् ।

त्यस्तै, स्थानीय श्रद्धालु प्रमोद साहका अनुसार देवीदेवता प्रवेश भएको विश्वास गरिएका व्यक्तिहरू यस दिन कमला नदीमा स्नान गर्न आउने गर्छन् । धार्मिक आस्थाका आधारमा स्नान गर्दा मनोकांक्षा पूरा हुने विश्वास रहेको उनको भनाइ छ । यस मेलाको अर्को विशेषता स्नानपछि कमला नदीको पवित्र जल घर लैजाने परम्परा पनि रहेको छ । श्रद्धालुहरूले कमला नदी तथा गंगासागरको जल विभिन्न भाँडामा संकलन गरी घर लैजाने गर्छन् । उक्त जल घरको जमिनमा छर्केर धार्मिक अनुष्ठान तथा पूजापाठका लागि स्थान शुद्ध पार्ने चलन छ ।

कतिपयले यसलाई घरपरिवारको सुख, शान्ति र समृद्धिको प्रतीकका रूपमा लिने गरेका छन् । कमला नदीको सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, उत्तरवाहिनी र इनर्वालगायत घाटमा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहने गर्छ । मेलामा सहभागी हुन भारतबाट समेत ट्र्याक्टर, बस, जीपलगायत सवारीसाधनमा भक्तजन आउने गरेका छन् । यसले कमला मेलाको धार्मिक तथा सांस्कृतिक प्रभाव सीमापारिसम्म फैलिएको छ ।

विश्वभर हरेक घण्टा पाँच महिला तथा बालिकाको हत्या,

विश्वभर गत वर्ष प्रत्येक घण्टा औसत पाँच महिला तथा बालिक ...

मंसिर ९ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ९ गते । बुधबार । ...

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब