काठमाडौं । संस्कृतमा एउटा बढो चर्चित आहान छ– बिनास काले, विपरित बुद्धि । अर्थात, बिनास निम्तिएपछि मानिसको बुद्धि बिग्रन्छ । ठीक त्यही हालत भएको छ यतिबेला प्रधानमन्त्री केपी ओलीको । सधैं उटपट्याङ कुरा गर्न बानी परेका ओली पछिल्ला दिनमा भारतसँगको अनावश्यक विवादमा तानिएका छन् ।
कहिले के त कहिले के अभिव्यक्ति दिएर उनी आलोचित हुुने गरेका छन् । यसैक्रममा हिजो भानुजयन्तीको अवसर पारेर सरकारी निवासमै आयोजित एक कार्यक्रममा उनले नयाँ तथ्य खोले । भारतले नेपालमाथि सांस्कृतिक अतिक्रमण पनि गरिरहेको छ ।
नयाँ विवाद सिर्जना गर्दै उनले भने– मर्यादा पुरुषोत्तम रामचन्द्रको जन्म भारतको अयोध्यामा नभई नेपालकै चितवनको ठोरीस्थित अयोध्यापुरीमा भएको हो । उनले भनेको सही हो भने सरकारले यसबारे औपचारिक निर्णय गर्नुपर्छ । प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेका मानिसले यस्ता तथ्यहिन बकबास गर्दा नेपालको अन्तराष्ट्रिय छवि नै धुमिल हुनसक्छ । सदियौंदेखि स्थापित मूल्य मान्यतालाई चुनौती दिने कुनै आधार नभई ओलीले यस्तो अभिव्यक्ति किन पो दिए होलान् ? धेरैलाई आश्चार्यचकित बनाइ दिएको छ ।
हुन त उनी अहिले पार्टी भित्रको आन्तरिक चपेटामा छन् । त्यसैले तनाव बढेको छ । शीर्ष नेताहरु प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा गर्न जोडबल गर्दैछन् । जसले गर्दा ओलीको मनस्थिति नै खल्बलिएकाे छ । उता, विभिन्न रोगले ग्रस्त ओलीको औषधिको खुराक पनि अलि बढी नै छ , त्यसैले पनि उनी के बोल्नुपर्ने के बोल्न नहुनेमा बेसुर भएका छन् । सबैतिरबाट एकैचोटी आक्रमण हुन थालेपछि उनको मथिङ्गल नै खल्बलिएको प्रतीत हुन्छ । आफ्ना वरिपरीकाले जे भन्छन् त्यही कुरा सार्वजनिक रुपमा प्रकट गर्छन् त्यसैले उनी तित्राको मुखै बैरी जस्तो अवस्थामा पुगेका छन् ।
ओलीको पछिल्लो अभिव्यक्तिले भारतीयलाई उत्तेजित बनाउनु स्वभाविक छ । तर यस्ता बेतुकका कुराले नेपालीलाई समेत बोल्न अफ्ठेरो बनाइदिएको अवस्था छ । नेपालकै संस्कृतिविद्वहरु ओलीको अभिव्यक्तिले गलत सन्देश प्रवाहित गरेको बताउन थालिसके । नेपाल र भारतबीच जतिसुकै समस्या भएपनि धार्मिक र सांस्कृतिक रुपमा भने एकआपसमा जोडिएका छन् भन्दै उनीहरु यस्ता अफवाह फैलाउने काम देशकै कार्यकारीले गर्दा धर्म संस्कृति र परम्पराको धागो चुँडिने संभावना हुन्छ ।
उता, भारतको अयोध्या शहरका धर्मगुरुहरु पनि ओलीको यस्तो अभिव्यक्तिबाट आक्रोशित भएका छन् । अयोध्यामा रहेका सन्त महन्थहरुले ओलीको सत्ता नै हल्लाइदिने चुनौती दिएका छन् । नेपालमा रहेका आफ्ना शिष्यहरुलाई सडक आन्दोलनमा उतार्ने उनीहरुले चेतावनी दिइरहेका छन् । अयोध्यास्थित राम दल ट्रष्टका अध्यक्ष रामदास महाराजले एक महिना भित्र ओलीको सत्ता यात्रा पूरा हुने बताएका छन् ।
नेपालमा रहेका आफ्ना शिष्यहरुमार्फत ओलीको सत्ता धरापमा पार्ने उनले चुनौती दिएका छन् । यसले दुबै देशको सांस्कृतिक सम्बन्धमा समेत आँच आउने अवस्था सिर्जना भएको छ । ओलीको सत्ता जोगाउने नाममा हामीले हिन्दू धर्म संस्कृति र परम्परालाई ध्वस्त पार्न हुँदैन भन्दै नेपालकै कतिपय गुरुहरुले कुरा गर्न थालिसकेका छन् ।
ओलीको यस्तो अभिव्यक्तिले नेपालको कुटनीतिक मर्यादा नै धरापमा परेको कतिपयले बताएका छन् । जथाभावी बोल्ने भएपछि नेपाललाई विदेशीले कसरी हेर्लान् ? एक जना भारतका लागि पूर्व राजदूतले प्रश्न गरे ।
नेपाल भारतबीचको सम्बन्ध रोटी बेटी मात्र होइन धर्म संस्कृति र परम्पराले समेत जोडेको छ भन्दै उनले यस्ता हावादारी गफ हाँकेर उल्टो प्रभाव पर्ने बताए । ओलीले सिर्जना गरेको यो नयाँ विवादलाई नेकपाले कसरी लिन्छ त्यसमा पनि धेरै निर्भर गर्ने उनले बताए ।
तर जे भएपनि ओली विस्तारै सबै मोर्चामा कमजोर भएका छन्, त्यसैले के बोल्ने भन्ने नै थाहा छैन । नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले ट्वीट गर्दै लेखेका छन्- अप्रमाणिक विषयमा टिप्पणी गर्दा विद्वान भइन्छ भन्ने भ्रमबाट मुक्त होऔं ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved